विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा साविक च्याम्पियन फ्रान्सले लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। जारी प्रतियोगितामा अन्तिम खेल अगावै फ्रान्सले अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो। फ्रान्स जारी संस्करणमा दोस्रो चरण प्रवेश गर्ने पहिलो टिम समेत बनेको छ।
फ्रान्स २००६ पछि विश्वकपमा दोस्रो चरणपार गर्ने पहिलो साविक च्याम्पियन देश समेत बनेको छ। २००६ यता भएका तीन विश्वकपमा साविक च्याम्पियनहरु समूहचरणबाटै बाहिरिंदै आएका थिए।
आफ्नो दोस्रो खेलमा फ्रान्सले डेनमार्कलाई २-१ ले पराजित गर्यो। उसको जितमा स्टार स्ट्राइकर केलिएन एम्बाप्पेले दुई गोल गर्दा डेनमार्कले एक गोल फर्काएको थियो। यसअघि प्रतियोगिताको पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई ४-१ ले पराजित गरेको थियो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा फ्रान्सले केलिएन एम्बाप्पेको गोलमार्फत ६१ औ मिनेटमा गोलको डेडलक तोडेको थियो। उनले विश्वकप करिअरको छैटौँ तथा समग्रमा ३० औ अन्तराष्ट्रिय गोल गरेका थिए। एम्बाप्पेले थियो हर्नान्डेजले दिएको उत्कृष्ट ब्याग पासलाई क्लीन फिनिस गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर डेनमार्क ७ मिनेट पछिनै खेलमा फर्कदै बराबरी गोल गर्यो। डेनमार्कका लागि बार्सिलोनाका डिफेन्डर आन्द्रेस क्रिस्टेनसेन्सले टिमलाई बराबरीमा ल्याएका थिए। उनले ६० क्याप जित्दै करिअरको तेस्रो गोल गर्दा डेनिस टिमले विश्वकपमा २ सय ७१ मिनेट लामो गोलविहिन यात्रा अन्त गर्यो।
तर फ्रान्सले खेलमा अग्रता बनाउने क्रममा एम्बाप्पेलेनै दोस्रो गोल सम्भव बनाए। उनले ८६औ मिनेटमा टिमका लागि निर्णायक गोल गरेका थिए। २५ वर्ष पुरा नगर्दै विश्वकपमा ७ गोल गर्ने एम्बाप्पे पेले पछि दोस्रो खेलाडी समेत बने।
यसअघि डेनमार्क फ्रान्सको जित यात्रामा यसै वर्षमात्रै लगातार बाधक बनिरहेको थयो। २०२२ को जुन र सेप्टेम्बर मा भएका नेसन्स लिगका दुबै खेलमा फ्रान्सलाई हराएको डेनमार्कले विश्वकपमा भने फ्रान्सलाई रोक्न सकेन।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































