काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएसँगै नेपाली राजनीतिमा चर्चामा आएको अनुहारमध्ये एक हुन् शिशिर खनाल।
चुनाव अघिसम्म उनी टिच फर नेपाल संस्थाका संथापक रहेर नेपालको शिक्षा क्षेत्र सुधार गर्न लागिपरेका थिए। मंसिर ४ मा प्रतिनिधिसधा तथा प्रदेशसभा निर्वाचन हुने पक्का भयो। देश चुनावी माहोलले तातेको थियो। पूर्वसञ्चारकर्मीसमेत रहेका रवि लामिछाने नेतृत्वमा रास्वपाको भर्खरै उदय भएको थियो। खनालले सोही पार्टीबाट उम्मेदवारी दिए। निर्वाचनको परिणाम आउँदा सफलता उनको हातमा पर्यो।
उनी काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन्। काठमाडौँ ६ मा २०७० र ०७४ मा दोहोरो जित निकालेका कांग्रेसका भीमसेनदास प्रधानलाई तेस्रो स्थानमा पार्दै खनाल निकटतम प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनालसँग ५ हजार २९३ मतान्तरका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याउँदा उनी भने १४ हजार २०४ मत ल्याएर विजयी भए।
मंसिर ४ गते भएको प्रतिनिधिसधा निर्वाचन हुनुअघि आम जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सामान्य रुपमा हेरिरहेको अवस्था थियो। जब निर्वाचन सम्पन्न भएर चुनावको परिणाम सार्वजनिक हुन थाल्यो, रास्वपाबाट घण्टी चुनाव चिन्ह लिएर उठेका उम्मेदवारहरुले एकपछि अर्काे सफलता हासिल गरे। रास्वपाबाट केही प्रतिनिधिहरुले नसोचेको परिणाम पाए। यसमध्ये एक नाम हुन् खनाल।
टिच फर नेपाल संस्थामा रहेर शिक्षा सुधार र समान शिक्षाको अवधारणा लिएर अघि बढिरहेका उनी अब राजनीतिको माध्यमबाट आफुले चाहेजस्तो शिक्षा नीति बनाउने बताउँछन्।
‘पछिल्लो १० वर्षदेखि मैले काम गरिरहेकाे सार्वजनिक शिक्षाको गुणस्तर राम्रो हुनुपर्छ र सबैले गुणस्तरीय शिक्षाको पहुँच पाउनुपर्छ, जुन किसिमको वर्गीय विभेद नेपाली शिक्षामा देखिएको छ, त्यो गलत भइराखेको छ, त्यसले नेपालको दिर्घकालीन अर्थतन्त्र र सामाजिक व्यवस्थामा नै असर गर्छ,’ उनले देशसञ्चारसँग अन्तर्वार्ताका क्रममा भने, ‘नेपालको संविधानले हरेक बालबालिकाले गुणस्तरीय शिक्षाको पहुँच पाउनुपर्छ भनेर उल्लेख गरेको छ। हामीले यस संस्थासँग जोडिएर काम गर्दैगर्दा अझै पनि केही काम गर्न बाँकी छन् जस्तो लाग्छ। मैले मेरो उम्मेदवारी दिँदै गर्दा पनि भनेको छु, शिक्षाजस्तो दुरगामी असर पार्ने मुद्दाहरु नै राष्ट्रिय मुद्दा बन्न सकिरहेको छैनन्, त्यस विषयमा संसदमा आवाज कसैले पनि उठाउँदैन, ऐन बन्दैन भने हाम्रो राजनीतिक नेतृत्वले नेपालको समग्र विकासको चिन्तनमा त्यति गम्भीर नभएकाे प्रस्ट हुन्छ।’
आफू संसदमा गएर सामाजिक शिक्षाको मुद्दालाई जोडबलका साथ उठाउने उनी बताउँछन्।
उनी भन्छन्, ‘शिक्षाको विकासको मुद्दा म संसदमा उठाउँछु र संघीय शिक्षा ऐन जुन हामीलाई एकदमै जरुरी छ त्यो ल्याउन भूमिका खेल्नेछु।’
काठमाडौँ क्षेत्र नं ६ का उनी स्थानीय बासिन्दा हुन्। उनी यहीँ जन्मिएर हुर्किएका हुन्। चुनावको समयमा पनि उनले यसै कारण क्षेत्र नम्बर ६ नै रोजेका हुन्।
‘पछिल्लो समय वैकल्पिक शक्तिका रुपमा उदय भएका पार्टीले नयाँ ढंगले राजनीति गर्नुपर्छ भन्ने सोच राखेर अघि बढैकै कारण हामी पनि संसदमा गएर शिक्षाको मुद्दालाई प्राथमिकतामा राख्ने ध्येय राखेर राजनीतिमा आएका हाैँ । यसभन्दा अघिका राजनीतिक दलहरुले नयाँ ढंगले राजनीति गर्ने व्यक्तिहरुका लागि बाटो नै खुला नगर्दा हामी राजनीतिमा आयाैँ ।’
उनी भन्छन्, ‘आफ्नै क्षेत्रलाई प्रतिनिधित्व पनि गर्ने र आफ्नै क्षेत्रको विकासका लागि काम गर्छु भन्ने लागेर मैले यही क्षेत्रबाट राजनीतिक यात्रा सुरु गरेको हो।’
उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका हुन्। उनको पढाइ राजनीति र नितीनिर्माणसँग जोडिएको भएपनि उनी यसभन्दा अघि कहिल्यै राजनीतिमा आउन चाहेनन्।
‘मैले नेपालको राजनीतिलाई सानैदेखि नै नजिकबाट नियालेको पनि भएर र नेपालभरका विभिन्न निकायसँग जोडिएर काम गर्दै गर्दाखेरी साँच्चै नै हामी जस्तो नयाँ ढंगले राजनीति गर्नेहरुलाई, परम्परागत ढंगले राजनीतिक पार्टीको सदस्य भएर आफूले सोचेजस्तो काम गर्न पाइन्छ कि पाइदैन भन्ने अस्पष्टता अहिले पनि छ,’ उनी भन्छन्, ‘पुराना राजनीतिक पार्टीहरुले नयाँ ढंगले राजनीति गर्न चाहने व्यक्तिहरुलाई स्थान दिन सकिरहेको अवस्था अहिले पनि छैन, त्यसैले गर्दा पनि यो भन्दा अघि राजनीतिमा आएको थिइन।’
शिक्षा सुधार र सामाजिक सुधारमा नेपालमै अब्बल काम गरेका खनाल लोप्रोफाइलमा बस्न रुचाउने व्यक्ति हुन् । पछिल्लो समय वैकल्पिक पार्टीहरुको रुपमा उदय भएका पार्टीले नयाँ ढंगले राजनीति गर्नुपर्छ भन्ने सोच राखेर अघि बढैकै कारण आफूहरुले पनि संसदमा गएर शिक्षाको मुद्दालाई प्राथमिकतामा राख्ने ध्येयका साथ राजनीतिमा आएको उनी बताउँछन्। यसभन्दा अघिका राजनीतिक दलहरुले नयाँ ढंगले राजनीति गर्ने व्यक्तिहरुको लागी बाटो नै खुल्ला नगरेका कारण आफू यसअघि राजनीतिमा नआएको उनी प्रष्ट्याउँछन्।
‘हामीकहाँ मतदाताहरु धेरै सचेत भइसक्नु भएको छ। मैले मेरो काठमाडौँ क्षेत्र नं ६ को कुरा गर्दा र देशैभरिको अवस्था नियाल्दा त्यो देखियो,’ उनी भन्छन्, ‘जुन मत राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभरबाट ल्याएको छ, त्यसले के संकेत गर्छ भने अबको राजनीति, चुनावी अभियानप्रति मान्छेको वितृष्णा बढ्दै गएको छ र नयाँ ढंगले नेपालको राजनीतिमा जानुपर्छ भन्ने कुरामा एकदमै ठूलो सचेतना वृद्धि भएको छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचितमध्ये पार्टी सभापति रवि लामिछानेपछिको प्रभावशाली व्यक्तिको रुपमा समेत खनाल चिनिने गर्छन्।
पछिल्लो समय राजनीतिमा युवा शक्ति आउनुपर्छ, समाजमा केही गर्न सक्ने व्यक्ति प्रतिनिधि रोज्नुपर्छ भन्ने कुरामा आम जनता सचेत हुँदै गएको उनी बताउँछन्।
‘हामीकहाँ मतदाताहरु धेरै नै सचेत भइसक्नु भएको छ। मैले मेरो काठमाडौँ क्षेत्र नं ६ को कुरा गर्दा र देशैभरिको अवस्था नियाल्दा त्यो देखियो,’ उनी भन्छन्, ‘जुन मत राष्ट्रिय स्वतन्त्र पार्टीले देशैभरबाट ल्याएको छ त्यसले के संकेत गर्छ भने अबको राजनीति, चुनावी अभियानप्रति मान्छेको वितृष्णा बढ्दै गएको छ र नयाँ ढंगले नेपालको राजनीतिमा जानुपर्छ भन्ने कुरामा एकदमै ठूलो सचेतना वृद्धि भएको छ।’
उनले विगत १५ बर्षदेखि स्थानीय तहसँग र देशैभरका अन्य विभिन्न निकायहरुसँग जोडिएर काम गरिरहेकाले पनि हाल राजनीतिमा आएर निर्वाचित भइसक्दासमेत खासै नयाँ काम केही भएजस्तो नलागेको उनी बताउँछन्।
‘१५ वर्षदेखि समाज सुधारका लागि भनौँ या अन्य सामाजिक कार्यहरुका लागि विभिन्न निकायसँग जोडिएर काम गरिरहेको नै थिएँ, त्यसैले पनि हाल निर्वाचित भएर यहाँसम्म आइपुग्दा खासै नयाँ कुरा केही भएजस्तो लाग्दैन,’ उनी भन्छन्, ‘समुदायसँग जोडिएर काम गरिरहँदा र चुनावी एजेण्डा पछ्याइरहँदा कुनै ठूलै काम गरेजस्तो या भनौ केही फरक नै भएजस्तो अनुभव नै भएको छैन।’
विगतमा गरेको कामले गर्दा पनि अबको राजनीतिक कार्यकालमा सहज हुने उनी बताउँछन्। ‘निर्वाचित भइसकेपछि २-३ वटा काम गर्नुपर्ने हुन्छ, एउटा चाहिँ आफू निर्वाचित भएको क्षेत्रमा र देशैभर भएका समस्याको समधान के हुनसक्छ भन्ने कुरालाई ध्यानमा राखेर काम गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘आम जनताले मैले विगतमा गरेको कामलाई हेरेर, मेरो पृष्ठभूभिलाई नियालेर, यतिको व्यक्तिले हाम्रो क्षेत्रमा केही परिवर्तन ल्याउन सक्छ भन्ने भएर नै जिताउनुभएको छ। उहाँहरुको आशालाई कहिल्यै निराशा बनाउँदिन।’
‘पानी जहाजका कुरा हुन् कि रेलका कुरा हुन्, त्यो चाँहि एकदमै ठूलाठूला सपना बाँड्ने काम भए तर हाम्रो सरकारी विद्यालय पढ्ने विद्यार्थीहरुले किन राम्रो शिक्षा पाइरहेका छैनन्? किन हजारौँ युवाहरु देश छोडेर विदेशमा काम गर्न जान बाध्य छन्? किन हामी रोजगारी सिर्जना गर्न सक्दैनौँ भन्ने कुराहरु कसैले सोचेनन्। त्यसैले अबको राजनीतिको एकदमै ठूलो फोकस त्यहाँ हुन आवश्यक छ।’
भोट माग्न आम जनताका घरदैलोमा पुग्दा विगतका प्रतिनिधिहरुले स्थानीयको समस्या के छ भनेर चुनावपछि कहिल्यै बुझ्ने प्रयास नगरेको गुनासो पोखेको उनी बताउँछन्।
‘विगतका प्रतिनिधिहरुले हाम्रो समस्या कहिल्यै पनि बुझ्नु भएन, उहाँहरुसँग हाम्रो पहुँच नै भएन भन्नेखाले गुनासो हामीले घरघरमा पुगेर भोट माग्दै गर्दा पायौँ,’ उनी भन्छन्, ‘आम जनताले राष्ट्रिय मुद्दाहरु जस्तो कि भष्टाचार, शिक्षा, स्वास्थ्य जस्ता विषयहरुमा निरन्तर आवाज उठाइदिनुस् भन्ने जस्ता कुराहरुमा जोड दिनुभएको छ।’
अबको ५० बर्षपछिको अर्थतन्त्र कस्तो हुनुपर्छ भन्ने कुरामा अहिलेबाटै सचेत भएर अबको राजनीतिमा अघि बढ्न जरुरी रहेको उनी बताउँछन्।
‘अबको ५० बर्षपछिको अर्थतन्त्र कस्तो हुने ? शिक्षा, स्वास्थ्य कस्तो हुनुपर्छ? हामी कसरी युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउन सकिन्छ? उद्योगहरु किन धमाधम बन्द भइरहेका छन्? जस्ता कुराहरु अबको राजनीतिले विशेष प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘पानी जहाजका कुरा हुन् कि रेलका कुरा हुन्, त्यो चाहिँ एकदमै ठूलाठूला सपना बाँड्ने काम भए तर हाम्रो सरकारी विद्यालय पढ्ने विद्यार्थीहरुले किन राम्रो शिक्षा पाइरहेका छैनन्? किन हजारौँ युवाहरु देश छोडेर विदेशमा काम गर्न जान बाध्य छन्? किन हामी रोजगारी सिर्जना गर्न सक्दैनौँ भन्ने कुराहरु कसैले सोचेनन्। त्यसैले अबको राजनीतिको एकदमै ठूलो फोकस त्यहाँ हुन आवश्यक छ।’
बर्षौँदेखि नेपालमा राजनीति गर्दै आएका दलहरुको धार ठिक भएन भन्ने सन्देश दिनका लागि पनि रास्वपा जस्तो पार्टीको र युवा नेतृत्वको उदय भएको उनी बताउँछन्। जनगुनासोसँग सम्बन्धित कुराहरुमा आमजनताहरुसँग नजिक भएर काम गर्न आफूहरु सक्षम भएको भनाइ छ।
रास्वपा एक्लै अघि बढ्न सक्दैन, छिट्टै अन्य दलहरुसँग सामेल हुन्छ भन्ने हल्ला छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले नै सबैतिरको परिणाम पूर्ण रुपमा आइसकेको छैन, हामी त्यसपछि मात्रै सल्लाह गरेर अघि बढ्छौँ। अहिले हामी ‘वेट एण्ड वाच’ को अवस्थामा छौँ।’