कतार विश्वकप फुटबलमा इंग्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। अन्तिम १६ को खेलमा सेनेगललाई ३-० ले पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र फ्रान्स प्रतिस्पर्धा गर्ने छन्।
अल बायत रंगशालामा आइतबार भएको खेलमा इंग्ल्यान्डले सहज रुपमा जित हासिल गरेको थियो। पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो। इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे।
खेलको ३८ औं मिनेटमा इंग्ल्यान्डले हेन्डरसनको गोलबाट खेलमा अग्रता लियो। जुड बेलिंघमको क्रसलाई हेन्डरसनले सदुपयोग गरेका थिए।
पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डले अग्रता दोब्बर बनायो।कप्तान केनले प्रतियोगिताको पहिलो गोल गर्ने क्रममा काउन्टर अट्याकमा फोडेनले दिएको बल पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहार गर्दै टिमको अग्रता दोब्बर बनाए।
दोस्रो हाफमा इंग्ल्यान्डले थप एक गोल गरेको थियो। ५७ औ मिनेटमा फोडेनको पासमा बुकायो साकाले गोल गरे। पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेर अघि बढेका उनले फोडेनको पासलाई पहिलो टचमै गोलमा परिणत गरे।
इंग्ल्यान्डले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्सले पोल्यान्डलाई ३-१ ले पराजित गर्दे नकआउटमा स्थान बनाएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































