
काठमाडाैँ – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा आगामी २२ देखि २५ मंसिरसम्म विश्व टेबल टेनिसको लागि दक्षिण एसियाली छनोट हुँदैछ।
उक्त प्रितयोगिताका लागि ‘अनर’ले प्रायोजन गर्ने भएको छ। अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा ‘अनर’का लागि सेल्ट्रान नेपाल प्रालिका सीईओ राहुल राठीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार ‘अनर’ले पाँच लाख रुपाैयाँ प्रदान गर्ने छ। यो प्रतियोगिता नेपालमा हुन लागेको सर्वाधिक ठुलो टेबल टेनिस इभेन्टसमेत हो। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ देशको सहभागिता रहनेछ।
यसमा छनोट हुने खेलाडीले विश्व च्याम्पियनसिप खेल्ने छन्। प्रतियोगितामा विश्व वरीयताको उच्च स्थानमा रहेका खेलाडीले सहभागिता जनाउने छन्। प्रायोजक सम्झौताका क्रममा प्रथम उपाध्यक्ष वज्राचार्यले ‘अनर’को यस कीर्तिमान प्रायोजक अनुबन्धले नेपालमा टेबल टेनिस विकासमा अझ सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए।
उनले आगामि दिनमा पनि थप ठुलो सहकार्य हुँदै जाने विश्वास ब्यक्त गरेका थिए।