
काठमाडौँ- धुम्बाराहीका २९ वर्षीय सुधन संग्रौलासँग नुवाकोट घर भई काठमाडौंको बुद्धनगर बस्ने २७ वर्षीया पुष्पा न्यौपानेको गत भदौ १८ मा इन्गेजमेण्ट भयो । सोही दिन पुष्पाको जन्मदिनसमेत थियो । जन्मदिनको अवसर पारेर उनीहरुको इन्गेजमेण्ट भएको थियो ।
इन्गेजमेण्ट भएसके पनि विवाह कहिले गर्ने भन्नेबारे मिति तय भइसकेको थिएन । यसैक्रममा पुष्पाले आइतबार साँझ धुम्बाराहीस्थित पीपलबोट नजिक युवकको घरमै पुगेर पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्। आगोले जलेर गम्भीर घाइते भएकी न्यौपानलेलाई उपचारका लागि तत्कालै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइयो ।
जलेर घाइते भएकी उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरियो । उपचारकै क्रममा उनको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताएका छन्।
मृतकका आफन्तले प्रहरीमा दिएको जाहेरीमा पुष्पाको विवाहको छिनोफानो भइसकेपछि केटा पक्षले एकाएक विवाह नगर्ने भन्दै जानकारी गराएको तथा उनलाई मानसिक यातना दिएको उल्लेख छ। मृतकका आफन्तले पेट्रोल छर्केर आगो लगाउँनलाग्दा समेत केटा पक्षले पुष्पालाई बचाउन कोसिस नगरेको आरोप उनीहरुले लगाएका छन्।
इन्गेजमेण्टपछि सुधनले पुष्पालाई पटकपटक मानसिक यातना दिँदै आएको परिवारिक स्रोतले बताएको छ। सोही पीडा नसकेर उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएको मृतकका आफन्तको आरोप छ ।
गत शनिबार मात्रै विवाह नगर्ने गरी इन्गेजमेन्ट तोडिएको सुदनका परिवारले जानकारी दिएको थियो।
कसरी भयो चिनजान ?
२०७८ माघमा पुष्पाले दरबारमार्गमा सञ्चालन गरेको केलमी ब्राण्डको शोरुममा उनीहरुको चिनजान भएको थियो । सुधन ग्राहकका रूपमा नै पहिलोपटक उक्त शोरूम गएका थिए। त्यसपछि सुधनको उक्त शोरुममा आउजाउ बाक्लिदै गयो। बिस्तारै उनीहरुबीच फोन नम्बर साटासाट भयो । उनी सामाजिक सञ्जालमा जोडिए। त्यसपछि सुरु भयो उनीहरुको प्रेम ।
निकटता प्रेममा परिणत भइसकेपछि उनीहरु आफैँले आ-आफ्नो घरमा विवाहको लागि प्रस्ताव राखे। उनीहरू एकअर्काको घरमा पहिलेबाटै जानेआउने समेत गर्थे, त्यसैले दुवै परिवार विवाहको लागि सहमत भए। दुबै परिवार सहमत भएपछि पुष्पाको घरमा इन्गेजमेण्ट भई १ वर्षभित्र दिन किटान गरी विवाह गर्ने निश्चय भएको थियो । तर, केटा पक्षले शनिबार पुष्पाको बुद्धनगरस्थित घरमा पुगेर विवाह गर्न सक्दैनौ भने। त्यति मात्रै होइन, विवाह क्यान्सिल गरौं भन्दै जनैसुपारी तथा इन्गेजमेण्ट कार्यक्रममा दिएलिएको दक्षिणा एवम् गरगहनासमेत फिर्ता गरे ।
जाहेरीकर्ताका अनुसार शनिबार राति सुधनका बुवाले पुष्पालाई फोन गरेका थिए । घटनाको दिन पनि पीडकहरूले पुष्पालाई घरमा बोलाई थप मानसिक यातना दिएपछि उनीहरूकै घरको गेटमा पेट्रोल शरीरमा खन्याई आत्महत्या गर्न लाग्दासमेत बचाउन कुनै प्रयास नगरेको आरोप जोहरीमा उल्लेख छ ।
चिनजानपछि बुहारी बनाउने भनेर भित्राएकी पुष्पालाई घटनापछि चिन्दिन भन्नु, सीसीटीभी लुकाउनु जस्ता गतिविधिले घटना झनै शंकास्पद रहेको परिवारका सदस्यको दाबी छ।
यता परिवारले उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ ।
परिवारले २९ वर्षका मधु संग्रौलासहित उनको परिवारका सुधन संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पुष्पाको हत्या आशंकामा प्रहरी वृत्त महाराजगञ्जले सुधनलाई पक्राउ गरी अदालतमा अनुसन्धानका लागि म्याद थप गरिसकेको छ ।
‘सुरुमा हामीले सुदनका दाजु, बाबुआमालाई पनि नियन्त्रणमा लिएका थियौँ तर सोधपुछपछि उनीहरूलाई छोडेका छौँ,’ उनी भन्छन्, ‘सुधनलाई भने अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रकृया अघि बढाइसकेका छौँ।’
पुष्पाको सोमबार नै दाहसंस्कार गरिएको छ । पक्राउ परेका सुधनविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।