कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग अन्तर्वार्ता

‘म प्रधानमन्त्री बन्छु भनेर बोल्दै हिँड्नुको तुक छैन’

‘म प्रधानमन्त्री बन्छु भनेर बोल्दै हिँड्नुको तुक छैन’
+
-

काठमाडौँ– मंसिर ४ को आम निर्वाचन सकिएसँगै दलहरु सरकार निर्माणको छलफलमा छन्।

कुनै दललाई पनि बहुमत प्राप्त नभएको कारण तालमेल गर्नुपर्ने छ। कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन फेरि सरकार बनाउने कसरतमा छ। स्थानीय निर्वाचन र आम निर्वाचनमा सँगै चुनावमा होमिएको गठबन्धनले सरकार बनाउने जनाएको छ।

यद्यपि सरकार निर्माणका अन्य विकल्प र पाटोहरुबारे पनि प्रयास भएका बुझिएका छन्। कांग्रेस र गठबन्धनमा आवद्ध दलहरुले सोचेजति सिट जित्न नसक्दा तथा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतलाई पनि निर्णायक शक्ति हुने गरी चुनेर पठाइदिँदा सरकार निर्माणका विकल्पहरु धेरै बनेका हुन्।

सरकार गठनको बिषयले माहोल तात्तिँदै गर्दा कांग्रेसमा संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका आकांक्षी बढेका छन्। संस्थापन समूहले स्वाभाविक रुपमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा फेरि प्रधानमन्त्रीमा दोहोरिने दाबी गरेको छ भने संस्थापन इतर समूह र अन्य आकांक्षीले पनि तयारी छालेका छन्।

सत्ता र शक्तिको लागि पार्टीका नेताबीचको दौडधूप,राष्ट्रिय राजनीतिमा देखिएको असर लगायत समसामयिक विषयमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग देश सञ्चारको लागि ईश्वरी बरालले गरेको कुराकानी।

आम निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार सिट ल्याउन सकेन नि?किन?
पछिल्लो समय सूचना क्रान्तिका कारण अधिकांश जनताले हातहातबाट विश्व नियाालिरहेका छन्। प्रभावस्वरुप युवा पुस्ताले तुरुन्तै नतिजा खोज्न थालेको छ। विश्वका अन्य मुलुकमा विकास भयो, नेपालमा हुन सकेन भन्ने सोचेर युवा र स्वतन्त्रलाई जनताले रोजेको हुन सक्छ। यहाँको पृष्ठभूमि, इतिहास नयाँ पुस्तालाई थाहा नहुन पनि सक्छ। जबर्जस्त नियोजित तरिकाले पुराना नेतालाई गाली गरेका छन्। हामीसँगको असन्तोष पोखेका छन्, चित्त नबुझेको सन्देश दिएका छन्।

चुनावमा गठबन्धनसहित जाँदा कांग्रेसलाई फाइदा भयो कि घाटा?
यसको समीक्षा र मूल्याङ्कन गर्ने बेला भएको छैन।

तर माओवादी र एकीकृत समाजवादीले कांग्रेसले चुनावमा भोट नदिएर धोका दियो भनेका भनेका छन्, केही शीर्ष नेता तुच्छ आलोचना र दोषारोपणमा समेत उत्रिए नि?
व्यक्तिगत रुपमा कसलाई फाइदा भयो कसलाई घाटा भयो भनेर टिप्पणी गर्ने प्रचलन छ, तर समग्रमा हेर्दा सन्तोषजनक छ। तर समग्रमा गठबन्धनमा आबद्ध दलहरुलाई भोट गएको छ। कतिपय उपयुक्त नलागेका उम्मेदारहरुलाई गएन होला, त्यो बेग्लै कुरा भयो।

प्रत्यक्षमा कांग्रेसले धेरै सिट जितेर पहिलो दल बने पनि समानुपातिमा दोस्रो बनेको छ। जनतामाझ अलोकप्रिय बन्नुका कारणका समीक्षा कहिले गर्नुहुन्छ?

सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार थिएनन्। हाम्रा उम्मेदवार नभएको ठाउँमा समानुपातिकमा अत्यन्तै कम भोट खसेको हो भन्ने हाम्रो बुझाइ छ। त्यसको असर हामीलाई परेको हो।

आम निर्वाचनको नतिजाले जनताको रोजाइमा स्वतन्त्र तथा युवा पर्न थालेको देखिएको छ, कांग्रेसमा नेतृत्व पुस्तान्तरणका लागि ढिला भएन?
हाम्रो पार्टीमा सबै उमेर समूहका नेताहरु निर्वाचित भएर आउनुभएको छ। राजनीति र नेतृत्वमा उमेर भन्दा पनि आवश्यकता महत्वपूर्ण कुरा हो। जो जनतासँग जोडिएको छ, लोकप्रिय छ र पार्टीको प्रतिनिधित्व गर्छ उहाँहरुले जितेर आउनुभएको छ।

संसदीय दलको नेताको लागि महामन्त्री गगन थापाको बलियो दाबेदारी छ, सभापति देउवाले आफू संसदीय दलको नेता बन्ने, प्रधानमन्त्री दोहोरिने भन्नुभएको छ, अन्यको पनि आकांक्षा छ, सहमतिमै चुन्नुहुन्छ कि चुनाव हुने स्थिति आउँछ?
कांग्रेस लोकतान्त्रिक पार्टी हो। त्यसमा संसदीय दलको नेताको लागि पनि निर्वाचन हुन्छ। सर्वसम्मत रुपमा हुन नसके प्रतिस्पर्धाबाट संसदीय दलको नेता चयन गरिन्छ। संसदीय निर्वाचन भनेको आम निर्वाचन होइन, महिनौदेखि भनिरहनुपर्दैन। कसैलाई निषेध गरेको छैन। जनताबाट निर्वाचित भएर आएका पार्टी प्रतिनिधिहरुले जसलाई चुन्छन्, उही व्यक्ति संसदीय दलको नेता बन्छ।

कांग्रेस नेतृत्वको सरकार गठन भयो भने प्रधानमन्त्री को बन्छ?
म प्रधानमन्त्री बन्छु भनेर कुनै नेताले पनि भन्दै हिँड्नुको तुक छैन। पहिलो कुरा पार्टीको नेतृत्वमा आउनुपर्‍यो अर्थात संसदीय दलको नेता चुनिनुपर्‍यो र दोस्रो बिषय भनेको सरकारमा सामेल हुने दलहरुबाट विश्वास आर्जन गर्नुपर्‍यो, सबैलाई मिलाएर लैजान सक्नुपर्‍यो, मुखले म प्रधानमन्त्री बन्छु भनेर दाबी गरेजस्तो सजिलो पनि छैन। यी सबै मिलाएर लैजाने भनेको स्वभाविक रुपमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ।

संस्थापन पक्षले दोस्रो पुस्ताका नेताहरुको माग र आवाज सुन्नुपर्दैन? पार्टी महामन्त्री गगन थापा प्रधानमन्त्री बन्ने तयारी गर्दै हुनुहुन्छ । संस्थापन पक्ष थापालाई रोक्न खोज्दैछ। यस्तै पार्टीमा अन्य नेताले पनि प्रधानमन्त्रीको चाहना राखेका छन्।
निषेध कसैलाई छैन, जसले विश्वास आर्जन गर्छ उसैले नेतृत्व गर्छ।

स‌ंस्थापन पक्षले संस्थापन इतर समूहलाई भन्दा सत्ता गठबन्धनमा आवद्ध अन्य दललाई धेरै प्राथमिकतामा राखेर सरकार गठनका विकल्पबारे छलफल गरिरहेको हो?
सत्ता गठबन्धनदेखि चुनावमा टिकट वितरण पार्टीमा सर्बसम्मत रुपमा भएको छ। पार्टीको नेतृत्व पार्टीकै सांसदले गर्ने भएकाले आफ्नै दललाई प्राथमिकतामा राख्नुपर्छ। हामीले कसैलाई पनि उम्मेदवारको प्रत्यासी बन्न पाउँदैनौँ भनेर निषेध गरेको छैन। कांग्रेसमा सबैले आफूलाई परीक्षणमा राख्न पाउछन्।

कांग्रेसको नेतृत्वमा सरकार बन्दा राष्ट्रपति र प्रधानमन्त्री कसकसलाई बनाउने सहमति भएको छ? तपाईँ समानुपातिकबाट सांसद बन्नुभयो भने कुन मन्त्रालयमा दाबी गर्नुहुन्छ?
यस बिषयमा छलफल मात्रै सुरु भएको छ, निर्णय भइसकेको छैन। पार्टी सभापति एवम् वर्तमान प्रधानमन्त्री देउवा नै स्वभाविक रुपमा प्रधानमन्त्रीको दाबेदार हुनुहुन्छ। कांग्रेसका सांसद संख्या, नेतृत्वदायी भूमिका लगायत विभिन्न कोणबाट देउवा स्वभाविक रुपमा प्रधानमन्त्री बन्नुहुनेछ। कांग्रेस नेतृत्वमा सरकार बन्दा राष्ट्रपति कुन दलबाट को बन्नुहुन्छ त्यो निश्चित भइसकेको छैन। म अपरिपक्व हिसावले अहिले नै कुनै मन्त्रालयमा दाबी गर्दिन। कांग्रेसभित्र धेरै क्षमतावान व्यक्तिहरु छौँ। हामी मर्यादामा बसेर बोल्छौँ। कसले कुन पद लिने भनेर छिनाझपटी गर्नुभन्दा पनि देश र जनताको हितमा काम गर्नुपर्छ। राष्ट्रपतिबारे पनि प्रारम्भिक कुराकानी भएको छ, टुंगो लाग्न समय लाग्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?