
आफ्नो जीवनको ऊर्जावान् समयका उम्दा खेलाडी अनि फुटबलबाट बाहिरिएपछि ‘गुम्नाम’! वर्तमान पुस्ताले विरलै मात्र उनलाई सुने या चिने तर पुरानो पुस्ताले उनका बारेमा अनेकन स्टोरीहरू लेखे।
राष्ट्रिय टिममा सीमित खेल खेले पनि रमेश ज्ञवालीको वास्तविक परिचय भने आरसिटीसँग जोडिन्छ। ‘ए’ डिभिजन लिगमा नेपाल पुलिसको दबदबा भएको समयमा उसलाई चुनौती कसैले दिन्थ्यो भने त्यसमा आरसिटीको नाम सबैभन्दा माथि आउँथ्यो। यही पुस्ताका उम्दा खेलाडी थिए ज्ञवाली।
क्लब जीवनमा उनले ०५२ देखि ०६२ सम्मको समय आरसिटीलाई दिए। अनि उनले आरसिटीबाटै सन्न्यास यास लिए। जति समय उनी आरसिटीमा रहे, सधैँ प्लेइङ ११ मा खेले। सायद विरलै मात्र उनलाई प्रशिक्षकहरूले ‘रिप्लेस’ गरे।
ज्ञवाली भन्छन्, ‘मैले ठ्याकै कति खेल खेले भन्न त सक्दिनँ तर १० वर्ष मैले पूरै समय मैदानमा बिताएँ।’ उनी आफ्नो समयको फुटबललाई नेपाली फुटबलको एउटा स्वर्णिम समय मान्छन्, ‘हुन त सबैलाई आफ्नो समय स्वर्णिम लाग्छ। तर अहिले हुने लिग र खेललाई आधार मान्दा त्यो बेलाको लिगको चर्चा र चामका हिसाबले पनि तत्कालिन समय स्वर्णिम थियो।’
जब उनले फुटबल छाडे, धेरैले उनलाई बिर्सिए। खेल जीवनबाट हराएका रमेशले फुटबल प्रेमलाई चाहिँ छोडेनन्। उनले इंग्ल्यान्डको युनिभर्सिटी अफ बाथबाट लेभल १ लेभर २ र लेभल ३ कोर्स पूरा गरे। सन् २००७ देखि २०११ सम्म इंग्ल्यान्डमा रहेर उनले कोर्स पूरा गरेपछि स्वदेश फर्किए। ज्ञवाली भन्छन्, ‘आफूले जाउलो खाने माध्यम त गर्नैपर्यो। त्यसपछि ब्रिटिस स्कूलमा ‘फिजिकल एजुकेशन’ टिचरका रूपमा जागिर सुरु गरेँ।’
उनले नेपालबाट एएफसी बी र पाकिस्तानबाट सी लाइसेन्स कोर्स पुरा गरे। तर सिकाइको अवसर प्रयोग गर्न कुनै ‘प्लेटफर्म’ खोजेनन्। अनि उनलाई पनि कसैले खोजेन्। तर, आफ्नो फुटबल सिकाईको ‘प्यासन’ को यात्रामा एक्लो दौड भने जारी राखे।

रमेश ज्ञवाली, पूर्व खेलाडी।
सिकाइको यो यात्रामा उनी अबको केही दिनमा रियल म्याड्रिडको युनिभर्सिटीमा ‘इन्टरनेशनल मास्टर्स इन फुटबल कोचिङ एण्ड म्यानेजमेन्ट’ को एक वर्षे कोर्सका लागि प्रस्थान गर्दै छन्। उनी यो अवसर प्राप्त गर्ने पहिलो नेपाली हुन्।
ज्ञवाली भन्छन्, ‘यो एक राम्रो सिकाइको अवसरका रुपमा लिएको छु। ट्यूसन फी मात्र १४ हजार २ सय युरो रहेको छ। त्यो बाहेक सबै खर्च जोड्दा त २५, ३० हजार युरो पुग्छ।’
उनले यो सिकाइका लागि पैसामात्र तिरेका छैनन्। अहिले नेपालमा बसेर राम्रै कमाइ गर्दै आएको आफ्नो जागिर समेत तत्काललाई रोकेका छन्। उनले ब्रिटिस स्कूलबाट राजिनामा दिएर रियल म्याड्रिड जाँदै गर्दा ठूलो सपना भने मनमा नरहेको मान्छन्, ‘मैले त्यति ठूलो सपना केही बनाएको छैन्। कम्तीमा गएपछि यो कोर्सलाई पूरा गर्नका लागि लाग्ने छु। यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकेँ भने मेरो ठूलो उपलब्धि हुनेछ।’
आरसिटीका मेरुदण्ड
आफ्नो फुटबल करिअर फ्रेन्ड्सबाट अघि बढाएका ज्ञवालीले त्यहाँ भने लामो समय खेलेनन्। ०५२/०५३ सम्म फ्रेन्ड्सबाट सीमित अवसरमा खेलेका ज्ञवालीले त्यसपछि रानीपोखरी कर्नर टिम (आरसीटी) बाट लाइफटाइम खेले। अर्थात् उनले आरसिटीका लागि आफ्नो सम्पूर्ण खेलजीवन नै क्लबका लागि समर्पित गरे।
तत्कालीन समयमा रमेश मात्र एक्ला र उम्दा खेलाडी थिएनन्। त्यो समयमा चर्चित स्टार खेलाडीहरूसँग उनले आफ्नो करिअर बिताएका थिए। त्यो बेला बसन्त थापा, बसन्त गौचन, मधु कार्की, बालगोपाल महर्जन, रमेश लामा, नारायण मान्नधर लगायतका खेलाडीहरू थिए।
सिकेको अवसर प्रयोग गर्ने इच्छा
ज्ञवाली उमेरले ५० वर्ष पूरा भइसकेका छन्। उनीसँग फुटबल अनुभव मात्र रहेन। योबीचमा उनले नेपालको चर्चित र मँहगो स्कूलमा लामो समय अध्यापनको अवसरसमेत पाए। ‘मैले यो स्कूलमा पढाउँदै गर्दा नेपालीहरुको क्लास देखेको छु। त्योभन्दा महत्वपूर्ण मेरो अनुभव बाँड्न पाएको छु।’
यद्यपि उनी अब आफ्नो दायरा फराकिलो बनाउने सोचमा छन्। भन्छन्, ‘अहिले नै सबै कुरा बाहिर ल्याउन मन छैन्, पढेर कोर्स पुरा गरेपछि स्वभाविक रूपमा त्यसको प्रयोग गर्ने राम्रो प्लेटफर्मको अपेक्षा त भइहाल्छ।’
त्यसो त ज्ञवालीलाई पछिल्लो समयको फुटबल राजनीतिबारे त्यति धेरै जानकारी छैन। उनी भन्छन्,’हामी जस्तो खेलाडीहरूले राजनिति बुझ्दैनौँ। त्यही भएरपनि एन्फामा हामी जस्तो मान्छेका लागि अवसर कम हुन्छ।’ उनको बुझाइ र वास्तविकता एकै देखिए पनि अब नेपाली फुटबल विकासका लागि फरक तरिकाले अघि नबढे आगामी दिन झनै कठिन देख्छन्।
ज्ञवाली भन्छन्, ‘हामीले वर्षौँदेखि एउटै टेक्निक प्रयोग गर्दै आयौँ जसले हामिलाई उहि नतिजा दिइरहेको छ। त्यसैले नतिजा फरक पार्न फरक तरिकाले सोच्ने, सिक्ने र सिकाउने काम गर्नु पर्छ।’