
पोखरा – पोखरा विमानस्थलमा आपतकालिन उद्धार अभ्यास गरिएको छ। जसलाई ‘अलर्ट वान’ अभ्यास भनिन्छ। विमानस्थल परिसरबाट ४ किलोमिटर परसम्म हुने हवाई दुर्घटना ‘अलर्ट वान’मा पर्छ।
क्यालिब्रेसन फ्लाइट सकेर नियमित उडानको तयारीमा रहेको पोखरा विमानस्थलमा शुक्रबार दिउँसो आपतकालिन उद्धार अभ्यास गरिएको हो। जनवरी १ देखि विमानस्थलबाट नियमित उडान भर्ने तयारी छ।
विमानस्थल सञ्चालनमा आइसकेपछि हुन सक्ने सम्भावित आकस्मिक परिस्थितीको सामना गर्नलाई आपतकालिन उद्धार अभ्यास गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए।
‘आकस्मिक परिस्थिति आएमा हामीले कसरी छरितो नियमसंगत ढंगबाट ह्यान्डल गरेर न्यूनतम जनधनको क्षति हुने र विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ भनेर सांकेतिक अभ्यास गरेका हौँ’, जोशीले भने।
विमानस्थलले आकस्मिक योजना तयार पारेको उनले जानकारी दिए। १२० दिनदेखि योजनाको तयारी गरेको उनको भनाइ छ। विमानस्थलमा १३ प्रकारको आकस्मिक अवस्था आउन सक्ने औंल्याइएको छ।
अर्लट वानमा काल्पनिक स्थान अनामपुरबाट एबिसी एयरलाइन्सको लुम १२३ ले उडान भर्छ। जहाज करिब २५ माइल उडेपछि दायाँ इञ्जिनमा समस्या देखियो। पोखरा विमानस्थलबाट १० माइलनजिक आउने बेला दुवै इञ्जिन फेल हुन्छ। पोखरा विमानस्थलको कन्ट्रोल टावरले उक्त विमानलाई प्राथमिकता दिन्छ। जहाज अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर जहाज दुर्घटनाग्रस्त हुन्छ। जसमा १८० जना यात्रु सवार थिए।
जहाज दुर्घटनामा परेपछि सुरुमा वारुणयन्त्रको साहयताबाट आगो निभाइयो। घाइतेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले उद्धार थाले। घाइतेहरुको एम्बुलेन्स र होलिकोप्टरमार्फत उद्धार गर्दै अस्पतालसम्म पुर्याइयो।