
विश्वकप फुटबलको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना विरुद्ध नेदरल्यान्डले सानदार पुनरागमन गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएको छ। अर्जेन्टिनाले खेलमा लिएको २-० को अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो। विश्वकप फुटबलमा यो लगातार दोस्रो क्वाटरफाइनल खेल अतिरिक्त समयमा धकेलिएको हो।
प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ३५ औ मिनेटमा अग्रता बनाएको थियो। लियोनेल मेसीले दिएको उत्कृष्ट पासलाई नाहुएल मोलिनले सानदार फिनिस गर्दै डच टिम विरुद्ध सुरुवाती अग्रता दिलाउन सफल भए। दोस्रो हाफमा लियोनेल मेसीको पेनाल्टी गोलमार्फत अर्जेन्टिनाले अग्रता दोब्बर बनायो।७३ औ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर बनाएको अर्जेन्टिना त्यसपछि खेल जोगाउन नसक्दा नेदरल्यान्डले खेलमा फर्किएको थियो।
नेदरल्यान्डका लागि वउट वेघोष्टरले दुबै गोल गरेका थिए। उनले ८३ औ मिनेटमा पहिलो गोल गर्दा १० मिनेट थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा पाएको फ्रिकीक बललाई जालि चुमाउँदै बराबरी गोल गरेका थिए। नेदरल्यान्डको बराबरीसँगै खेल अतिरिक्त समयमा धकेलिएको छ।