
पोखरा – पोखरा महानगरपालिका- १८ सराङकोट पँधेलीकी धनसरी घर्ती शुक्रबार बिहानै मणिपाल अस्पताल पुगिन्। छोरी पूर्णकुमारीको केही दिनेदेखि अस्पतालमा उपचार भइरहेको थियो।
भलाम घर भएकी जेठी छोरी पूर्णकुमारीलाई मुटुको समस्या छ। रोगले च्यापेपछि अस्पतालको आइसियू कक्षामा उपचार गराइरहेकी छोरीलाई भेट्न आएकी धनसरीले भेटिन् पनि।
थप उपचारका लागि हिजै पूर्णकुमारीलाई काठमाडौँ लगिँदै थियो। घरमा एक्ली धनसरी काठमाडौँ जान पाइएला नपाइएला भनेर दौडेर मणिपाल पुगिन्। मणिपालको तेस्रो तलामा उपचाररत पूर्णकुमारीलाई बिहान ११ बजेतिर काठमाडौँ लैजान तल झारियो। आफन्त सबै पूर्णकुमारीलाई लिएर झरे।
छोरीलाई तल झार्नु अगाडिसम्म उनी आइसियू कक्षको बाहिर बेन्चमा बसिरहेकी थिइन्। बिरामीलाई काठमाडौँ पुर्याउनुपर्ने भएकाले आफन्त सबै हतारोमा थिए। धनसरी बसिरहेको ठानेर सबै तल झरे।
पूर्णकुमारीलाई काठमाडौँ पठाएपछि आफन्तले धनसरीलाई तल देखेनन्। माथि उक्लिएर खोज्दासमेत कतै भेटेनन्। केहीबेरको खोजतलासीपछि उनी मणिपाल अस्पतालमा पाइप फिट गर्नलाई खाली राखिएको ठाउँमा देखा परिन्। तेस्रो तलामा रहेकी उनी बोकिरहेको झोलासहित रगताम्य अवस्थामा पहिलो तलामा थिइन्। तीन तला मााथिबाट खसेकी उनलाई मणिपालको आकस्मिक कक्षमा लगेर चिकित्सकले चेकजाँच गरे। बिरामी छोरीलाई भेट्न आएकी उनले तेस्रो तलाबाट खसेर आफन्तले देख्नु अगावै अन्तिम श्वास फेरिसकेकी थिइन्। चिकित्सकले उनलाई मृत घोषणा गरे।
धनसरीले शौचालय ठानेर ढोका खोल्दा पाइप फिट गर्न खाली राखिएको ठाउँबाट खसेको उनका आफन्तको अनुमान छ। उनी खसेको ठाउँको बाहिरबाट हेर्दा कोठाको ढोका जस्तै देखिन्छ। अध्याँरो त्यसमा पनि दुर्घटनाको जोखिम भएको ढोका खोल्न नमिल्ने गरेर बन्द नगर्नु अस्पतालको गम्भीर लापरवाही भएको मृतकको आफन्तको आरोप छ।
‘सजिलैसँगै खोलेर ट्वाइलेट छिर्ने जस्तो ठाउँ बनाएर मान्छे मार्ने पासो राख्न पाइँदैन। अस्पतालको गम्भीर कमजोरी हो’, एक आफन्तले भने। मृतक खसेको ठाउँ अँध्यारो भएकाले पनि अस्पताल आउनेहरु झुक्किने उनको भनाइ छ। ‘अध्याँरो छ। अस्पताल आउने मान्छेहरु केही न केही समस्या भएर आउँछन्। यत्तिकै मान्छेमा केही न केही त भएकै हुन्छ नि। त्यस्तो बेलामा मान्छे हतारमा ट्वाइलेट पिसाब फेर्न जान्छु भन्दाखेरी सिधै मार्ने पासो बनाएर राख्ने?’ ती आफन्तले आक्रोश पोखे।
अस्पताल प्रशासनका अनुसार पाइप मर्मत गर्न ढोका खोलिएको थियो। उनी किन त्यतातिर गइन् भनेर बुझ्न नसकेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालको लापरवाहीका कारण बिरामी भेट्न आएकी धनसरीको अनाहकमा ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। शुक्रबार २ चरणमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भयो। छलफलले निचोड निकाल्न नसकेपछि शनिबार फेरि वार्ता बस्ने जनाइएको छ।
मृतकको शव मणिपाल अस्पतालको शवगृहमा राखिएको छ। अस्पताल प्रशासनले गम्भीर लापरवाही भएको कारण दुखद घटना भएको भनेर स्वीकार गरेको अर्का एक आफन्तले जानकारी दिए।
मृतक धनसरी मंगलबार नै लेकसाइड दिदी भिनाजुको घरमा आएकी थिइन्। उनले ८४ पुजामा नाचगान र रमाइलो गरिन्। बिहीबार साँझ कान्छी छोरीको घर भकुन्डे गइन्। शुक्रबार बिहानै कान्छा ज्वाँईको साथ लागेर अस्पताल पुगेकी उनी नफर्कने गरेर विदा भइन्।