
कतार विश्वकप फुटबलमा अप्रत्याशित नतिजा निकाल्दै ‘अन्डर डग’ को छवि बनाएको मोरक्को शनिबार राति विश्वकपको क्वाटरफाइनलमा युरोपियन जायन्ट पोर्चुगलसँग प्रतिस्पर्धा गर्दै छ। विश्वकपमा पहिलो पटक क्वाटरफाइनल यात्रा तय गर्दै नयाँ इतिहास बनाइसकेको मोरक्कोका लागि बाँकी यात्रा ‘बोनस’ हो। त्यसैले पोर्चुगल विरुद्ध मोरक्को बिना दबाबमा मैदान उत्रने छ।
पोर्चुगल भने पछिल्लो समय टिम गेमका कारण उत्साही छ। उसले सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो। नकआउट चरणमा बलियो मानिएको स्विट्जरल्यान्ड विरुद्ध एकतर्फी जित हासिल गरेकाले पनि पोर्चुगल मोरक्कोलाई हराउने ध्याउन्नमा रहेको छ।
जारी विश्वकपमा अप्रत्याशित नतिजाको क्रम जारी रहेकाले शनिबार पोर्चुगल ‘अन्डर डग’ मोरक्कोसँग सचेत छ। अघिल्लो खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेर सनसनीपूर्ण प्रदर्शन गरेको पोर्चुगलका लागि शनिबारको खेलमा स्टार रोनाल्डो स्टार्टिङ ११ मा रहने या नरहने अन्योल छ।
यद्यपि यो बिचमा रोनाल्डोको विषयमा अनेकन अफवाहहरू फैलिए। उनले टिम छाड्ने देखी प्रशिक्षणमा सहभागि नभएको समाचारहरू समेत बाहिरिए। जसको खण्डन गर्दै पोर्चुगल प्रशिक्षक फर्नान्डो स्यान्टोले रोनाल्डोका विषयमा अनेकन अफवाहहरू चलाइएको भन्दै चिन्ता व्यक्त गरेका थिए। स्वंय रोनाल्डोले समेत आफ्नो देशलाई कमजोर बनाउने षड्यन्त्र गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरे।
पोर्चुगल र मोरक्को विश्वकपमा तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। १९८६ को विश्वकपमा पोर्चुगललाई समूहचरणमा ३-१ ले पराजित गरेको इतिहास ३६ वर्षपछि दोहोर्याउने प्रयासमा मोरक्को रहँदा पोर्चुगल भने दोस्रो पटक जितको प्रयासमा हुने छ।
पोर्चुगलले पछिल्लो पटक २०१८ मा भएको विश्वकपको समूह बी को खेलमा मोरक्कोलाई १-० ले पराजित गरेको थियो। त्यसैले ४ वर्षपछि विश्वकपमै प्रतिस्पर्धा गर्दा आफ्नो पुरानो दबदबा कामय राख्ने प्रयास पोर्चुगलले गर्ने छ। तर पहिलो पटक क्वाटरफाइनलमा भिड्न लागेकाले यि दुई टिमबीचको खेल रोचक हुने आँकलन गरिएको छ।