
पाेखरा- गण्डकी प्रदेशमा निर्वाचित सांसदमध्ये ज्येष्ठ सदस्य ६५ वर्षीय मित्रलाल बस्यालले पुस १३ गते शपथ ग्रहण गर्नेछन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउन लागेका हुन्।
प्रदेश प्रमुखले पर्वत (ख) बाट चुनाव जितेका बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथ ग्रहण गराउनेछन्। अरू सदस्यलाई बस्यालले पुस १४ गते शपथ खुवाउने छन्।
सांसदको शपथ ग्रहण अगावै नेपाली कांग्रेसले संसदीय दलको नेता चुन्ने भएको छ। आगामी मंगलबार कांग्रेसले संसदीय दलको नेता चुन्नेछ। नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको शुक्रबारको बैठकले संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो।
प्रदेश कार्यसमितका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा सहमहामन्त्रीद्वय कोपिला रानाभाट र रमेश पाण्डे सदस्य रहेको निर्वाचन समिति बनाइएको छ। दुईभन्दा बढी संसदीय दलको नेता बन्न इच्छुक भएमा निर्वाचन हुने प्रदेश कार्यसमितका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले बताए।
गण्डकीमा संस्थापन पक्षबाट संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे दावेदार छन्। गोरखा २ (ख) बाट निर्वाचित देउवा निकट उनले राष्ट्रियसभाको अनुभव पनि बटुलेका छन्। मुख्यमन्त्रीको आश्वासन पाएकाले पाण्डे प्रदेश झरेको बताइन्छ।
उनलाई चुनाव अगाडिका घरदैलो र आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकीको मुख्यमन्त्री बनाउने वचन दिँदै हिडेका थिए। तर, संस्थापनपक्षकै विन्दुकुमार थापाले पनि संसदीय दलको नेता बनेर मुख्यमन्त्री हुने इच्छा देखाएका छन्। कास्की २ (ख) बाट निर्वाचित थापा गण्डकीका बहालवाला कानुनमन्त्रीसमेत हुन्।
संस्थापन इतर समुहबाट स्याङजा २ (क) मा निर्वाचित भोजराज अर्याल र नवलपुर १ (क) बाट निर्वाचित महेन्द्रध्वज जिसीले संसदीय दलको नेता बन्नलाई दावी गरेका छन्।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन्। १८ सिट प्रत्यक्ष जितेको कांग्रेसले समानुपातिकमा ९ सिट पाएको हो। कांग्रेसका संस्थापन समूहका १४ र इतर समूहबाट १३ सांसद गण्डकी प्रदेशसभामा छन्।
संसदीय दलको नेता चयनका लागि सहजीकरण गर्न प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश कार्यसमितका महामन्त्री किरणबावु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी कमिटीमा सदस्य रहेका छन्।