
पोखरा – पोखरामा मोटरसाइकल चढ्नेहरु औँलामा गन्न सकिन्थ्यो। त्यतिबेला पूर्ण शाक्य र शेरबहादुर तामाङ मिलेर नयाँ दुई मोटरसाइकल भित्र्याए। राजदूत कम्पनीका ग १ र ग २ मोटरसाइकल ल्याएर भाडामा चढ्ने व्यवस्था मिलाएको थियो शाक्य र तामाङले चलाएको मोटरसाइकल वर्कसपले।
२०३४ सालमा नालामुखमा साझेदारीमा सुरु गरेको वर्कसपले नाफाको गति लिएन। ‘मोटरसाइकल भाडामा लिएर जानेले कहिले दमौलीमा मान्छे हान्दिने त कहिले कहाँ लगेर पल्टाइदिने। घाटा भयो’, शेरबहादुरले व्यवसायको सुरुवाती दिनलाई सम्झदै सुनाए। घाटाको व्यापारले शेरबहादुर र पूर्णको सहयात्रा दुई वर्षमै टुंगियो।
सिकर्मीको काम छाडेर मोटरसाइकल वर्कसप चलाउन थालेका उनले त्यो दुई वर्षमा मर्मतको काम पूर्णबाट सिकेका थिए। उनलाई साइकल पनि मर्मत गर्न सक्छु भन्ने आँट थियो। पाटर्नरसिप टुटेपछि उनले फेरि वर्कसप खोल्नलाई मन लगाएनन्। उनको दिल र दिमागले साइकल पसल खोल्न सुझायो। त्यसपछि सुरु गरे मोटरसाइकल वर्कसप हटाएर शेर साइकल सप। जतिबेला पोखरामा केही साइकल सप भने खुलिसकेका थिए।
५ हजार रुपैयाँ लगानी गरेर साइकल सप खोलेको उनी सम्झन्छन्। १५० रुपैयाँ मूल्य पर्ने १० वटा साइकल भैरहवा हुँदै पोखरा ल्याएको उनले बताए। बेच्न नभइ भाडामा चलाउन दिनलाई साइकल ल्याएका थिए उनले। घण्टाको ५० पैसामा साइकल भाडामा दिने गरेको शेरबहादुरले सुनाए। ‘एउटा साइकल भाडामा लगाएर दिनमै ४ रुपैयाँ ५ रुपैयाँसम्म कमाइ हुन्थ्यो’, उनले भने। उनका अनुसार त्यतिबेला ५ रुपैयाँले सपरिवारलाई खान पुग्ने थियो।
भाडामा दिएका आफ्नै साइकल बिग्रिएपछि आफैंले मर्मतको काम गर्थे। ‘भाडामा दिएपछि यता लडाउने उता लडाउने गरेर धेरै बिग्रिन्थ्यो। आफ्नै साइकल बनाइन्थ्यो। ५/७ वर्षपछि बल्ल चालु हुन लायो। बाहिरको काम पनि आउन थाल्यो’, उनले भने।
विस्तारै साइकल चढ्नेहरु पोखरामा बढ्न थाले। विद्यार्थी, जागिरे धेरैको यात्रामा सारथी साइकल थियो। साइकल पसल उनलाई फाप्यो। साइकल मर्मतका लागि उनी पोखराका नामी कहलिए। कहीँ कसैले बनाउन नसकेको साइकल आफूकहाँ बनाउन पठाउने गरेको उनी बताउँछन्। मर्मतको काम धेरै आएपछि साइकल भाडामा दिन छाडेको उनले बताए।
साइकल भाडामा दिँदै सुरु गरेको साइकल सपले मर्मत हुँदै साइकल बेच्न पनि थाल्यो। काम राम्रो आउन थालेपछि उनले नाम र दुवै कमाए। ‘साइकल पसल राम्रो चल्यो। पाँचवटा छोराछोरी यही पेशाले हुर्काएँ, बढाएँ, पढाएँ’, उनी सन्तुष्ट आवाजमा सुनिन्छन्।
शेरबहादुरका अनुसार पहिला धेरै काम आएको दिनमा ८ सय रुपैयाँसम्म कमाइ हुन्थ्यो। त्यो कमाइ अहिले सयबाट बढेर हजार रुपैयाँमा पुगेको छ।
उनले पोखरामा हिरो, एवान, एटलस्ट, भिमेक्सलगायतका साइकल भित्र्याएका हुन्। नयाँ–नयाँ ब्राण्ड र डिजाइनमा साइकल आउन थालेपछि उनले आजकाल मर्मत मात्रै गर्छन्। ४३ वर्षदेखि शेरबहादुरको पेशा उही साइकल बनाउने छ। नालामुखस्थित ललितकुमार बटाजुको घरमा राखेको उनको साइकल पसल अन्त सरेको छैन। साइकल सप सुरु गर्दा ६० रुपैयाँ भाडा तिर्ने उनले अहिले ५ हजार रुपैयाँ तिर्छन्। घरपयाक पर्ने, घरभाडा सस्तो भएकाले साइकल सप अन्त सार्न नचाहेको उनले बताए। अहिले त यो घरसँग उनको छुट्टै आत्मियता छ। किनकि यही घरमा चलाएको पसलले उनको घरव्यवहार चलाइदियो।
शेरबहादुरकहाँ आजकाल पुरानादेखि नयाँ ग्राहक साइकल मर्मत गर्न आउँछन्। ७३ वर्षको उमेरमा उनी साइकल बनाइरहेका भेटिन्छन्। कपाल फुलेका छन्। आँखा उमेर छँदाको बेला जस्तो तेजिलो देख्दैनन्। हातखुट्टाले वैंशको बेलामा जस्तो भर दिँदैनन्। तर पनि शेरबहादुर यो पेशाबाट विश्राम लिन चाहँदैनन्। भन्छन्, ‘हातखुट्टाले काम गरुञ्जेल यही काम गर्छु। जानेकै यही साइकल बनाउन हो, अरु के गर्ने? काम गरेछु र पो दिन काट्न सजिलो भा’छ। चाहे मलाई दुई पैसा होस् नहोस् अब मलाई केही पनि चाहिँदैन। सकेसम्म गर्छु।’ साइकलको काम गर्दा फुर्तिलो हुने उनले सुनाए।
४३ वर्षदेखि पोखरेली साइकलप्रेमीको सारथी बनेका शेरबहादुरलाई शनिबार साइकल सिटी पोखराले सम्मान गरेको छ। ‘थोपा थोपा इन्धन बचाऔं’ नाराका साथ आयोजित छैठौं संस्करणको टुर दि पोखराको अवसरमा सम्मान गरिएको हो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तामाङलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरे। तामाङ साइकल व्यवसायी संघ कास्कीको संस्थापक सदस्य समेत हुन्।