
काठमाडाैँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाकाे सुनुवाइका लागि पेसी ताेकिएकाे छ।
सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले पुस २२ का लागि पेसी ताेकेकाे हाे।
युवराज पौडेल (सफल)ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी गर्दै रिट निवेदन हालेका थिए।
त्यस्तै, अधिवक्ताद्वय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गर्दै रिट हालेका थिए।
उक्त रिटमा सर्वाेच्च अदालतले पुस ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको थियाे। रिटमा सुनुवाइ गर्दै अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको थियाे।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अदालतले पुस २२ गते दुवै पक्षलाई बोलाएर छलफल गर्नेछ। छलफललेअन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे निर्णय गर्नेछ।
सर्वोच्चको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेका छन्।