
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएसँगै नागरिकता विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन्।
खारेज भइसकेको नागरिकताको आधारमा उम्मेदवारी दिएकाले उनलाई सांसदका रुपमा काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा परेका दुई वटा रिटमाथि पुस २२ गते सुनुवाइ हुँदैछ। उनले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको तथ्यसमेत फेला परेको छ।
आफै विवादले घेरिएका गृहमन्त्री लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि पहल गर्ने बताएका छन्। उनले सोमबार गृहमन्त्रीको कार्यभार सम्हालेपछि आफ्नो पहिलो काम निर्मला पन्तको हत्यारा पत्ता लगाउनु रहेको बताए। उनको यो भनाइलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।
धेरैले नेपालको नागरिकसमेत नभएको व्यक्तिलाई गृहमन्त्री बनाएको भनेर विरोध गरिरहेका छन् भने केही आफै नागरिकता विवादमा मुछिएका लामिछानेले निर्मला पन्तको हत्यारा पत्ता लगाउने कुरा हाँसोको कुरा भनेका छन्। यी सबै घटनाक्रमलाई हेर्दा के उनले साच्चै निर्मलाको हत्यारा पत्ता लगाउन सक्लान् त? भन्ने प्रश्नसमेत उठेको छ।
यता रवि भने विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता ब्यूँताउन कानुनी प्रक्रिया सुरु गरे पनि नागरिकता नियमावली, २०६३ को प्रक्रिया पूरा नगरेकाले नेपालको कानुनले उनलाई नेपाली नागरिक भनेर चिन्दैन। नियमावलीअनुसार उनले खारेज भइसकेको नागरिकता ब्यूँताउन सम्बन्धित सरकारी कार्यालयमा निवेदन दिएर नयाँ नागरिकता निकाल्न अपनाउनुपर्ने कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै उनको खारेज भएको नागरिकता ब्यूँतिन्छ। तर उनले त्यो प्रक्रिया पूरा गरेका छैनन्।
ऐनअनुसार उनले निवेदन दिएपछि मात्रै विदेशी नागरिकको रुपमा खारेज भइसकेको वि.सं. २०५० मा निकालेको नागरिकता ब्यूँतिने प्रक्रिया सुरु हुन्छ। तर उनले कानुनअनुसार प्रक्रिया पूरा गरेको देखिँदैन।
त्यस्तै, उनी अमेरिकी नागरिक रहेकै बेलामा नेपाली राहदानीसमेत लिएको तथ्य बाहिरिएको छ। उनको नाममा परराष्ट्र मन्त्रालयले नेपाली राहदानी सन् २०१५ मे २७ (२०७२ जेठ १३) मा जारी गरेको देखिन्छ। यो मिति उनले अमेरिकी राहदानी र नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको मितिभन्दा तीन वर्ष अगाडि हो।
रविले २०१८ मा अमेरिकी नागरिकता र नागरिकको कानुनी हैसियत त्याग्ने प्रक्रिया सुरु गरेको उनले नै स्वीकार गरिसकेको तथ्य छ। नेपालको अध्यागमन र श्रम ऐन उलङ्घन गरेको उजुरीबारे प्रेस काउन्सिल नेपालले गरेको अनुसन्धानमा गृह मन्त्रालयले पठाएको पत्रमा लामिछानेले अध्यागमन विभागमा २०७५ असार ६ मा अमेरिकी नागरिकता त्यागेकोबारे निवेदन दिएको उल्लेख छ।
यसबाट उनले अमेरिकी राहदानी र नागरिकको कानुनी हैसियत त्याग्ने प्रक्रिया सुरु हुनुभन्दा तीन वर्ष अगाडि नै निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेर नेपाली राहदानी निकालेको पुष्टि हुन्छ।
हुन त रवि लामिछाने सञ्चारकर्मी हुँदा टेलिभिजन कार्यक्रममा पटक–पटक निर्मला पन्तको हत्याराको बारेमा प्रश्न उठाएका थिए।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो। गृहमन्त्रीमा नियुक्ति भएर पदभार ग्रहण गर्दैगर्दा उनले निर्मलाको हत्यारा पत्ता लगाउन अधिकतम प्रयास गर्ने निर्णय गरेका छन्। त्यति मात्रै होइन उनी टेलिभिजनमा प्रस्तोता हुँदा निर्मलाको हत्यामा भीमत्तदत्तनगर–१९ बागफाँटाका ३९ वर्षीय दिलिप विष्टको संलग्नता रहेकोसमेत दाबी गर्दै आएका थिए । तर प्रहरी प्रसाशनले भने उक्त कुरा स्वीकार गरिसकेको अवस्था छैन।
२०७५ साउन १० गते घरबाट हराएकी निर्मला ११ गते बिहान घरनजिकैको उखुबारीमा अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन्। त्यसको केही समयपछि निर्मलाकै आमा दुर्गादेवी पन्तले तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदविरुद्ध प्रमाण नष्ट गरेको भन्दै उजुरी हालेकी थिइन्।
तर जिल्ला अदालत कञ्चनपुरले भने सो मुद्दामा निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा ‘प्रहरीले प्रमाण नष्ट नगरेको र दिलिप सिंह विष्टलाई हिरासतमा शारीरिक तथा मानसिक यातना नदिएको’ जिल्ला अदालतको फैसलामा भनिएको छ।
दिलिप पक्राउ परेपछि प्रहरीले निर्दोषलाई फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो। सो क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा भीमदत्त–१८ का सन्नी खुनाको मृत्यु भएको थियो।
घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी अधिकारीहरू समेत कारबाहीमा परेका थिए। सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। सो समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा सुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली सक्रिय थियो। निर्मलाको हत्यापछि जति प्रहरी अधिकारीहरु आए उनीहरु सबैले अपराधीसम्म पुग्ने केही पनि तथ्य प्रमाण फेला नपरेको बताउँदै आएका छन्।
निर्मलालाई न्याय दिलाउन टेलिभिजन प्रस्तोता हुँदादेखि नै आवाज उठाउँदै आएका रविले आफू गृहमन्त्री भएपछिको पहिलो निर्णयका रुपमा निर्मलालाई न्याय दिलाउनु रहेको बताएका थिए। तर, आफै नागरिकता र पासपोर्ट विवादमा मुछिएका गृहमन्त्रीको निर्देशनमा पत्ता लाग्ला त निर्मला पन्तको हत्यारा? भन्ने प्रश्नको जवाफ भने पक्कै पनि कठिन नै छ।
राजनीतिक विश्लेषक लोकराज बराल रवि लामिछानेलाई उपप्रधान तथा गृह मन्त्रालय दिनु राष्ट्रिय राजनीतिमा राम्रो संकेत नभएको तर्क गर्छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा गठन गरेको सरकारमा बाध्यताबस लामिछानेलाई गृह मन्त्रालय दिएको हुन सक्ने उनी बताउँछन्।
बरालले देश सञ्चारसँग भने,‘लामिछानेको नागरिकता र पासपोर्टसम्बन्धी विवाद सल्टिएको छैन, हतारिएर सरकारमा गएका छन्, आफूले गर्ने कामबारे केही एजेन्डा बनाएका छैनन्, लामिछानेलाई गृह मन्त्रालय सुम्पिनु मुलुक र जनताको लागि सकरात्मक संकेत होइन।’
उता नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी टेकप्रसाद राई गृहमन्त्रीको उक्त चासोले प्रहरीमा उत्साह बढेको बताउँछन्।
‘प्रहरीको विशेष टोलीले निरन्तर नै अनुसन्धान गरिरहेको छ,’ प्रहरी प्रवक्ता राई भन्छन्, ‘गृहमन्त्री ज्यूले नै निर्मला हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो? के हुँदैछ भनेर चासो देखाउनु हाम्रो लागि उत्साहको विषय हो। हामीलाई थप उर्जा मिलेको छ, छिट्टै अनुसन्धान सकाएर हत्यारा सार्वजनिक गर्छौँ।’