
पोखरा – आयोजक सहारा क्लब २२औं संस्करणको आहारारा पोखरा गोल्डपकपको उद्घाटन खेलबाटै बाहिरएको छ।
बिहीबारदेखि सुरु भएको गोल्डकपमा धरान फुटबल क्लबसँग १–० गोलअन्तरले पराजित हुँदै सहारा प्रतियोगिताबाट बाहिरिएको हो।
दशौं संस्करणको आहा गोल्डकपपछि यी दुई क्लब उद्घाटन खेलमा आमने–सामने भएका हुन्। त्यतिबेला सहाराले १–० गोल अन्तरले पराजित गर्दै धरानलाई घर पठाएको थियो।
नवौं संस्करणको उद्घाटन खेलमा पनि यिनै दुई क्बल भिडेका थिए। सहाराले २–१ गोलअन्तरले धरानलाई पाखा लगाएको थियो।
११ वर्ष अगाडि पोखरा रंगशालामा भएको उद्घाटन खेलमा भोगेको पराजयको बदला लिँदै धरान क्वाटरफाइनल प्रवेश गरेको छ। धरानले क्वाटरफाइनलमा पुस १६ गत सशस्त्र प्रहरी बलसँग अन्तिम चारका लागि प्रतिस्पर्धा गर्नेछ।
धरानका प्रकाश बुढाथोकीले खेल सुरु भएको ४ मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। धरानले डिबक्स नजिकैबाट पाएको फ्रिकिकको अवसर सदुपयोग गर्दै बुढाथोकीले गोल गरे।
बाँकी ८६ मिनेटमा सहाराले गोल फर्काउन नसकेपछि बुढाथोकीले गरेको गोल नै धरानको जितका लागि निर्णायक बन्यो।
एक मात्र गोल गरेका उनै बुढाथोकी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए। उनले आठ हजार रुपैयाँ हात पारेका छन्।
शुक्रबार दोस्रो खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले पोखरा रंगशालामा जितका लागि भिड्नेछन्। पुस २३ गतेसम्म चल्ने प्रतियोगितामा २ विभागीय, एक विदेशीसहित १० टिम सहभागी छन्।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको छ। विजेताले पाउने पुरस्कारमा २ लाख रुपैयाँ र उपविजेताले पाउनेमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो।
उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। पाँच विधामा उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकले जनाएको छ।
सर्वाधिक गोलकर्ताले पनि २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको म्यान अफ दि म्याचले ८ हजार रुपैयाँ, फाइनल खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन्। फेयर प्ले टिमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। २०५८ सालमा सुरु भएको क्याराभान गोल्डकपलाई गणना गर्दै २२ औं संस्करणसम्म चलेको छ।
क्याराभान गोल्डकपको उपाधि नेपाल पुलिस क्बलले उचालेको थियो। मनाङ मर्स्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो। गत वर्ष माघमा भएको २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि एपीएफले जितेको थियो।
अन्जनलाई वर्षोत्कृष्ट खेलाडी अवार्ड
सहारा वर्षोत्कृष्ट खेलाडी अवार्ड राष्ट्रिय टिमका खेलाडी अनन्त तामाङ प्रदान गरिएको छ। २२ औं आहारारा पोखरा गोल्डकपको उद्घाटनको अवसरमा तामाङलाई पुरस्कार प्रदान गरिएको हो। पोखरा महानरपालिकाका मेयर धनराज आचार्य र सहारा क्लब अध्यक्ष सुरज गुरुङले पुरस्कृत गरेका हुन्।
तामाङ राष्ट्रिय टिमका सेन्ट्रल डिफेन्डर हुन्। पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ छ। यसअगाडि यो पुरस्कार राशी ३५ हजार रुपैयाँ थियो। सहाराले बर्सेनि एकजना राष्ट्रिय खेलाडीलाई वर्षोत्कृष्ट खेलाडीबाट सम्मान गर्दै आएको छ। पुरस्कारबाट यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिस्ट पुरस्कृत भइसकेका छन्।