
काठमाडौँ- टेलिग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन्।
धादिङ घर भई हाल काठमाडौँ बस्दै आएका १८ बर्षीय रोजित आले मगरले सामाजिक सञ्जालको माध्यमबाट प्रेमीप्रेमिकाको बहानामा अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको भिडियो तथा तस्बिरहरु गोप्य रुपमा लिएर टेलिग्रामका ग्रुप च्याटहरुमा पोष्ट्याउँदै आएका थिए। त्यसरी निर्माण गरिएका अश्लील सामग्रीहरु ग्रुपच्याटमा पोष्ट गरी आर्थिक लाभ लिएको भन्दै साइबर ब्यूरोले बिहीबार उनलाई पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता पशुपति कुमार रायका अनुसार महिला तथा नावालिकहरुको चरित्रहत्या गर्ने, दु:ख हैरानी दिने कार्यमा संलग्न रहेको भन्दै मगरलाई पक्राउ गरिएको हो।
पक्राउ परेका उनलाई जिल्ला अदालतबाट चार दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।