लेखनमा ‘आख्यान पुरुष’ डा. ध्रुवचन्द्र गौतमका सात दशक (भिडियोसहित)

+
-

काठमाडौँ- एक यस्ता साहित्यकार, जो आफू आठौँ दशकमा प्रवेश गर्दैगर्दा उनको लेखनले पनि ७ दशक पूरा गरेको छ। उनले झण्डै सात दशकदेखि निरन्तर रुपमा साहित्य क्षेत्रमा कलम चलाइरहेका छन्। उनी हुन्, डा. ध्रुवचन्द्र गौतम।

गौतम पुस ३ गतेबाट ८० औँ वसन्तमा प्रवेश गरेका छन्। ८० वर्ष पुग्दासमेत उनको लेखाइ भने अझै रोकिएको छैन। करिब १० वर्षको हुँदादेखि लेख्न सुरु गरेका उनी हाल पनि लेखाइमा उत्तिकै सक्रिय छन्। उनी आफूलाई लेख्नभन्दा अरु केही गर्न आउँदैन भन्न रुचाउँछन् जुन कुरा उनका हालसम्म प्रकाशित कृतिलाई हेर्ने हो भने पनि पुष्टि हुन्छ। उपन्यास, कथा, नाटक, कविता गरी हालसम्म उनका ५३ वटा कृति प्रकाशित छन्। जसमध्ये २८ वटा त उपन्यास मात्रै छन्।

विशेषतः आख्यान लेखनबाट ‘आख्यान पुरुष’को उपाधि पाएका उनले गैरआख्यानको क्षेत्रमा पनि कलम चलाएका छन्।

वि.सं. २००१ साल पुष २ गते वीरगञ्जमा जन्मिएका हुन् डा. ध्रुवचन्द्र गौतम। उनी सुरुमा कविता विधामार्फत् साहित्यमा प्रवेश गरेका थिए। वि.सं. २०२० मा रूपरेखामा प्रकाशित ‘तथस्टता: असफलता’ शीर्षकको कविता उनको पहिलो कविता हो। उनले त्यसपछि २०२४ मा उपन्यासमा प्रवेश गरे।

उनी आफू करिब १० वर्षको हुँदादेखि नै लेख्न सुरु गरेको सुनाउँछन्। उनी भन्छन्, ‘मैले सानैबाट लेख्न सुरु गरेँ। किन लेख्न थाले, कसरी लेख्न थालेँ भन्ने त्यो म भन्न सक्दिनँ। जे होस् लेख्न थालेँ र हाल म ८० वर्षको हुँदासम्म पनि निरन्तर लेखिरहेको छु।’

उनी आफू पारिवारिक वातावरण साहित्यिक भएका कारण पनि आफ्नो लेखाइमा रुचि बढेको हुनसक्ने बताउँछन्। ‘मेरा दाइहरु पनि लेख्छन्, कोही पत्रकार छन्, उनीहरुले पनि लेख्थे। मैले मेरा पिताजीको पनि पढ्ने सोख देखेको छु। यस्तै धेरै कारणहरुले होला मैले पनि लेख्न सुरु गरेँ। केही वंशाणुगत गुण पनि होला सायद,’ उनी सुनाउँछन्।

वंशाणुगत गुण भएर मात्रै पनि त साहित्यकार भइँदैन होला नि? भन्ने हाम्रो प्रश्नमा उनी मुस्कुराउँदै भन्छन्, ‘त्यो त भइँदैन तर म भएँ। मैले सानैमा लेख्न सुरु पनि गरेँ र त्यसलाई निरन्तरता पनि दिएँ। हुन त साहित्यकार त्यसै भइँदैन लेखाइमा लगाव त चाहिन्छ नै। सायद त्यो ममा थियो त्यसैले त आज साहित्यकारको रुपमा परिचित छु।’

उनी सानो हुँदा वीरगञ्जमा पत्रपत्रिका, किताब, कसैको लेखहरु भेट्टाएर पढ्न निक्कै मुस्किल थियो। २००७ सालको क्रान्तिताका उनी सानै भए पनि नजिकबाट देख्ने र बुझ्ने अवसर उनले पाएका छन्। विभिन्न कठिन अवस्थाका बावजुद पनि उनी सानैबाट पढ्न र साहित्य क्षेत्रमा कलम चलाउन रुचि राख्थे।

कविताबाट साहित्य क्षेत्रमा प्रवेश गरेका भए पनि उनी हाल कथाकार, उपन्यासकार, नाटककार र कविका रुपमा सबै क्षेत्रमा उतिकै परिचित छन्। रूपरेखामा २०२४ सालमा प्रकाशित ‘अन्त्यपछि’ उनको पहिलो उपन्यास हो।

‘म एउटा लामो हवाई यात्रामा गएको थिएँ। हामी कलेजका साथीहरु मिलेर भाषिक भ्रमणमा गएका थियौँ, त्यो भ्रमणमा जाँदा धनगढीमा पुगेपछि यो उपन्यासको परिकल्पना आएको हो,’ उनी मुस्कुराउँदै भन्छन्, ‘त्यसको सुरुवात चाहिँ धनगढीमै भयो। यो २०२२ सालको कुरा हो। पछि रुपरेखाले एउटा सिङ्गो उपन्यास नै छाप्छु तपाईं लेख्न सक्नुहुन्छ? भन्यो। त्यसपछि मैले त्यसलाई पूरा गरेर छापेको हुँ।’

रुपरेखाका त्यतिबेलाका सम्पादक उत्तम नेपाली, जसले पहिलो पटक डा. ध्रुवचन्द्र गौतमको एउटा पूरै उपन्यास नै छापिदिएका थिए। उनले यो उपन्यास लेख्दै गर्दा झापामा एउटा ठूलो (सात दिनको) सेमिनार भएको थियो। उनले त्यहाँ जाँदा पनि यो उपन्यास लेख्दै गरेको कापी लिएर गएका थिए। उनी राति राति कसैलाई थाहा नदिएर सोही उपन्यास सकाउनमा तल्लिन थिए। २०२२ सालमा धनगढीमा नै लेख्न सुरु गरे पनि बीचमा विभिन्न कारण उनले त्यसलाई पूरा गर्न पाएका थिएनन्। पछि २०२४ सालमा उनले उक्त उपन्यास पूरा गरी रुपरेखाको विशेषाङ्कमा प्रकाशित गरेका हुन्। सो विशेषाङ्कमा भूपी शेरचनको ‘यो हल्लै हल्लाको देश हो’ प्रख्यात कविता पनि प्रकाशित थियो।

‘रुपरेखाको त्यो अंक निक्कै चर्चित भएको थियो तर मेरो उपन्यासले गर्दा होइन। भूपीको त्यो कविताले गर्दा थियो,’ उनी हाँस्दै भन्छन्, ‘मेरो उपन्यास त मानिसहरुका लागि त्यतिबेला के हो के जस्तो भएको थियो। त्यसमा केही नयाँपन थियो, त्यो सबैले बुझेनन्, अन्ततः पाठकहरुले उपन्यास हो कि के हो जस्तो मान्नुभयो। त्यो निरस थियो, मान्छले त्यसलाई नबुझ्ने भनिदिनुभयो।’

त्यसपछि उनले २०२८ सालमा दोस्रो उपन्यासको रुपमा ‘बालुवामाथि’  प्रकाशित गरे। उक्त उपन्यास पहिलो उपन्यासभन्दा केही सरल भने पक्कै थियो तर पाठकहरुले भने उक्त उपन्यासलाई बालुवा चपाएजस्तो भयो भने। ‘राती सुत्दा निद्रा लागेन भने डा. साबको बालुमामाथि उपन्यास पढ्नु’ भनेर धेरैले खिल्ली उडाए।

दोस्रो उपन्यास ‘बालुवामाथि’ पाठकका लागि बालुवा चपाएजस्तो भयो भनिन्छ नि? उनी जवाफमा भन्छन्, ‘त्यसमा पात्र वा स्टोरी बडो विस्तारैसँग बढ्छ, त्यस हिसाबले बुझिएन भन्नुभएको होला। त्यो पुस्तक केही मोटो पनि छ। त्यसैले, गर्दा पनि राति सुत्नु अघि पढ्नु, केही काम नभए पढ्नु, यस्ता थुप्रै भनाइ सुनिए। तर त्यो पनि निरस थियो, नबुझिने थिएन। निरस र नबुझ्नु अलग कुरा हो।’

उनले ‘बालुवामाथि’ प्रकाशित भइसकेपछि एकदिन आफ्ना विद्यार्थीहरुलाई उक्त स्टोरी सुनाएका थिए। विद्यार्थीहरुले खुबै रुचाएर सुनेका थिए। त्यसपछि ‘मेरो लेखाइ लेन्दी भएकोले पो पाठकले नबुझेका हुन् कि?’ भन्ने भान भएको थियो। उनले एकपटक त पुनः लेख्ने सोचसमेत बनाए। उनी भन्छन्, ‘भएको त छँदैछ नि। त्यसलाई पुन: लेख्ने समयमा त अर्को उपन्यास लेख्न सकिन्छ भनेर त्यसलाई त्यतिकै छाडिदिए मैले।’

लेखेका हरेक कृति आफूलाई मन पर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘हुन त आफूले लेखेका हरेक कृतिहरु मलाई मन पर्छ तर त्यसमध्ये पनि ‘कट्टेल सरको चोटपटक’सँग म धेरै नै निकट छु जस्तो लाग्छ।’ शिक्षण पेशा लामो समयसम्म अँगालेको अनुभव उनीसँग छ। त्यसैले एउटा शिक्षकले भोग्नुपरेको दु:खलाई आफूले नजिकबाट देखेको र भोगेकोले उनी यस कृतिसँग निकट छन्।

आफूले हालसम्म ५३ वटा कृति प्रकाशित गरिसक्दा पनि लेखनबाट आफ्नो आर्थिक आम्दानीको पाटो भने राम्रो नभएको उनी बताउँछन्। उनी आफ्नो पाठकहरु सीमित रहेकोसमेत बताउँछन्।

‘यति धेरै पुस्तकहरु लेखे पनि जीवनयापनमा भूमिका खेलेको छैन। मेरा पाठकहरु सीमित छन्, बिक्री बेस्सरी हुने लेखक म होइन। सीमित पढाइको पाठ्यक्रममा राखेका हुन्छन् मेरो लेखहरु। त्यसैले लेखनबाट मेरो आम्दानीको स्रोत चाहिँ राम्रो छैन,’  उनी भन्छन्, ‘एउटा लेखक यति समयसम्म लेखेर यसैमा आधारित हुनुपर्ने हो नि ! तर म छैन।’

पछिल्लो समय नेपाली साहित्य खस्किँदै गएको टिप्पणी धेरैले गर्ने गरेका छन्। तर गौतम भने पछिल्लो समयमा प्रकाशित हुने पुस्तकहरु र प्रकाशित हुने कृतिहरुको अवस्था खस्किएको मान्दैनन्। पछिल्लो समयका लेखकहरु विश्व साहित्यसँग अझ धेरै परिचित रहेको उनी बताउँछन्।

‘पछिल्लो समयका लेखकहरु विश्व साहित्यसँग अझै धेरै परिचित छन्। उनीहरु पढेलेखेका पनि छन्। त्यसैले उनीहरुलाई नराम्रो भन्न मिल्दैन,’ उनी भन्छन्, ‘साहित्यको पनि एउटा युग हुन्छ, त्यसैले त्यो युगका सबै लेखक राम्रो नै हुनुपर्छ भन्ने छैन। त्यसमध्ये केही राम्रो हुन्छन्, उनीहरुले नै लिड गर्छन् र तिनीहरुको युग बन्छ।’

उनी आफू लेख्नभन्दा अरु केही गर्न नजान्ने बताउँछन्। उनको दिमागमा जुनसुकै बेला पनि केही न केही विषयवस्तु खेलिरहेकै हुन्छ। यिनै विषयवस्तुहरुलाई एउटा मुर्त रुप दिँदै उनी कथा, उपन्यास वा नाटकजस्ता विभिन्न कृतिको रुपमा पाठकमाझ पस्किने गर्छन्।

‘वास्तविकता यही नै हो कि मैले लेख्नभन्दा अरु केही पनि जान्दिनँ। किनकि जीवनमा धेरै कामहरु गरिएको छ तर हालसम्म पनि निरन्तर गरेको भनेको यही एउटा लेख्ने काम मात्रै हो,’ उनी भन्छन्।

उनले लेखेको उपन्यास ‘अलिखित’लाई चोरी गरेर लेखिएको भन्ने पनि आरोप छ। तर, उनी यस कुरालाई मान्दैनन्। कुनै पनि कथाको विषयवस्तु एउटै भयो भन्दैमा चोरेको भन्न नमिल्ने उनको तर्क छ। उनले ‘अलिखित’ २०४० सालमा प्रकाशित गरेका हुन्। उनले सोही उपन्यासबाट मदन पुरस्कारसमेत पाएका थिए।

‘त्यो त मेरो तेस्रो–चौथो उपन्यास हो। त्यसपछि पनि मैले थुप्रै कृतिहरु निकालिसकेको छु। कतिवटा उपन्यास नै निकालेको छु। सबै चोरेर प्रकाशन गर्न त सम्भव हुँदैनन् नि! मैले त्यसपछि लेख्न छोडेको भए चाहिँ चोरेको भन्न मिल्थ्यो तर मत हाल पनि लेखिरहेको छु। त्यसैले त्यो चोरेर लेखिएको होइन,’ उनी भन्छन्, ‘अरु कसैको कथाको विषयवस्तु गाउँ छ भन्दैमा मैले मेरो गाउँको बारेमा लेख्दा त्यसलाई चोरेको भन्न मिल्दैन। त्यो त मैले त्यही पुस्तकबाट त्यत्रो सम्मान पाएँ। त्यसैले केहीले मलाई तल पार्न पनि भनेका हुन् तर त्यसमा सत्यता छैन।’

उनी सानै छँदा गायक बन्न चाहन्थे। सानो छँदा उनी गीत गाउन खुबै मन पराउँथे। उनको आवाजलाई धेरैले मन पनि पराउँथे। सानोमा लेख्नु दोस्रो रुचि थियो भने गाउनु पहिलो रुचि थियो। वीरगञ्जका थुप्रै स्टेजहरुमा गीत गाएको अनुभव उनीसँग छ। उनी उच्च शिक्षाका लागि काठमाडौँ आए। त्यसँगै उनको गायन केही पछि पर्दै गयो।

उनीसँग जोडिएका रोचक किस्साहरु पनि छन्। त्यसमध्ये एक हो– प्रेमिकाको लागि ५० पेज लामो प्रेमपत्र लेखेको। तर उनी भने त्यो एउटा फिक्सन मात्रै रहेको बताउँछन्। ‘५० पेज लामो होइन, १०६ पेज हो,’ उनी हाँस्दै भन्छन्, ‘त्यो फिक्सन मात्रै हो। किताबमा आएको कुरा हो। वास्तवमा दिएको भन्ने होइन।’

उनी एकैछिन रोकिएर बेस्सरी हाँस्दै भन्छन्, ‘त्यो न पाउनेले गन्यो, न दिनेले भन्यो। त्यसैले ५० पेज भन्ने हल्ला फैलियो। तर वास्तविकता त्यो थिएन। त्यो एउटा किताबमा भनिएको कुरा हो।’

उनले लेखेका थुप्रै उपन्यासमध्ये ‘एक पुननिर्मित प्रोमाख्यान‘ उनको जीवनसँग मिल्दोजुल्दो लाग्छ। त्यसैले धेरै पाठकले यो उपन्यासलाई उनको आफ्नै जीवनी हो पनि भन्ने गरेका छन्। तर गौतम भने यो मान्दैनन्। पाठकले वास्तविक जिन्दगी मान्नु आफ्नो लेखाइप्रतिको सम्मान मान्छन्।

‘लेख्दै जाँदा लेखक कति देखिने भन्ने कुरा हुन्छ। होइन भने त्यो स्टोरी हेर्नुस् न त्यस्तो रियल लाइफमा कहाँ हुन्छ?,’ उनी भन्छन्, ‘तर पाठकहरुले तेरै जीवनीजस्तो छ भन्नुलाई म मेरो लेखाइप्रतिको सम्मान मान्छु।’

साहित्यलाई उनी आफ्नो ‘प्यासन’ भन्न रुचाउँछन्। उनी आफ्नो अस्तित्वको आभाष लेख्दा मात्रै आउने बताउँछन्। उनी आफू बाचुन्जेल लेखन कार्य निरन्तर जारी राख्ने पनि बताउँछन्।

उनले लेखेको उपन्यासबाट चर्चित चलचित्र ‘वासुदेव’ निर्माण भएको छ। सुरुमा किताब लेख्दैगर्दा चलचित्र बन्छ भन्ने उनले सोचेका थिएनन्। उनी भन्छन्, ‘ निर्देशक नीर शाहले त्यो किताब धेरै पटक पढे रे ! त्यसपछि मलाई उहाँले सोध्नुभयो, चलचित्र बनाउने प्रस्ताव राख्नुभयो। प्रस्ताव स्वीकारेपछि मैले पछि पुनः केही स्क्रिप्टहरु थपघट गर्ने कुरामा सघाएँ। यसरी निर्माण भएको थियो त्यो चलचित्र।’

उनले नेपालमा पहिलो पटक बाल अखबार ‘कलिलो’को प्रकाशनसमेत सुरु गरेका थिए। जसमा सम्पादक रहेर उनले केही समय काम गरे। ‘बालबालिकाहरुका लागि केही पढ्ने माध्यम थिएन। त्यसैले मैले बाल अखबार सुरु गरेको थिएँ,’ उनी भन्छन्, ‘लेखनबाट मात्रै बाँच्ने अवस्था पनि थिएन। त्यसैले पनि मैले सुरु गरेको थिएँ तर त्यसलाई विभिन्न कारणले निरन्तरता दिन सकिएन।’

२०४० सालमा ‘अलिखित’लाई मदन पुरस्कार प्राप्त भयो, त्यबेलाको क्षणलाई कसरी सम्झनुहुन्छ? प्रश्नसँगै उनको मुहारमा खुशीका तरङ्गहरु फैलिएको स्पष्टै देख्न सकिन्थ्यो।

उनी त्यतिबेलाको क्षणलाई सम्झिँदै भन्छन्, ‘त्यतिबेला अहिलेभन्दा पनि अन्धकारमा हुन्थ्यो, गोप्य हुन्थ्यो। मलाई एकजना साथीले भनेका थिए कि आज सार्वजनिक हुन्छ। त्यसैले हामी रेडियो सुनेर बसिरहेका थियौँ। अरु कुनै माध्यम थिएन सूचनाको लागि। समाचारका क्रममा वातावरण के के सबै सकिसकेको थियो। अब नआउने रहेछ भनेर रेडियो बन्द गर्न लागेको थिएँ त्यति नै बेला ठ्याक्कै मेरो नाम लियो। मेरो खुसीको सीमा नै रहेन।’

अलिखित पनि उनी आफै गएर दिएका भने होइनन्। उनी भन्छन्, ‘त्यसबेला प्रकाशक वा अन्य व्यक्ति जो कोहीले पुस्तक लगिदिए हुन्थ्यो। अतिखित पनि त्यस्तै भएको थियो। मैलै आफै गएर दिएको थिइनँ। जे होस् मेरो लेखाइलाई सम्मान गर्दै मदन पुरस्कार पाएँ।’

‘अलिखित’भन्दा अघि पनि उनले ‘बालुवामाथि’ उपन्यास मदन पुरस्कारको लागि पेश गरेका थिए। अलिखितभन्दा पछि उनले कहिले पनि मदन पुरस्कारको लागि आफ्नो लेखहरु पेश गरेनन्। उनी भन्छन्, ‘तीन पटकसम्म पाउन मिल्ने व्यवस्था त थियो। तर मैले एक पटक पाइहालेँ।  त्यति भए मलाई पुग्यो भन्ने लाग्यो। त्यसैले मैले त्यसपछि कुनै पनि किताब छनोटको लागि पठाइनँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?