
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले मूल्य र हस्ताक्षरविनाको भर्पाइ दिएको भन्दै सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ।
सामाजिक सञ्जालमा भाइरल उक्त तस्बिर सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘मूल्य र हस्तक्षरविनाको यो बिलको पैसा सरकारी कोषमा जम्मा हुन्छ कि हुँदैन?’ भनेर प्रश्न गरेका छन्।
रौतहटका अवधेशकुमार चौरासियाको नाममा काटिएको बिल २०७८ चैत ३० गतेको हो ।
सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल भएसँगै हामीले विमानस्थल भन्सारका प्रमुख प्रशासक नवराज ढुंगानालाई यही प्रश्न सोध्यौँ। उनले यसबारे सामाजिक सञ्जालमा अफवाह फैलाइएको यसको बास्तविकता नभएको बताए। उनका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्बिर भन्सार तिर्नुअघि सामान डिपोटिज गरेको रसिद मात्र हो।
‘सामाजिक सञ्जालमा यो अफवाह मात्रै फैलाइएको हो बिस्तविकता यस्तो होइन। त्यो भाइरल भएको बिल भन्सार तिर्नुअघि सामान डिपोटिज गरेको रसिद मात्र हो।’
उनी भन्छन्, ‘विदेशबाट आउने व्यक्तिले के सामान ल्याएको हुन्छ त्यो त हामीलाई थाहा हुँदैन पछि चेकजाँच गर्ने क्रममा मात्रै थाहा हुन्छ त्यसैले त्यतिबेला के के सामानको भन्सार तिर्नुपर्ने हो भनेर जानकारीको लागि एउटा बिलमा टिपिएको हुन्छ अहिले भाइरल भएको बिल त्यहि हो। त्यसपछि त्यहि बिलमा टिपिएको सामानको आधारमा भन्सार तिर्ने प्रकृया हुन्छ।’
उनका अनुसार उक्त बिलमा टिपाइए बराबरको आईफोन १३ प्रोम्याक्स दुई थान वापतको भन्सार ३६ हजार ३३९ रुपैयाँ तिरेर सामान छुटाएर लगिएको छ।
भन्सार तिरिएको बिल छुट्टै हुन्छ। एम नम्बर ८०३१ बाट १४/०४/२०२२ मा नै कर भरपाइ भएको देखिन्छ।
विदेशबाट फर्किएका नागरिकले ल्याएको मोबाइलमा कडाइ गरेपछि अहिले ‘नो रेमिट्यान्स’ भन्दै सामाजिक सञ्जालमा अभियान नै चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १५ पुसमा विदेशबाट ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । तर, अझै भन्सारले कडाइ गर्न छाडेको छैन ।
झिटिगुन्टा सुविधासम्बन्धी राजपत्रमा प्रकाशित सूचनामै एउटा मात्र मोबाइल ल्याउन पाइने व्यवस्था भएकाले कडाइ गरिएको भन्सारका कर्मचारीहरु बताउँछन्। कानून नै संशोधन नभएसम्म केही गर्न सक्ने अवस्था नरहेको भन्सारका अधिकारीहरुले बताउँदै आएका छन्।