अवसर आफ्नै पोल्टामा परेपछि फड्को मार्दै मुख्यमन्त्री

अवसर आफ्नै पोल्टामा परेपछि फड्को मार्दै मुख्यमन्त्री
+
-

पोखरा- चुनावको टिकट हात पर्दासम्म पनि एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले रोजाइ संघ भएको प्रतिक्रिया दिन्थे। उनी भन्थे, ‘म केन्द्रकै स्वास्थ्यमन्त्री र गृहमन्त्री भइसकेको मान्छे, मेरो रोजाइ पनि संघमै हो।’

प्रदेशमा दोहोरिन चाहेका पृथ्वीसुब्बा गुरुङलाई संघको टिकट थमाएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रिय पात्र खगराजलाई कास्की १ (क) को टिकट थमाइयो। खगराजले चुनाव जिते पनि।

माओवादी केन्द्रका दीपक कोइरालालाई पराजित गर्दै खगराजले गण्डकीको मुख्यमन्त्री बन्ने ढोका खोले। राजनीति वृत्तमा चर्चा भएजस्तै पृथ्वीसुब्बासँग उनको प्रतिष्ठाको लडाइँ कायमै रहेको भए, पृथ्वीसुब्बाले चाहेको भए खगराज एमाले संसदीय दलको नेता हुन सम्भव नहुन पनि सक्थ्यो। किनकि उनी दलभित्र अल्पमतमा थिए। तर सर्वसम्मत दलको नेता हुँदै अन्तत: खगराज गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन्।

मुखले केन्द्र नै रोजाइ हो भन्दै आएका खगराज एमाले, माओवादी, राप्रपा र स्वतन्त्र निर्वाचित भइ एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ (दिपक मनाङे)सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीको कर्सीसम्म पुगेका हुन्।

एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसदको समर्थनमा खगराज मुख्यमन्त्री बन्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस २७ सिटसहित प्रतिपक्षमा पुगेको छ।

कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन कायमै रहेको भए एमालेका खगराज मुख्यमन्त्री बन्ने सम्भावना थिएन। तर एमाले अध्यक्ष, महासचिव र परिस्थिति पनि आफ्नो निकट हुँदा मुख्यमन्त्री हुँदै खगराजले इतिहास रचेका छन्।

को हुन् त खगराज?

पोखरा महानगरपालिका-३१ बेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका खगराज स्कुले जीवनमै आफ्ना गुरुहरूबाट वामपन्थी विचारमा ढल्किएका थिए। आनन्दज्योति माध्यमिक विद्यालयमा पढ्दाखेरी नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति बनेका खगराज निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहे।

खगराजले २०३३ सालमा नेकपा एमालेको पुष्पलाल समूहको एरिया कमिटी सदस्य भएर सांगठनिक जिम्मेवारी निभाए। २०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को कास्की जिल्ला अध्यक्ष भएका अधिकारी दुई कार्यकाल पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भए। स्ववियु सभापति बनेपछि उनले पटकपटक जेल जीवन बिताउनुपर्‍याे।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विराजमान खगराजसँग हार जीत दुवैको अनुभव छ। छैठौँ पटकसम्म निर्वाचन लडेका उनले ३ पटक त पराजय भोग्नुपर्‍याे। बहुदल आएपछि २०४८ को निर्वाचनमा खगराज कास्की १ बाट निर्वाचन लडे। कांग्रेसका ताराराज रानाभाटसँग चुनाव लडेका उनको संसदीय निर्वाचनको पहिलो गाँसमा ढुंगा लाग्यो।

दोस्रो पटक उनी संसदीय यात्रामा सफल भए। २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की-१ बाट ताराराजसँग पराजयको बदला लिएका खगराज निर्वाचित हुँदै संसदीय यात्रा सुरु भयो। २०५४ सालमा उनी एमालेको सचेतक बने।

त्यसपछि २०५६ को निर्वाचनमा खगराजको तेस्रो भेट ताराराजसँग भयो। ताराराजसँग पराजित भएका उनले दोस्रो हार चाखे। २०६४ सालमा माओवादीका देव गुरुङसँग खगराजको जोर चलेन। लगातार दुई पटक निर्वाचन हारेका खगराजको पार्टीमा भने प्रभाव बढ्दै थियो। २०६५ सालमा नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने।

२०७० को निर्वाचनमा खगराजलाई टिकट हात लागेन। तर चुनाव नजितेरै उनलाई पहिलो पटक मन्त्री बन्ने अवसर भने जुर्‍याे। २०७० चैत १३ देखि २०७२ असोज २५ गतेसम्म खगराजले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी पाए। स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा खगराज स्वास्थ्यमन्त्री बनेका हुन्।

२०७३ मा नेकपा एमालेले केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी उनलाई दियो। संघीयता लागू भएपछि २०७४ को निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गर्दै खगराज दोस्रो पटक संसद प्रवेश गरे। उनी नेकपा एमालेका प्रमुख सचेतकसमेत भए। पछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेकपा बनेपछि देव गुरुङलाई प्रमुख सचेतक बनाइयो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भयो। तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासपात्र खगराजलाई २०७८ जेठ २७ गते गृहमन्त्रीमा नियुक्त गरे।

१३ दिने गृहमन्त्री बनेका अधिकारी २०७८ मंसिरमा भएको एमालेको चितवन महाधिवेशनबाट फेरि पनि केन्द्रीय सदस्य निर्वाचित भए। पार्टीमा गण्डकी इञ्चार्ज, संगठन विभागको सदस्य, पोलिटब्यूरो सदस्यको जिम्मेवारी सम्हालेको उनी नवौँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन्।

गएको निर्वाचनमा मुख्यमन्त्री बन्नलाई खगराज संघबाट प्रदेश ओर्लिएका हुन्। पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्रीमा फेरि दोहोरिने इच्छा व्यक्त गरे पनि खगराज प्रदेश ओर्लिएपछि उनी नचाहेरै संघमा लड्नुपरेको थियो।

अघिल्लो निर्वाचनमा जसलाई भोट माग्दै हिँडेको थिए, खगराजको चुनावी भिडन्त उनैसँग भयो। कास्की १ (क) मा एमालेबाट खगराज र पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइराला प्रतिस्पर्धामा थिए।

खगराजले दीपकलाई ३ हजार ९९६ मतले पराजित गर्दै निर्वाचित भए। चुनाव अघिको गठबन्धनले निरन्तरता पाएको भए परिदृश्य अर्कै हुने थियो। खगराज प्रतिपक्ष दलको नेतामा सीमित रहन्थे। एकाएक सत्ता समीकरण बदलिएपछि खगराज गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन्।

एमालेजनहरू नै भन्छन, ‘खगराज अधिकारी हुकुमी छन्। पार्टी होस् या सरकारी पदमा हुँदा कार्यकर्ता र कर्मचारी मुठ्ठीमा लिन खोज्छन्। आफूले भनेको नहुँदा र फरक विचार राख्नेलाई माथि उठ्नै दिँदैनन्।’

चुनावयता एकाएक स्वभाव र शैलीमा परिवर्तन ल्याएर जनतासामु नरम देखिएका खगराजको असली परीक्षा अब सुरु भएको छ। संघीयतामाथि नै प्रश्न उठिरहेको र चौतर्फी प्रहार भइरहेको बेला रोजाइ केन्द्र नै हो भन्ने गरेका खगराजले प्रदेश सरकारको औचित्य कसरी पुष्टि गर्छन्? जनताको नजर उनैतिर छ।

यो पनि पढ्नुहोस्

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?