
सिमकोट – जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित सुत्केरी गराउनेसम्बन्धी तालिम प्रदान गरिएको छ।
उक्त गाउँपालिकामा सुत्केरी गर्ने महिलाको जटिल केस आउने भएका कारण त्यसलाई समाधान गर्न स्वास्थ्यकर्मीलाई उक्त तालिम प्रदान गरिएको हो।
तालिममा सहजीकरण गरेकी जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक जटिल केसमा गर्भवतीलाई कसरी सुरक्षित सुत्केरी गराउने भन्नेसम्बन्धी तालिम प्रदान गरिएको बताइन्।
यो तालिमपछि स्वास्थ्यकर्मीले जटिल र सामान्य केसका सुत्केरी हुने गर्भवतीको पहिचान गर्न सक्ने, सुरक्षित रुपमा सुत्केरी गराउन सक्ने, नवजात शिशुलाई सुरक्षित राख्ने सम्बन्धमा सहजीकरण गरिएको उनले बताइन्।
उक्त गाउँपालिकामा बर्सेनि जटिल केसका गर्भवती आउने हुनाले जिल्लाबाहिर रिफर गर्नुपरिरहेको छ। निकै जटिल केसका बाहेक यो तालिमपछि अब स्वास्थ्य चौकीमै सुत्केरी गराउन सहज हुने उनले बताइन्।
तालिमका क्रममा सहभागीहरूलाई सुरक्षित सुत्केरी गराउने तरिका र नवजात शिशुुको रक्षाका सम्बन्धमा अभ्याससमेत गरिएको थियो।
स्वान नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको तीन दिने सो तालिममा २५ जना स्वास्थ्यकर्मीको सहभागिता थियो। तालिमको सहजीकरण वरिष्ठ अनमी बोहरा र सुशीला शाहले गरेकी हुन्। तालिम गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको हो।