
पोखरा – ‘सामानहरु ल्याउन निकाल्ने भनेर पैसा जम्मा गरेको चेक दिँदा चेक नै साटिएन। ५ हजार, १० हजारको चेक दिँदा पनि साटिँदै साटिएन पैसा’, बिहीबार पोखरा महानगरपालिका परिसरमा भेटिएका भोजबहादुर गुरुङले भने। गोरखाका गुरुङले पोखराको विरौटामा चिया पसल चलाउँछन्। दैनिक व्यापारबाट भएको मुनाफा उनले रत्नचोकमा रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडमा बचत गरेका थिए।
व्यक्तिभन्दा सहकारी सुरक्षित ठानेर बचत गरेको रकम कात्तिकदेखि झिक्न खोज्दा नपाएपछि सहकारी संकटमा परेको गुरुङले भेउ पाए। पासबुकमा उनले रकम बचत गरेको उल्लेख छ। तर, सहकारीले रकम फिर्ता दिँदैन।
गुरुङले सहकारीमा कार्यरत बजार प्रतिनिधिलाई चिनेकै आधारमा बचत गर्न थालेको थिए। सहकारीमा उनको झण्डै २ लाख २० हजार रुपैयाँ बचत छ। ‘मार्केटिङको बैनीलाई चिनेको माध्यमबाट खाता खोलियो। आफूलाई चाहिएको बेलामा पैसा पाइएन। अहिले सामान ल्याउने ठाउँबाट सामान दिन छाडे। यता चेक दिँदा पैसा दिन्न’, भोजराजले दुःख सुनाए।
घारिपाटनकी गंगादेवी तुलाचनको पनि पीडा उस्तै छ। आफूसँग भएको पैसा दुःख पर्दा निकाल्ने सोचले तीन लाख रुपैयाँ सहकारीमा बचत गरेकी थिइन उनले। ‘हुँदा राख्ने नहुँदा त्यहीँबाट निकालेर चलाउने हो पैसा। ढुकुटी खाएको पैसा राखेको थिएँ। आफूसँग भएर मासेर खाएर सकिन्छ भनेर’, उनले भनिन्, ‘चुनावअगाडि माथि जान पर्ने थियो, बाटो खर्च चाहिने थियो। ल नानी (बजार प्रतिनिधि) पैसा चाहियो लिनुपर्यो भनेको त पैसा छैन, सरले दिनुभएन भन्यो क्यारे।’
तीन महिनादेखि आफ्नो बचत रकम झिक्न नपाएपछि रासनपानी किन्नै मुस्किल परेको उनले सुनाइन्। सुरक्षित होला भनेर बचत गरेको रकम नपाएपछि तुलाचनको टाउको दुखाइ बनेको छ।
अर्की बचतकर्ता शान्ति श्रेष्ठले पनि ५ लाख रुपैयाँ सहकारीबाट फिर्ता नपाएको बताइन्। कात्तिकदेखि उनले पैसा झिक्न खोज्दा पाएकी छैनन्। ‘मैले कति दुःख गरेर खाइ नखाइ नगरेर राखेको पैसा झिक्न पाइएन। उनीहरुसँग ऋण मागेको त हैनन नि। ल ल ल.. भनेर अहिलेसम्म झुलाको झुलाइ छ,’ उनले भनिन्। सहकारीका पदाधिकारी जवाफदेही नभएको उनको आरोप छ।
नाम किसान साथी भएको सहकारी बचतकर्ताका लागि भने दुश्मनजस्तै बनेको छ। २०७६ सालमा पुरानो एक सहकारीलाई स्वामित्वमा लिएर नाम फेर्दै साथी किसान कृषि सहकारी संस्थाको नामबाट सञ्चालन गरेको शेयर सदस्यहरु बताउँछन्। सहकारीले बचतकर्तालाई रकम फिर्ता नदिएपछि पोखरा महानगरपालिकाको सहकारी शाखामा निवेदन परेको छ। झण्डै २० लाख रुपैयाँ फिर्ता गराइदिन माग गर्दै बचतकर्ता वडा कार्यालय हुँदै महानगर पुगेको बताउँछन्। पटक–पटक सहकारीदेखि महानगरसम्म धाए पनि रकम फिर्ता नपाएको उनीहरुको गुनासो छ।
यो सहकारीका अध्यक्ष थिए राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट सांसद बनेको डा. ढाकाकुमार श्रेष्ठ। उनले आफू राजनीतिमा लागेको भन्दै सहकारीको अध्यक्ष पद कात्तिकदेखि छाडे। अहिले डा. शनि पाठक सहकारीको अध्यक्ष छन्। अध्यक्ष पाठक ढाकाकुमारकै कार्यकालमा सहकारीमा समस्या देखिएको बताउँछन्। उनका अनुसार पुरानो कार्य समितिले नै नयाँ कार्यसमिति मनोनित गरेको हो।
डा. श्रेष्ठले नयाँ कार्य समिति मनोनित गर्ने बेला महिनाको ७ लाख रुपैयाँसम्मको नाफा देखाएको पाठकले बताए। ‘सहकारी हामीले नयाँ ढंगले नयाँ तरिकाले गर्न सक्यो भने हुन्छ भन्ने कनसेप्टले हामी आएको हो। तर, आउँदै गर्दा पहिलो मिटिङमै हामीले के बुझ्यौँ भने सहकारीको स्थिति डामाडोल छ। मार्केटमा मनपरी तरिकाले पैसा फसेको रहेछ।’
पुरानो समितिले पुरानो हिसाबकिताब टुंग्याइदिनुपर्ने डा. पाठकको माग छ। पुरानो समितिलाई पत्र काट्ने र बजारमा उठ्न बाँकी रकम उठाएपछि बल्ल बचतकर्तालाई फिर्ता दिन सकिने उनी बताउँछन्।
सहकारी निर्वतमान अध्यक्ष एवं सांसद डा. श्रेष्ठले पुरानो हिसाबकिताब नबुझाएको पाठक बताउँछन्। ‘बारम्बार हामीले आउनुस् पूरानो हिसाबकिताब बुझाइदिनुस् भन्दाखेरि आफ्नो पद छाडेपछि अब हामी सर्वसाधरण हौँ भन्दै बस्नुभा’छ’, उनको दाबी छ।
सांसद श्रेष्ठ भने आफू चार महिना अगाडि नै उपाध्यक्षलाई कार्यवहाक दिएर हिँडेको बताउँछन्। उनी भन्छन्, ‘म अलिकति यता पोलटिक्सतिर लाग्न थालेको भएर मैले काम भ्याइन नि त। सहकारी भ्याउन सकिनँ। त्यही भएर चेत हमाल जीलाई कार्यवहाक दिएको हो। सायद चार महिना भयो कि साढे ३ महिना जति। त्यसपछि उहाँले अधिवेशन गराउनुभा’को हो। अडिटहरु उहाँले गर्नुभा’को हो। हिसाबकिताब सबै छ। बन्दसत्र खुलासत्र सबै गरेर उहाँहरुलाई टिकाटालो लिएर पठा’को हो।’
उनले हिसाब किताब तलमाथि केही भएको भए बुझेर काम गर्न सकिने बताए। आफू संसदमा व्यस्त भएको उनले सुनाए। अनियमितता भएको भए आफू पनि जवाफ दिन तयार रहेको श्रेष्ठको भनाइ छ। कार्य समिति बनेर मख्ख परेर टिकाटालो लगाएर हिँडेर मात्र नहुने उनको टिप्पणी छ।
‘कार्यसमिति भनेको त पुरानो ह्यान्डओभर लिने दिने। अब सहकारीलाई अगाडि बढाउने होला नि त ! निहुँ खोज्ने हैन नि त’, उनको प्रतिक्रिया छ। सहकारी बन्द गरेर नयाँ कार्यसमितिले गलत गरेको डा. श्रेष्ठले बताए। बचतकर्ताको रकम फिर्ता गर्नलाई आफूले पहल गर्ने बताए। आफू अख्तियार जाने उनले चेतावनीसमेत दिए।
स्रोतका अनुसार सहकारीमा गएको असारदेखि प्रबन्धक नै छैनन्। सहकारील कुखुरा पालक किसान र मासु व्यवसायीसँग सहकार्य गर्छ। किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर फ्रेस हाउसमा मासु सप्लाइ गर्ने उद्देश्यले सहकारी खोलिएको हो।