
काठमाडौँ – जबरजस्ती करणी अभियोगमा केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।
सन्दीपको निवेदनमा न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको उनका वकिल मुराहरी सापकोटाले जानकारी दिए।
काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए।
काठमाडौँ जिल्ला अदालतले गत १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सन्दीपले उच्च अदालत पाटनमा बेरितको आदेश बदर गरिपाउँ भनेर निवेदन दिएका थिए।
बिहीबार सुनुवाइ भएसँगै अदालतले सन्दीपको पक्षमा आदेश गरेको हो। लामिछानेलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले अब बाहिरै रहेर मुद्दा लड्न पाउने छन्। तर उनलाई विदेश जान रोक लगाइएको छ।
एक किशोरीले सन्दीपलाई बलात्कार आरोप लगाएसँगै उनलाई प्रहरीले २० असोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।