
पोखरा – सहकारीको रकम हिनामिना गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले आफ्नो राजनीतिक भविष्य सिध्याउन खोजिएको प्रस्टीकरण दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बदनाम गर्न खोजिएको आरोपसमेत लगाएका छन्।
बिहीबार विभिन्न सञ्चार माध्यममा डा. श्रेष्ठ निवर्तमान अध्यक्ष रहेको सहकारीले बचतकर्ताको रकम फिर्ता नदिएको समाचार प्रकाशित भएको थियो। पोखराको रत्नचोकमा रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडमा ढाकाकुमार नेतृत्वको पुरानो कार्य समितिले नयाँ कार्य समितिलाई हिसाकिताब नबुझाएको आरोप लागेको छ। सहकारीमा पैसा नहुँदा बचतकर्तालाई फिर्ता गर्न नसकेर संकटमा फसेको छ।
सांसद श्रेष्ठले लेखेका छन्, ‘मैले पार्टी र चुनावमा लाग्नु पूर्व नै राजीनामा दिएको संस्थाको बिषयलाई नाटकिय ढंगबाट उठाएर नियोजीत रुपमा मेरो नाम बदनाम गर्न खोजियो। खाएको बिष पो लाग्छ। जबरजस्ती मेरो चरित्र हत्या गर्न केही मान्छेहरु लागेको प्रष्ट छ। होइन भने मैले राजीनामा दिए पछी सो संस्थामा के भयो कसो भयो सो को जिम्मेवारी र जवाफदेही म कसरी हुने? जुन संस्था फाइदा घाटा के मा छ छैन त्यसको जिम्मेवार कसरी हुने?’
उनले सहकारीबाट राजीनामा दिँदै गर्दा अडिट गरेर, अधिवेशन बुझाएको बताएका छन्। गण्डकी प्रदेशको कास्कीमा भष्ट्रचार अनियमितता घुसखोरीलाई पर्दाफस गर्नलाई आफूले शंखघोस गरेको उनको दाबी छ।