
पोखरा – कास्कीका अन्तिम शाह राजा सिद्धिनारायण शाहले ललितपुर र भक्तपुरबाट केही व्यापारी, शिल्पकार ल्याएर पोखरामा बस्ती बसाले। पोखराको विकासक्रम २७० वर्ष लामो यहीं इतिहाससँग जोडिएको छ। भक्तपुरबाट ल्याइएका नेवारहरुले बाघ भैरव नाच देखाउन थाले। पोखरामा भैरव नाच सुरु भएकै २५० वर्ष पुगेको इतिहासका जानकारहरु बताउँछन्।
काल भैरव, महाकाली, इन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूच्चा र कवाङको रूप धारण गरेर तान्त्रिक विधिबाट भैरव नाच नाचिन्छ।
भैरव नृत्यको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गरिन्छ। भैरव नाचमा प्रयोग हुने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराएर नचाइने भएकाले यो तन्त्रमा आधारित छ।
बाघ भैरव नाच जतिबेला पनि हेर्न पाइदैन। २५० वर्ष अगाडि सुरुवात भएको भैरव नाच पहिला १२÷१२ वर्षमा नाचिन्थ्यो। २०२९ सालपछि घटाएर प्रत्येक ६ वर्षमा नचाउन थालियो।
पर्यटकीय सहर पोखरामा भैरव नाच भैरव साँस्कृतिक संरक्षण समितिले जोगाइरहेको छ। कोराना कहरले पोखरामा यसपालि ७ वर्षको अन्तरालमा भैरव नाच प्रदर्शन भइरहेको छ।
मंसिर १५ गतेदेखि एक हप्तासम्म भैरव नाच पोखराका पुराना बस्ती जहाँ नेवार समुदायको बाहुल्य छ त्यहाँका मठमन्दिरमा प्रदर्शन गरियो। त्यसपछि भक्तजनको माग अनुसार प्रदर्शन भइरहेको छ।
यसपटक पोखरा महानगरले पनि भैरव नाचमा चासो देखाएको छ। शनिबार साँझ पोखरा महानगरले नै कार्यक्रम आयोजना गर्दै भैरव नाच प्रदर्शन गरेको छ। पोरखाको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेर महानगरपालिकाले भैरव नाच प्रदर्शन गरेको हो।
भैरव नाच हेर्नका लागि महानगरले पाहुनाहरुलाई समेत डाकेको थियो। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारी, प्रदेशका विनाविभागीय मन्त्रीसँगै कास्कीका जनप्रतिनिधिलाई निम्तो गरेर भैरव नाच हेर्न महानगरले उपस्थित गरायो। काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह, हेटौडा उपमहानगरपालिकाकी मेयर मिना लामा र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठसहित पोखरा घुम्न आएका विदेशी पाहुना भैरव नाच हेर्नलाई सहभागी भए।
भैरव नाच हेर्न आएका पाहुनालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा नचाइने भैरव नाच अन्तको भन्दा पृथक ढंगले प्रस्तुत हुने बताए। ‘यहाँ प्रस्तुत हुने वाद्यवादनको प्रस्तुती छुट्टै छ। यही प्रकृतीको नेपालमा अनयन्त्र कतैं नाच हुदैन भन्ने कुरा हामीले थाहा पायौं’, उनले दावाका साथ भने। पुर्खाहरुले सुरु गरेको साँस्कृतिक नृत्यु आउदो पुस्तालाई हस्तानतरण गर्ने दायित्व रहेको बताए।
पोखराको भैरव टोलमा भैरव मन्दिर बनाएर सुरु भएको भैरव नाचलाई अन्तराष्ट्रियकरण गर्न सम्बद्र्धन र प्रचारप्रसारको लागि महानगरले कार्यक्रम गर्दै प्रदर्शन गरेको मेयर आचार्यको भनाई छ। ‘दुई शताब्दी लामो इतिहास बोकेको मौलिक नाचलाई सरकारले पनि अपनत्व ग्रहण गर्नुपर्छ’, उनले भने। सरकारी तवरबाट पहिलो पटक भैरव नाच प्रदर्शन गरेको मेयर आचार्यले दाबी गरे।
भैरव नाच हेर्न पुगेका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाललाई अन्तराष्ट्रियस्तरमा चिनाउने आधार साँस्कृतिक विवधता भएको बताए। साँस्कृतिक धरोहरको रुपमा रहेको भैरव नाच सम्बद्र्धन र प्रवद्र्धन गर्न महानगरले थालेको पहलकदमी सकरात्मक रहेको उनले बताए। ‘स्थानीय सरकार, प्रदेश सकार र संघ सरकारको पनि सँस्कृति जोगाउन ध्यान जाओस्’, उनले भने।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले भैरव नाचको प्रबद्र्धनमा प्रदेश सरकारले पहल गर्ने बताए ।
नेवारी भाषाका भजन र आरतीको गायनमा आधारित कौंशिक, छायाँनट्, मालवा, सारंगा, तोडी, मालश्रीलगायत रागहरू गाएर नर्तकहरू खरजति ताल, चोक ताल, एक ताल, दामो तालमा नर्तकहरुले नृत्य गरे। मुदृंगा, झ्याली, सहनाइ वादनको माध्यमबाट संगीत सिर्जना गरेर भैरव नाच नचाइयो। शास्त्रीय संगीतमा आधारित भैरव नाच झन्डै ५ घण्टासम्म चल्यो।
नतर्क, गायक, वाद्यवादक, नर्तक सेवक, जगेडा नृत्य कलाकार, स्वयमसेवक र व्यवस्थापक गरेर भैरव नाचमा न्यूनतम् ८० जना कलाकार चाहिन्छ। तसर्थ भैरव नाच निकै खर्चिलो हुन्छ। कलाकारको समर्पणकै कारण पोखरामा भैरव नाच जोगिएको छ।