वीरगञ्ज- मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका- वडा नं.२७ उदयपुरघुर्मी बस्ने दीपककुमार पटेल, वडा नं.२९ बस्ने सन्तोष कुमार राउत, वडा नं.१९ बस्ने राजकुमार साह, वडा नं.२५ बस्ने सुशीलकुमार साह, वडा नं.२४ बस्ने शुभनारायण महतो कोइरीलाई पक्राउ गरेको हो।
यस्तै, पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने धर्मेन्द्रकुमार सहनी, वडा नं.२ बस्ने संजय चौहान र बहुदरमाई नगरपालिका-९ बस्ने हरिओम गुप्तालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका उनीहरूले मालपोत कार्यालय परिसरभित्र फाइल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानुनविपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने भन्ने पटक-पटक जनगुनासोको आधारमा पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।
पक्राउ परेका आठ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धकाे कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































