वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाले पनि महानगर अन्तर्गत रहेका अतिक्रमित सार्वजनिक ऐलानी जग्गाहरूको खोजी गरी त्यसलाई संरक्षण गर्नेतर्फ लागेको छ।
महानगरमा रहेको ३२ वटै वडाहरूमा अतिक्रमित सार्वजनिक ऐलानी जग्गाको खोजी गरी त्यसलाई महानगर मातहतमा ल्याउन महानगर लागि परेको छ।
जसका लागि महानगरले बोर्ड बैठक गरी ३२ वटै वडाहरूमा सार्वजनिक ऐलानी अतिक्रमित जग्गाहरू खाली गराउनका लागि वडाध्यक्षहरूलाई आग्रह गरेकाे छ।
वडाध्यक्षहरूले पनि पछिल्लो समय अतिक्रमित सार्वजनिक जग्गाहरूको खोजी गर्ने, अतिक्रमित जग्गामा बनाइएका घर/टहराहरू हटाउनेजस्ता कार्यहरू गरिरहेका छन्।
केही वडाहरूमा वडाध्यक्षहरूले अतिक्रमित सार्वजनिक ऐलानी जग्गा खाली गराएका छन् भने केही वडाहरूमा खाली गराउनको लागि सूचना जारी गरिसकिएको छ।

आफ्नो वडामा रहेकाे करिब ३० वर्षदेखि नै हिमाल आइरन स्टिल कम्पनीले कब्जा गरी खेती गर्दै आएको ६ कठ्ठा जग्गाको नापी गरी जग्गा खाली गराएको वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादवले बताए।
‘परवानीपुरबाट आइसिपी भन्सारसम्म निर्माणाधीन ६ लेनको बाटोमा बिगाहाभन्दा पनि बढी ऐलानी जग्गा छ’, उनले भने, ‘हामीले त्यसलाई पनि संरक्षण गर्नेतर्फ लागेका छौँ, छिट्टै हुन्छ।’
वडा नम्बर २१ मा पनि थुप्रै जग्गा स्थानीयले तथा उद्याेगहरूले कब्जा गरी घर/टहरा बनाइसकेकोले ती जग्गाहरू खाली गराउनका लागि ३५ दिने सूचना टाँस गरिसकिएको वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारले जानकारी दिए।
आफू वडाध्यक्ष हुनुभन्दा धेरै पहिलेदेखि नै वडामा रहेका कल-कारखानाहरूले सार्वजनिक जग्गा कब्जा गरी बसेको उनकाे भनाइ छ।
‘सार्वजनिक अतिक्रमित जग्गाहरू खाली गराउनको लागि सूचना गरिसकेका छौँ, तर अतिक्रमण गरेर बसेकाहरू भने यसरी सूचनाले नै खाली गर्छन् जस्तो मलाई लाग्दैन’, उनले भने, ‘म वडाध्यक्ष हुनुभन्दा धेरै पहिलेदेखि नै वडामा रहेको कल कारखानाले ऐलानी जग्गा कब्जा गरी बसेका छन्। धेरैले नयाँ नापीबाट श्रेस्ता पनि कायम गराइसकेका छन्।’
वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेको सार्वजनिक जग्गाहरू खाली गराउनका लागि वडा नम्बर २६ का वडाध्यक्षसमेत रहेका शम्भु मिश्राको संयोजकत्वमा समिति नै बनाएर काम अघि बढाएको छ।

वडाध्यक्ष मिश्राले आफ्नो वडामा रहेको १२ कठ्ठा जग्गा खाली गराउनको लागि सूचना गरिएको र अब खाली नगरे डोजर लगाएर भए पनि खाली गराउने सोच भएको जानकारी दिए।
‘मेरो वडामा १२ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिले कब्जा गरेर राखेका थिए। त्यो मैले खाली गराउन सूचना गरिसकेको छु’, उनले भने, ‘मेरो वडादेखि अन्य वडामा पनि भएका सार्वजनिक जग्गाहरू कब्जामा छन् भने मलाई सम्पर्क गर्नूस्। त्यसलाई खाली गराउन पहल गर्छु।’
वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडाहरू रहेका छन्। जसमध्ये १६ वटा वडाहरू ग्रामीण भेगमा पर्दछन्। शहरीभन्दा पनि ग्रामीण भेगमा बढी सार्वजनिक जग्गाहरू अतिक्रमणमा परेको स्थानीय बताउँछन्।
०७४ सालमा वीरगञ्जलाई महानगरपालिका बनाउनको लागि साबिकका १६ वटा गाविसलाई वीरगञ्जमा गाभेर महानगर बनाइएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































