
पोखरा- १७ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार हुँदैछ। सर्वाधिक पुरस्कार राशिको पोखरा म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। म्याराथनमा १६ देशका धावकले दौड्ने आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए।
खुला म्याराथनमा गत संस्करणको विजेता केन्याली धावक स्टेफन कोसगेई, उपविजेता सिमिओन किप्लागातोलेसहित १५० जनाले सहभागिता जनाउने उनले जानकारी दिए।
पराजुलीका अनुुसार केन्या, इथोपिया, सर्र्विया, अमेरिका, इजिप्ट, स्विटजरल्याण्ड, अष्ट्रेलिया, मोलदोभा, रसिया, इन्डिया, फिलिपिन्स, हङकङ, फ्रान्स, युके, पोल्यान्डबाट म्याराथनमा सहभागिता जनाउन धावक आउँदैछन्।
‘नेपालका सातै प्रदेशका दार्चुलादेखि बैतडीसम्मका धावकले प्रतिस्पर्धा गर्नेछन्’, अध्यक्ष पराजुलीले भने।
शनिबार हुने म्याराथनमा एकैपटक ३ हजार बढी धावक दौड्ने आयोजकको दावी छ। १७ औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा खुला म्याराथन (४२.१९५ किलोमिटर) सहित महिला हाफ म्याराथन (२१.०९७ किलोमिटर), महिला पुरुष दौड १० किलोमिटर, विद्यालयस्तरीय छात्रछात्रा ५ किलोमिटर दौड, महिला पुरुष ह्विलचियर र दृष्टिविहीन दौडसँगै ‘रन फर फन’ हुनेछ।
आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालका अनुसार हाफ म्याराथनमा ३४ जना, महिला १० किलोमिटरमा ३००, पुरुष १० किलोमिटरमा ६०० जनाले सहभागिता जनाउँदैछन्। यस्तै, विद्यालयस्तरीय ५ किलोमिटर छात्र दौडमा १ हजार ६००, महिलातर्फ ९५० धावकको सहभागिता रहनेछ।
‘विद्यालयतर्फ अत्यन्तै आकर्षण छ। हाम्रो उद्देश्य पनि खेलाडी उत्पादन गर्ने हो’, अध्यक्ष पराजुलीले भने।
ह्विलचियर महिला पुरुषतर्फ ४७, दृष्टिविहीन दौडमा महिला पुरुष गरेर ९० जना र रनफर फनमा १२०० जनाले नाम दर्ता गराएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जानकारी दिएको छ।
खुला म्यारथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। गत संस्करणको भन्दा १ लाख रुपैयाँ पुरस्कार राशिमा वृद्धि गरिएको हो। यो पुरस्कार राशि नेपाली म्याराथन इतिहासमा सर्वाधिक हो।
दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख र सान्त्वनाले ३० हजार रुपैयाँ पाउनेछन्। यसपाली खुला म्याराथनमा सहभागी भएका गण्डकीका धावकलाई पनि पुरस्कारको व्यवस्था छ।
गण्डकीका धावकलाई हौसला प्रदान गर्नलाई पुरस्कार दिन लागिएको पराजुलीले बताए। गण्डकीबाट सहभागी धावकमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पाउनेछन्। यदि गण्डकीका धावकले खुलातर्फ पनि पहिलो दोस्रो स्थान हासिल गरेमा दोहोरो पुरस्कार जित्नेछन्।
महिला हाफ म्याराथनमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने धावकले क्रमशः १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार रुपैयाँ जित्नेछन्।
१०० किलोमिटर दृष्टिविहिन महिला पुरुष दौडमा पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
ह्वीलचेयर ४ सय मिटर पुरुष र १ सय मिटर महिलातर्फका विजेतालाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
यस्तै, १० किलोमिटर महिला दौडमा विजेतालाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेललाई १५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ। ५ किलोमिटर छात्र/छात्रा दौडमा विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ पाउनेछन्। पुरस्कारमा मात्र १७ लाख ५२ हजार रुपैयाँ खर्च हुनेछ।
यसपल्ट परिक्षणको रुपमा पोखरा म्याराथनमा चिप्स प्रयोग गरिने अन्तार्राष्ट्रिय समन्वय समिति संयोजक तेजबहादुर गुरुङले बताए। उनका अनुसार पहिलो पटक पोखरा म्याराथनमा चिप्सको प्रयोग गर्न लागिएको हो।
खुला र हाफ म्याराथनमा मात्र चिप्सको प्रयोग हुनेछ। ‘परिक्षणको रुपमा चिप्सको प्रयोग गर्दैछौँ। प्रयोगमा चुनौती छन्। नयाँ प्रविधि भित्राएर बढीभन्दा बढी धावक भित्राउने उद्देश्य हो’, उनले भने। पोखरा म्याराथनले पोखराको पर्यटनलाई पनि राहत मिल्ने उनको भनाइ छ।
पोखरा म्याराथनको रुटले पोखरा महानगरपालिकाको १७ वडालाई जोडेको छ। पोखरा रंगशालाबाट सुरु हुने म्याराथनमा इभेन्ट अनुसार छुट्टिने रुटको व्यवस्था गरिएको छ।
यसपाली विश्वका दौड ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसिएसन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस(एम्स)ले पोखरा म्याराथनलाई सदस्यता प्रदान गरेसँगै अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ।