
विक्रम सम्वत १६१६ असोज २५ गते गोरखाका राजा द्रव्य शाहले भगिरथ पन्तलाई काजी पदवि दिएर सैनिक नेतृत्व सुम्पे पनि विधिवत रूपमा सेनाको संगठानिक रूप निर्धारण भएको थिएन र विसं १८१९ मा राष्ट्रनिर्माता स्व.श्री ५ पृथ्वीनारायण शाहले विधिवत रूपमा नेपाली सैनिक संगठन अर्थात् नेपाली सेनाको स्थापना गरेपश्चात यो सेनाले मुलुक र जनताको रक्षार्थ साथै राष्ट्र निर्माणको क्रममा थुप्रै बाह्य तथा आन्तरिक युद्धहरू लडी मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रा जोगाउँदै अन्तराष्ट्रिय शान्ति मिसनहरूमा समेत ख्याति कमाइ आफ्नो गौरवमय इतिहास रच्न सफल भएको छ।
प्रथम तथा द्वितीय विश्वयुद्धहरूमा कैयन मुलुकहरूले आफ्नो अस्तित्वको रक्षा गर्ने सामर्थ्य समेत नराखेको पाइन्छ तर यो सेनाले कैयन साम्राज्यहरूलाई पराजित गर्दै एकीकरणपछिको सिङ्गो नेपाल जोगाउन सफल भएको थियो। विश्वका सैनिक इतिहासहरू केलाउने हो भने दक्षिण एसियालगायत हालका महाशक्ति राष्ट्रहरूका सेनाभन्दा निकै पुरानो इतिहास छ। मातृभूमि र नेपाली नागरिकको रक्षा नै यो संगठनको मुख्य उद्देश्य हो हुनुपर्छ।
स्वतन्त्र एवं सार्वभौम मुलुक नेपाल देख्न नचाहने, आफ्नो उपनिविश बनाउन चाहने र यो मुलुकलाई भूराजनीतिको दाउपेचमा प्रयोग गर्न चाहने स्वदेशी तथा विदेशी शक्तिहरूले नेपाली सेनालाई कमजोर बनाउने प्रयासहरू नगरेका होइनन्। पश्चिमा मुलुकले अत्याधुनिक हात हतियारबाट सुसज्जित गराई नेपालभूमी प्रयोग गर्दै विद्रोह गराइएका तिवत्तीयत खम्पा विद्रोहीहरूलाई निशस्त्रीकरण गरेपछिको दिनहरूमा त झनै यो सेनालाई श्रृङखलाबद्ध रूपले कमजोर बनाउन ठुलै प्रयास स्वरूप विदेशी मिशनले एकातिर सेनाभित्रै आफ्नो मान्छे घुसाउने तथा किन्ने र अर्कातिर नेपालीहरूलाई नै छापामार विद्रोही तयार गरी उनीहरूलाई विदेशीभूमिमै तालिम,राशनपानी र अत्याधुनिक हतियार उपलब्ध गराएपश्चात २०५८ मंसिर ८ गते इण्डोपश्चिमा प्रायोजित जनयुद्धको नामबाट सैनिक ब्यारेकमा आक्रमण सुरु हुन्छ।
कैयन सैनिकहरूले वीरगति प्राप्त गरे भने कैंयौँ घाइते, अपाङ्ग र अशक्त बन्न पुगे। यति हुँदा पनि सेनामा केही अब्बल अनि देशप्रति बफादारी नेतृत्व र इमान्दार साहसी सकल दर्जाहरूको वीरताले गर्दा नै करिब साढे चार वर्षको लडाइँपश्चात शान्तिवार्तामा आउन बाध्य भएका थिए। तर उनीहरूको मिशनमा बाधक देखिने अर्थात कथित जनआन्दोलन २०६२/६३ लाई तत्कालीन प्रधानसेनापति प्याराजंग थापाबाट दबाउन सक्ने सम्भावना देखिएपछि उहाँलाई स्वदेशी तथा विदेशी मिलेर घेराबन्दीमा पारी उक्त प्रायोजित आन्दोलन सफल पारेपछिको दिनहरूमा राष्ट्रिय सेनामाथि आफ्नो दैनिक गतिविधिमा अंकुश लगाउने, विद्रोही छापामारसँग समान ढंगले दाँज्ने र अन्तर्राष्ट्रिय रूपमा बदनाम गराउने प्रयास मात्र गरिएन, नागरिक सर्वोच्चताको नाममा मर्यादाक्रममा तल राख्ने काम भयो।
प्यारजंग थापापछि प्रधानसेनापति बनेका रूकमाङ्गद कटवालले सिंगो सैनिक संस्था, यसको गौरवमय इतिहास, संस्थापनको इतिहास र देश जोगाउन ठूलै संघर्ष गर्नु पर्यो। साम्राज्यवादी र विस्तारवादीहरूले बोकाएर पठाएको राष्ट्र विखण्डनकारी मुद्दा, वंशानुगत प्रतिशोध, जातीय द्वेष, धार्मिक तथा साम्प्रदायिक द्वेषको स्कुलिङले सेनाभित्रैका केही पदाधिकारीहरूलाई समेत अछुतो राख्न सकेन, फलस्वरूप २०७२ को संविधानमा धर्मनिरपेक्षता लाद्न सहज भएको थियो।
हिन्दु सनातन र सदियौंदेखि समावेशीको जगमा स्थापित सैनिक संगठनका प्रमुखलाई केही देशभक्त तथा पूर्व विशिष्ट पदाधिकारीहरूले भेटेर नै कमसेकम धर्मनिरपेक्षता रोक्न अनुरोध गर्दा सुनुवाइ नगरेको बिडम्बना हामीले भुल्न सकेका छैनौँ। २०४७ मा नै धर्मनिरपेक्षता जबरजस्ती लाद्न खोज्दा तत्कालीन सैनिक नेतृत्वकै कारण जोगिएको थियो। २०७२ को संविधानबाट झण्डै–झण्डै चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डासमेत परिवर्तन गर्ने प्रयास थियो र संविधान सभाको संसदीय समितिमा झिनो मतले गर्दा जोगिएको थियो। तर पनि यो संविधान जारी पश्चात त हामीले धेरै वटा राष्ट्रिय धरोहर र पहिचान गुमाइसकेका छौँ। देशको नामै बदल्ने कुरा चल्यो, सेनाको त्रिशूल र डमरू चिह्न अनि शिवरात्रिको दिन मनाइने सैनिक दिवसमाथि समेत आँखा लगाउन थालियो। अर्धसैनिक बल सशस्त्र प्रहरी बलको देवी देवताको नाममा नामाकरण भएको युनिटहरूको नामसमेत बदल्ने प्रयास गरियो।
गणतन्त्र दिवस सैनिक हेडक्वार्टरको सभाहलमा भव्य रूपमा मनाउने काम भयो। सेनाको संरचनागत सुधारको नाममा बलियो जगहरू भत्काउने र बदल्ने काम पनि भयो। राष्ट्रनिर्माता अर्थात आफ्नै संस्थापक जन्मेको दिनलाई मनाउँदै आएको राष्ट्रिय एकता दिवस खारेज गरी शालिकमाथि तोडफोड र वर्षेनी थुक्दा सैनिक नेतृत्व मुकदर्शक हुनु पनि बिडम्बना नै हो।
पूर्वसुरक्षाकर्मी परिषद् नेपालले गत वर्ष यो राष्ट्रिय भुल भयो भनि सबै निकायहरूलाई ध्यानाकर्षण पत्र बुझाएको र यस वर्ष सत्ताधारी दलमध्येकै राप्रपाको सर्तको कारण पौष २७ गते राष्ट्रिय एकता दिवस मनाइए पनि राष्ट्रिय सेनालाई हराउन नसकी वार्तामा आउन बाध्य भएर बिसाएको कथित जनयुद्ध दिवससमेत राष्ट्रिय पर्वको रूपमा यही फागुन १ गते मनाउनु र सुरक्षा अंगका नेतृत्व मौन बस्नु अर्काे लज्जा, बिडम्बना र दुःखको विषय हो। हाम्रो सैनिक नेतृत्व किन यति कमजोर र मुकदर्शक बन्दै गयो? यस्तै निरीहताको क्रम बढ्दै जाने हो भने नेपाल प्रहरीकै हालतमा चरम राजनीतिक हस्तक्षेप भित्रिन धेरै समय लाग्ने छैन र त्यसपछि क्रमशः हाम्रा गौरवगाथाका चिह्नहरु मात्र बदलिने छैनन्, हाम्रो सम्पूर्ण इतिहाससमेत मेटिनेछन्। राष्ट्रिय अखण्डता, स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकतासमेत समाप्त हुनेछ।
तसर्थ आजको यो महान् एवं पवित्र सेना दिवसले भावि सैनिक नेतृवहरूलाई यस प्रकारको निरीहताबाट बाहिर निस्किएर मातृभूमिको माटो जोगाउने शक्ति मिलोस् भन्ने कामना गर्दछु। जय मातृभूमि ! नेपाल जय नेपाली सेना !
–लेखक पूर्व सुरक्षाकर्मी नेपालका प्रवक्ता हुन्। उल्लेखित विचार लेखकका निजी विचार हुन्।