काठमाडौँ – नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) – २०२३ आगामी २ देखि ६ चैत (मार्च १६–२०) सम्म आयोजना हुँदैछ। निफ–२०२३ लाई सफल पार्न सम्बन्धित व्यक्तिहरु निरन्तर लागिरहेका छन्। कोरोना महामारीको जटिल अवस्थामा पनि निरन्तरता पाउनु निफको सबल पाटो हो।
विभिन्न ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र निफ–२०२३ का लागि छनोट भएका छन्। विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रको ७ विधामा १४ पुरस्कार वितरण गरिने आयोजकले बताएका छन्।
निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौताअनुसार काठमाडौँको छायाँ सेन्टर, सिभिल मल, ललितपुरको लबिम मल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा प्रदर्शन हुनेछन्।
निफलाई अझै गुणस्तरीय बनाउने उद्देश्यका साथ यस वर्षबाट क्युएफएक्स सिनेमा हलमा निफका लागि छानिएका चलचित्रहरु प्रदर्शन हुने भएको हो।
निफका प्रमुख सल्लाहकार नीर शाह पनि यतिबेला निफ–२०२३ लाई सफल पार्न प्रयासरत छन्। शाहसहितको निफको टोलीले केही दिनअघि मात्रै काठमाडौँ महानगरपालिकासँग छलफल पनि गरेको छ। छलफलका क्रममा मेयर बालेन शाहले महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
निफका प्रमुख सल्लाहकार तथा कलाकार, निर्माता निर्देशकसमेत रहेका नीर शाहसँग निफलाई लिएर गरिएको कुराकारीको सम्पादित अंशः
एउटा फेष्टिभल सम्पन्न गर्न प्रमुख सल्लाहकारको भूमिका कस्तो हुँदो रहेछ?
निफलाई अझै प्रभावकारी बनाउनका लागि सीमित स्रोतसाधनको आधारमा जसरी विविध कार्यक्रमहरु सञ्चालित छन्, त्यही परिधिभित्र रहेर यसको प्रभावकारिताको पक्ष अझ व्यापक बनाउनको लागि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यले निफसँग जोडिएर प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरिरहेको छु। सल्लाहकारको भूमिका पनि यही त हो। कसरी अझै प्रभावकारी बनाउन सकिन्छ भनेर निरन्तर छलफल गरिरहेका हुन्छौँ।
एकेडेमीले गर्ने धेरै कार्यक्रमहरुमध्ये निफ एक प्रमुख कार्यक्रम हो। त्यसैले एकेडेमीको मुख्य पहिचानसँग निफ जोडिएको छ। विशेषत हामी चाहिँ चलचित्रकर्मी भएको नाताले स्वतः हामी पनि निफका गतिविधिसँग जोडिने नै भयौँ।
त्यसैले, हामी सल्लाहकारको भूमिका निर्वाह गरेर निफलाई नजिकबाट नियालिरहेका छौँ। त्यसले पनि निफलाई केही न केही त सहयोग भइरहेकै छ। यसरी अघि बढ्न सकिन्छ होला भन्नेजस्ता सुझावहरु हामीले दिने गरेका छौँ।
निफले नेपाली चलचित्रलाई गुणस्तरीय बनाउन कस्तो भूमिका खेलिरहेको छ?
निफको गतिविधिलाई नेपाली सिनेमासँग मात्रै जोडेर दृष्टिगत गर्दा निफमाथि अन्याय हुन्छ। नेपाली चलचित्र उद्योगका मुख्य–मुख्य गतिविधिलाई समेत सँगसँगै राखेर अन्य चलचित्रहरुको पनि मूल्याकंन गर्ने हो भने मात्रै सम्पूर्णतामा निफको न्यायपूर्ण व्यवहार हुन्छ।
निफको विभिन्न गतिविधिहरुमध्ये नेपाली चलचित्रसँग सम्बन्ध राख्ने गतिविधिहरुले एउटा प्रमुख स्थान ओगटेको छ। जसअन्तर्गत नेपाली सिनेमाहरुले प्रतिस्पर्धा गर्छन्, नेपाली सिनेमाकर्मीहरुले प्रतिस्पर्धा गर्छन् र नेपाली सिनेमाकै फाँटमा नेपाली चलचित्रकर्मीहरुलाई प्रोत्साहनस्वरुप गर्ने पुरस्कृत गरिन्छ।
तर नेपालबाहिर बनेका चलचित्रहरुसँग पनि मैले प्रतिस्पर्धा गर्नुपर्छ है निफमार्फत भन्ने जुन सोचाइ नेपाली चलचित्रकर्मीहरुमा जन्मिन्छ नि त्यसलाई सार्थकता दिने काम निफले गरिरहेको छ। त्यति मात्रै होइन, नेपाली चलचित्रहरु, यसका समेटिने कथाहरु अन्तर्राष्ट्रिय स्तरमा बन्ने अन्य चलचित्रहरुभन्दा कमजोर छैनन् है भन्ने सन्देश दिनका लागि पनि निफ धेरै महत्वपूर्ण स्थान हुन सक्छ र भइरहेको पनि छ जस्तो मलाई लाग्छ। यसले गर्दा अन्तर्राष्ट्रिय चलचित्रहरुको कथा वा विषयवस्तु कसरी उठाइन्छ? कसरी तयार पारिन्छ? कसरी आकर्षित बनाउन सकिन्छ? जस्ता थुप्रै कुराहरु नेपाली सिनेमाकर्मीहरुले बुझ्न सजिलो हुन्छ।
निफमा त विभिन्न देशका चलचित्रहरु सामेल भएका हुन्छन्। ती चलचित्रहरु प्रदर्शन गर्नका लागि विभिन्न देशबाट मानिसहरु नेपाल आउनुहुन्छ। यहाँको पनि चलचित्रबारे जान्नेबुझ्ने मौका पाउनुहुन्छ। उहाँहरुले पनि आफ्नो अनुभव सुनाउनुहुन्छ। यी सबै कुराले सिनेमा क्षेत्रमा सहयोग त पुगिरहेकै हुन्छ नि। त्यो स्वयंमै एउटा उपलब्धि हो।
अहिलेको अवस्था भनेको नेपाली चलचित्रसँग मात्रै प्रतिस्पर्धा गरेर पुग्दैन, अन्तर्राष्ट्रियस्तरसँग पनि उत्तिकै प्रतिस्पर्धा गर्न सक्ने चलचित्र बनाउन सक्नुपर्छ। त्यसका लागि निफ एउटा महत्वपूर्ण माध्यम हो।
विश्व रंगमञ्चमा नेपाली चलचित्रलाई उभ्याउनका लागि निफले जुन अभुतपूर्व अवसर प्रदान गरेको छ नजादिँदो तरिकाले, निफले नेपाली चलचित्रप्रति लगाएको ठूलो गुन हो। अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्र कमजोर त छैन नै, बरु पतिस्पर्धा गर्न सक्ने पनि छन् है भन्ने बुझाउन निफले भूमिका खेलिरहेको छ।
यस वर्षबाट निफ क्यूएफएक्ससँग पनि जोडिएको छ, यसको मुख्य उद्देश्य के हो?
यसको मुख्य उद्देश्य भनेको जतिसक्दो धेरै मानिसले निफमा सामेल भएका चलचित्रहरु सजिलै हेर्न पाउन भन्ने नै हो। निफमा यति स्तरीय चलचित्रहरु सहभागीका रुपमा प्रदर्शन हुँदा रहेछन् भन्ने कुरा आम मानिसलाई बुझाउन पनि निफ क्यूएफएक्स जोडिएको हो। यसले गर्दा निफमार्फत प्रदर्शन हुने चलचित्रहरुको गुणस्तरमा समेत यसले सहयोग पुर्याउँछ।
पर्यटन बोर्डजस्ता अन्य स्थानहरुमा चलचित्र प्रदर्शनी हुनुभन्दा क्यूएफएक्सको स्तरीय हलमा चलचित्र प्रदर्शनी गर्दा ध्वनीदेखि त्यसको गुणस्तरसम्म फरक पर्न जान्छ। त्यसैले अन्तर्राष्ट्रिय प्राक्टिसलाई हेरेर पनि निफ क्यूएफएक्ससँग जोडिएको हो।
अन्तर्राष्ट्रिय सिनेमा बजारमा महत्वपूर्ण योगदान दिइसकेका राष्ट्रहरुका उत्कृष्ट चलचित्रहरु निफमा सामेल भएका हुन्छन्। त्यसैले नेपालीहरुको लागि यो एउटा अवसर पनि हो। विभिन्न देशका उत्कृष्ट चलचित्रहरु एकैपटक हेर्न पाउनु भनेको। जसको सहजीकरण यस वर्ष क्यूएफएक्सले गरेको छ।
निफमा प्रदर्शन हुने चलचित्रहरुको छनोट कसरी हुन्छ?
विभिन्न देशहरुबाट थुप्रै उत्कृष्ट चलचित्रहरु यस वर्ष पनि निफलाई प्राप्त भएको थियो तर ३५ देशबाट ९५ वटा मात्रै छानिएका छन्। हरेर वर्ष निफलाई थुप्रै उत्कृष्ट चलचित्रहरु प्राप्त हुने गरेको छ। त्यसमध्ये उत्कृष्ट चलचित्रकर्मीहरु रहनुभएको एउटा समितिले नै कुन चलचित्र छान्ने भन्ने कुराको निर्क्यौल गर्छ। उहाँहरुले प्राप्त भएको चलचित्रमध्येबाट पनि उत्कृष्टलाई छानेर त्यसपछि मेन जुरीलाई बुझाउने गर्छ, यसरी नै निफलाई प्राप्त भएका चलचित्रहरु छनोट हुने गर्छन्।