
पोखरा – पोखरामा एटीएम मेसिन तोडफोडको प्रयास गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन्। मंगलबार पोखराका तीन बैंकका एटीएम फोरेर चोरीको प्रयास गर्नेलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो।
उदयपुरको गाइघाट घर भइ पोखरा छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङको मर्स्याङदी गाउँपालिका घर भइ छोरपाटन बस्ने २१ वर्षीय लुबहादुर गुरुङ (अर्जुन) लाई एटीएम तोडफोडको प्रयास गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ज्ञानबहादुर खड्काले बताए।
यी दुई जनाले मंगलबार राती रामबजारमा रहेको एनआइसी एसिया बैंक एटीएम, बिहान वन क्याम्पस गेटमा रहेको नेपाल बैंकको एटीएम र रामबजार पेन्सन क्याम्पनजिकै रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम तोडफोडको प्रयास गरेका थिए।
‘एटिएम मेसिन तोडफोड गर्नलाई ढुंगा हान्ने, सीसिटिभी क्यामेरालाई कागजले छोप्ने गरेको सूचना पाएपछि पक्राउ परेका छन्’, खड्काले भने।
पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका कसुरअन्तर्गत चोरी उद्योगमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब निरीक्षक खड्काले बताए।