
नेपालगञ्ज – स्वास्थ्यकर्मीले जोडबल गरिरहे पनि नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान उत्साहजनक देखिएको छैन।
स्थानीयले औषधी सेवनमा रुचि नदेखाएपछि स्वास्थ्यकर्मीको जोडबलले खासै काम गरेको तथ्यांकले देखाएको छैन।
दिनभरि दौडधुप गर्दा कतिपय वडामा सय आसपासमा मात्रै औषधि खुवाउन सकिएको छ। नेपालगञ्जको वडा नं. ३ मा पहिलो दिन एक सय १६ र दोस्रो दिन एक सय ३४ जनाले औषधि सेवन गरेका छन्।
अभियानको सुरुवात नै यही वडाबाट भएको थियो भने प्रदेश सांसददेखि जिल्ला समन्वय समितिका संयोजक, मेयर, सीडीओले यही वडाबाट औषधि खाएका थिए। जिल्लाका विशिष्ट व्यक्तित्वहरुले आएर औषधि खाएको वडाको कभरेज दयनीय देखिएको छ।
वडा नं. १६ को अवस्था उस्तै छ। यो वडामा पहिलो दिन एक सय ३३ र दोस्रो दिन एक सय ५५ जनाले औषधि खाएका छन्। वडा नं. ७ मा पहिलो दिन एक सय ३५ र दोस्रो दिन दुई सय ५६, वडा नं. १९ मा पहिलो दिन एक सय ४२ र दोस्रो दिन दुई सय ४१, वडा नं. ५ मा पहिलो दिन तीन सय ६४ र दोस्रो दिन ७९ जना, वडा नं. ११ मा पहिलो दिन २ सय ८५ र दोस्रो दिन एक सय १८ जनाले औषधि खाएका छन्।
पहिलो दिन सबैभन्दा धेरै वडा नं. १८ मा एक हजार एक सय ८९ जना र वडा नं. १० मा एक हजार ८९ जनाले औषधि खाएका छन्। यही वडामा दोस्रो दिनमा आइपुग्दा खानेको संख्या घटेको छ। वडा नं. १८ मा दोस्रो दिन ५ सय ७३ र वडा नं. १० मा दोस्रो दिन ७ सय ५२ जनाले औषधि खाएका छन्।
बाँकेमा फागुन ११ गतेदेखि १३ औँ चरणको आम औषधि सेवन अभियान सुरु भएको छ। फागुन मसान्तसम्म नै औषधि खुवाउने रणनीति रहेको छ। सुरुवाती दुई दिनको कभरेज कमजोर भए पनि सुध्रिदै जाने स्वास्थ्यकर्मीले आशा गरेका छन्।