
पोखरा – नारायणप्रसाद पौडेलले फलाएको आलुले बजार पाएन। पसिना बगाएर फलाएको आलु नबिक्दा कुहाएरै फाल्नु पर्यो।
कास्कीको मादी गाउँपालिका–१२ भगवतीटारको माटो आलु खेतीका लागि उपयुक्त छ। दुःख गरेर फलाएको आलु बिक्री नभएपछि नारायणप्रसादलाई आलु खेतीमा मन मरेको थियो।
वडा कार्यालयले बजार व्यवस्थापनको आश्वासनसहित ५० प्रतिशत अनुदानमा बिउ दिएपछि उनले ३० किलो आलु लगाए। मौसमले साथ नदिएपनि आलु राम्रै फल्यो।
पोहोरजस्तो घरमै आलु कुहाएर फाल्नु परेन। पौडेलले पहिलो चरणमा लगाएको आलु खेतबाट घरमा थन्काएको हप्तादिनमै विक्री भएको छ। पौडेलले शनिबार एकैदिन १५९ किलो बिक्री गरे।
पहिलो पटक आँगनमै आलु महोत्सव आयोजना गरेपछि उनको आलुले बजारसँगै मूल्य पायो। महोत्सवबाट उपभोक्ताले खोसाखोस गरेर आलु किने। ‘महोत्सवले आलु बेच्न एकदम सहज भयो। पहिला हाम्ले नबिकेर कुहिएर पनि फ्याँकियो। आलु बिकेन भन्ने हाम्रो गुनासो थियो। महोत्सव राख्नाले सहज भयो’, आलु बिक्री गर्दै गरेका उनले भने।
नारायणप्रसादसहित भगवतीटारका ३७ किसान आबद्ध भएर भवगतीटार हराभरा कृषक समूह सञ्चालन गरेका छन्। कृषक समूहले शनिबार महोत्सवमा ५ हजार किलो बढी आलु बिक्री गरेका छन्।
आलु मात्रै होइन गाउँमा उत्पादन भएको साग, गुन्द्रुक, निउरो, रातो अनादीको चामाल, मुला, गोलभेडा, काउली बन्दा र महको पनि व्यापार भयो। सिजन नभएकाले थोरै थिए। एकछिनमै बिक्री भयो।
महोत्सवस्थलमा राखिएको आलुको पहाड एक दिने महोत्सव नसकिँदै सकियो। भगवतीटारको आलु गाउँमै खोसाखोस भयो। किसानले बजारको चिन्ता लिनुपरेन। छिमेकी गाउँबाट आएका उपभोक्ताले भगवतीटारको आलु स्वादिलो हुने भन्दै बोराबोरा उठाए।
मादी गाउँपालिका–१० मकैखोलाकी संगीता परियारले ३० किलो आलु खरिद गरिन्। ‘गाउँमै उत्पादन भएको सुगरका रोगीले पनि खान मिल्ने भएकाले किनेँ’, आलुको बोरा बोक्दै गर्दा भेटिएकी उनले भनिन्। उनले बजारको तुलनामा सस्तोमा पाएको बताइन्। उनले भनिन्, ‘बजारमा ७० रुपैयाँसम्म पर्छ आलुको मूल्य। आफ्नै गाउँमा उत्पादन गरेको सस्तो पनि पर्यो।’
किसानले उत्पादन गरेको आलु बिचौलिया बिना उपभोक्ताले भनेकै मूल्यमा पाए। जसका कारण किसान र उपभोक्ता दुवै प्रफुल्ल देखिन्थे। रातो आलु प्रतिकिलो ४० रुपैयाँ र निलो सुगरफ्री आलु ५० रुपैयाँमा बिक्री भएको छ।
मादी–१० कसेरीकी छली परियारले पनि ३० किलो आलु खरिद गरिन। उनका अनुसार कसेरीमा आलु खेती हुँदैन। महोत्सव हेर्न आएको बेला आलु किनेको परियारले बताइन्। ‘महोत्सव हेर्न आएको आलु सस्तो पनि रहेछ। राम्रो पनि रहेछ र किनेँ’, उनले भनिन्।
कृषि ज्ञान केन्द्र कास्की, मादी गाउँपालिको कृषि शाखाले अनुदानमा यो वडामा मात्रै ६ हजार किलो आलुको बिउ बाँडेको थियो। दुई चरणमा लगाइएको आलु ५० हजार किलो उत्पादन गर्ने लक्ष्य छ। पहिलो चरणमा लगाएको आलु किसानले थन्काइसकेका छन्। दोस्रो चरणमा लगाएको खन्न बाँकी नै छ।
वडालाई आलु पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना अगाडि सारेको वडाध्यक्ष कृष्णराज दाहालले बताए। भगवतीटारसँगै भुम्लेबजार र मौरीबिसे फाँट आलु खेतीका लागि प्रख्यात छन्।
कुनै समय भगवतीटारमा फलेको आलु पोखरासम्म पुग्ने गरेको वडाध्यक्ष दाहालले बताए। ‘हिजो पोखराका व्यक्तिहरु आलु किन्न भगवतीटार जाउँ भन्ने हुन्थ्यो। आज यो ठाउँबाट विस्तारै आलु रोप्ने क्रम हरायो। हामीले लोप हुँदै गरेको उत्पादन जो थियो त्यसलाई पहिचान गराउँ र त्यसलाई विस्तारै किसानलाई आत्मानिर्भर बनाउ भनेर लागेका छौँ’, उनले भने । वडाले अर्गानिक उत्पादनमा जोड दिएको वडाध्यक्ष दाहाल बताउँछन्।
अनुदानमा आलुसँगै तोरी र मुसुराको बिउसमेत बाँडेको उनले जानकारी दिए। वडाका ५ सय घरधुरीमा एक हजारका दरले प्याजका बेर्ना बाँडेको दाहालले बताए।
वडाले आलु महोत्सव गरेर बजारीकरणमा सघाएपछि भगवतीटारका किसान हौसिएका छन्। गाउँमा कोल्डस्टोर भइदिए किसानले उत्पादन दोब्बर बढाउने बताउँछन्।