
इंग्लिस प्रिमियर लिगको उपाधि दाबेदारीमा अघि बढिरहेको आर्सनलले शीर्ष स्थानमा पुन: ५ अंकको अग्रता बनाएको छ। त्यस्तै, लिभरपुलले पनि खराब अवस्थाको सुधारको प्रयास जारी राख्दै लिगमा ११ औँ जित निकाल्यो।
बुधबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई आफ्नै मैदानमा ४-० को फराकिलो अन्तरले पराजित गर्याे। त्यस्तै, बुधबार नै भएको अर्को खेलमा लिभरपुलले पनि शीर्ष चारको प्रयास जारी राखेको छ। एनफिल्डमा भएको खेलमा वुल्भ्सलाई २-० ले पराजित गर्दै शीर्ष चारको सम्भावना भने कायम राख्न सफल भयो।
आर्सनलको जितमा गाव्रिय मार्टिनेलीले २ गोल गर्दा बुकायो साका र कप्तान मार्टिन ओडेगार्डले समान १-१ गोल गरेका थिए। हारपछि एभर्टनका लागि भने रेलिगेसन खतरा कायम रहेको छ।
एभर्टन भने २५ खेलबाट २१ अंकका साथ रेलिगेसन जोनमा कायम छ। जितपछि आर्सनलको २५ खेलबाट ६० अंक भएको छ। दोस्रो स्थानको सिटीको ५५ अंक रहेको छ।
त्यस्तै, लगातारको उतारचढावपूर्ण प्रदर्शनका कारण दवावमा रहेका प्रशिक्षक योर्गेन क्लोपले भने केही राहत महसुस गरेका छन्। वुल्भ्सलाई पराजित गर्दा लिभरपुलले ३९ अंक बनाउन सफल भयो।
शीर्ष चारमा रहेको टोटेनह्यामभन्दा अझै ६ अंकले लिभरपुल पछि रहेको छ। लिभरपुलको जितमा भर्गिल भान डाइक र मोहम्मद सलाहले समान १-१ गोल गरेका थिए। लिभरपुलका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।