
आलिशान भवनको शान्त कोठामा सत्तरी वर्षे दमकी बिरामी रश्मीदेवी बस्नेत अर्थात् मुमा हजुर (सगुना शाह) चुरोटको धुवाँसँगै कसैको प्रतीक्षामा छिन्। बेला-बेला अक्सिजनको सहयोगमा सास लिन पर्ने अवस्थाकी बस्नेत स्मृतिहरूको सहारामा बाँचेकी छन्। श्रीमान कर्नेल श्यामकुमार बस्नेतको मृत्युपछि दुई छोरीमध्ये कान्छी छोरी (श्रीमानसँग डिभोर्स गरेकी)लाई आफैँसँग राखेर बस्दै आएकी मुमा हजुरको आँखा घरिघरी ढोकातिर जान्छ। यस्तो लाग्छ- मुमा हजुरको सास प्रतीक्षाका लागि मात्रै शरीरमा अल्झिएको छ।
मुमा हजुर उर्फ रश्मीदेवीको प्रतीक्षाको घडी पनि सकिन्छ। सिधै उनको शयनकक्षमा प्रवेश गरेका दीप दर्नाल अर्थात् कमल घिमिरे (घिमिरे युवराज)लाई बुढेसकालका आँखाले चिन्न गाह्रो हुन्छ रश्मीदेवीलाई।
४५ वर्षीय दीप दर्नाल २५ वर्षअघि रश्मीदेवी (मुमा हजुर)को घरमा कमल घिमिरे नाम राखेर भाडामा बस्दै आएका थिए। कर्नेलको घरमा कोठा भाडामा लिएर बस्दै आएको उनी विस्तारै रश्मीदेवी र कर्नेल श्यामकुमार बस्नेतको प्रिय पात्र हुन पुग्छन्। कर्नेल परिवार कमललाई आत्मीयता देखाउन थाल्छन्। परिवारको सदस्यजस्तै गर्छन्। कमलबाट घरायसी काममा सघाइ माग्छिन् रश्मीदेवी। कर्नेलको अभाव बिस्तारै कमलको सहयोगमा देख्न थालेपछि रश्मीदेवी कमललाई प्रेम गर्न थाल्छिन्। सेनामा कार्यरत कर्नेल घरमा भन्दा बाहिर खुसी भएको महसुस गरेकी रश्मीदेवीले आफ्नो खुसी कमलमा देख्न थाल्दै जाँदा प्रेम झनझन् गहिरिन्छ। कमल पनि आफूलाई बिर्सिएर रश्मीदेवीको प्रेममा डुब्दै जान्छ।
एक दिन गाउँबाट दीप दर्नालको बहिनी दाजु खोज्दै आएपछि रश्मीदेवी र कर्नेलको नजरमा कमल दलित भएको पर्दाफास हुन्छ। कोठाबाट निकालिन्छन्, कमल अर्थात् दीप। दलितले घर बिटोल्यो भनेर कर्नेलका बाआमाले घरलाई चोख्याउँछन्। थर ढाँटेर भाडामा बस्दै आएको दीप पश्चातापका साथै सत्य भन्ने अठोटका साथ बाहिरिएको हुन्छ, जसलाई भेट्न रश्मीदेवी जीवनको अन्तिम घडीमा समेत रोमाञ्चित थिइन्। तर पुरानै कमल फर्किएको हेर्न रहर हुँदाहुँदै पनि कमल दीप दर्नाल भएर फर्किएको थियो।
करिब २० वर्षपछि दीप उर्फ कमल रश्मीदेवीलाई भेट्दै छन्। २० वर्ष अगाडि भाडामा बस्ने कमलसँगको प्रेम बिर्सिन नसकेकी छैनन् रश्मीदेवी । तर, दीप आफू दलित भएका कारण अपमानित भएर निस्किनु परेको दृष्य पनि बिर्सिन सक्दैन। आफू बसेकै कारण कर्नेलको बाउआमाले घरमा रुद्री लगाएर चोख्याएको बिर्सिन सकेको छैन। थर लुकाएर बसेकोमा ऊ पछुताइरहेको छ।
दलित भएकै कारण अपमानित हुनु परेको दीप आफूलाई प्रेम गर्ने रश्मीदेवीलाई प्रेमिका मान्न चाहँदैन। तर बढेसकालको अन्तिम दिनसम्म पनि प्रेम ठानेर कमल उर्फ दीपलाई सम्झिएकी रश्मीदेवी जातलाई बीचमा ल्याएर प्रेमको अर्थलाई गलत नअर्थाउन अनुरोध गर्छिन्। र जातका कारण टाढिएको प्रेमी दीप अर्थात् कमललाई आफ्नो प्रेम स्वीकार्न अनुरोध गर्छिन्। तर पछिल्लो समय दलितले थर फेरेर सहरमा बस्दै आउनुपर्ने बाध्यता र दलित हुँ भनेर चलिआएको थरभन्दा कोठा नपाउनुको दुःख अझै पनि छ।

घिमिरे युवराज।
के मुमा हजुरले आफ्नो पुरानो प्रेमीलाई सजिलै भेट्टाउँछिन् ? के दीप दर्नाल ‘कमल घिमिरे’बाट मुक्त हुन सक्छन्? के जातीय छुवाछुतकै कारण उनीहरूको प्रेम असफल भएको हो? यिनै कथानकमा पात्रहरूले नाटक विमोक्षभित्र सङ्घर्ष गरेका छन्, जसलाई लेखेको हुन् रंगकर्मी घिमिरे युवराजले। घिमिरे युवराजले दलित दीप दर्नाल र गैरदलित रश्मीदेवी बस्नेत जस्ता पात्रमार्फत् उठाइएको जातीय छुवाछुत मुद्दामा आधारित नाटक विमोक्ष हेरिरहँदा आफ्नो थर जस्ताको तस्तै भन्दा कोठा नपाएर अदालतको ढोका ढककाउन पुगेकी अभियन्ता तथा पत्रकार रूपा सुनार सम्झनामा आइरहिन्छन्। लकडाउन आसपास सुनारले कोठा नपाउँदा सहरमा दलितहरूले थर नलुकाइ बस्न कति गाह्रो छ भन्ने यर्थाथ बाहिरिएको थियो।
दलित भएकै कारण प्रेममा असफल पार्न मारिएका नवराज बिकहरू सधैंलाई भेरीमा डुबे। प्रेम गरेकै कारण अजीत मिजारहरू शिक्षण अस्पतालमा लास भएर थन्किए। यस्ता धेरै उदाहारण छन्, जसले दलित भएकै कारण प्रेममा असफल मात्रै हुनु परेन, ज्यान पनि गुमाउनु पर्याे। २१ औँ शताब्दीको तेस्रो दशकमा पनि जातीय विभेद र उत्पीडनका कारण नेपाली समाज बदनाम छ। हत्या, हिंसा, बलात्कारदेखि आत्महत्यासम्मका घटनाका पछिल्तिर जातीय विभेद नै प्रमुख कारणको रूपमा देखिएका छन्। दिनहुँजसो घट्ने घटनाहरूको अन्तर्यमा अदृश्य जातीय विभेदकारी मानसिकताले नै मुख्य रूपमा काम गरेको छ। यसमा कुनै दुई मत छैन। मानसिक रूपमा गरिने विभेद कहीँ पनि देखिँदैन। किनभने यसको कुनै निश्चित लिंग र पहिचान हुँदैन।
जातका कारण कोठा नपाउने, प्रेम र विवाहको नाममा मारिनुपर्ने, समाजमा विभिन्न किसिमले जातीय छुवाछुत हुने, पढेलेखेका शिक्षितले पनि विभिन्न आशयले जातीय विभेद गर्ने जस्ता कार्य अहिले चलिरहेकै छ। तर, समाज र समाजको इतिहास नबुझेका, बुझ्न नचाहने युवाहरू भन्छन् ‘कहाँ छ जातीय विभेद?’
यससम्बन्धमा घिमिरे युवाराज भन्छन्, ‘म बाँचिरहेको समाजमा यी विषय भयानक समस्याका रूपमा चलायमान छन्। म व्यक्तिगत रूपमा वा नाट्य समूहमार्फत् सामाजिक आन्दोलनहरूमा सरिक भैरहँदा झन् महसुस भएर यी विषयलाईु समाएको हुँ।’
आजको ‘संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक नेपाल’मा पनि ‘अन्तरजातीय विवाह’ वा ‘अन्तरजातीय प्रेम सम्बन्ध’को निहुँमा समाजले नवराज विक, अजित मिजार, सेते दमाईहरूको ज्यान लिइरहेको छ ? २१औँ शताब्दीको कथित सभ्य समाजमा किन दलित समुदायका ‘सार्वभौम’ नागरिकहरू एकपछि अर्को बर्बरतापूर्ण आक्रमणको सिकार हुँदै छन् ? ६ जनाको ज्यान लिने गरी रुकुम चौरजहारीमा गत १० जेठमा भएको कहालीलाग्दो घटना मात्रै होइन त्यसयता लकडाउन अवधिमा धनुषाका शम्भु सदा, राजु सदा, सप्तरीका त्रिभुवन राम, सुकदेव खंग, सिरहा लहानका रोशन राम, मोरङ विराटनगरका राजेश ऋषिदेव, रौतहटका निरञ्जन राम, विजय राम, रूपन्देहीका अंगिरा पासी, कैलालीको जानकी नपा-९ का अरुण दासलगायत दर्जनौंको बीभत्स तरिकाले हत्या भएको छ।

विमाेक्ष नाटकका लेखक घिमिरे युवराज (दायाँ) र प्रवीण खतिवडा।
यता सहरमा दलितहरू थर ढाँटेर बस्न विवश छन्। कि सहरभित्र दलितको घर खोज्नुपरेको छ। कि क्रिश्चियन धर्मालम्बीको घर खोज्दै हिँड्नु परेको छ ।
जात बतायो भने त कोठा नै पाइँदैन, त्यसैले म अहिले बसिरहेको घरमा क्षेत्री हुँ, भनी जात ढाँटेर बसेको छु, मेरो जात थाहा पायो भने त घरबेटीले आजै कोठाबाट निकालिदिन्छन्’, सहरमा धेरै दलित युवाले यसरी भनिरहेको सुन्न पाइन्छ।
सरकारले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको छ। २०६८ साल जेठ २१ लाई ‘जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’को रूपमा मनाउने निर्णय गरेको छ। जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बनाएको छ। जसको माध्यमबाट जातीय विभेद उन्मूलन गर्न महत्त्वपूर्ण सहयोग पुग्छ। तर सहरमा घिमिरे युवराजको नाटक विमोक्षको दीप दर्नाल झैं थर फेरेर बस्नु पर्ने अवस्थाबाट पार लागेको छैन। जातीय भेदभाव र छुवाछूत अन्त्यका नाममा राज्यले कागजमा मात्रै काम गरे पनि व्यवहार र स्वभावमा परिवर्तन ल्याउन सकेको छैन।
नाटकमा विगत र वर्तमानबीचकाे द्वन्दलाई कलात्मक तरिकाले देखाइएकाे छ। वर्तमानबाट विगतमा जाँदा सुरुसुरुमा दर्शकहरू झुक्किन सक्छन्। तर बिस्तारै उनीहरूले कथाकाे मेसाे पाउनेछन्।
दुई दशकदेखि नेपाली नाट्यकर्ममा क्रियाशील घिमिरे युवराज नाटकमा अभिनय, निर्देशनका साथै लेखनमा पनि सक्रियता देखाउँ आएका छन्।
जातभन्दा माथि प्रेम हो र त्यसैमा मोक्ष प्राप्तिको चाहना राखेर उजागर गर्ने नाटक ‘विमोक्ष’ फागुन १७ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन भइरहेको छ।
परिकल्पना तथा निर्देशन प्रवीण खतिवडाको रहेको विमाेक्ष नाटक कृतिमाथि उनी भन्छन्, ‘पछिल्लो समयमा नाटककै रूपमा लेखिएको अत्यन्तै सुन्दर कृति हो।’ निर्देशकका हैसियतले नाटकमा आफूले केही पात्र, घटना र परिस्थितिलाई मोक्ष गर्न खोजेको बताउँछन् उनी । भन्छन्, ‘मोक्ष त गर्न खोजेँ तर म आफैँ आशक्ति पण्डितहरूभित्र पर्छु, जो आफैँ कहिल्यै मोक्ष हुँदैन तर मोक्ष गराउने ल्याकत भने अवश्य राख्छ।’
सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामीको अभिनयले दर्शकलाई बाँधी राख्ने छ। नाटक चैत १८ गतेसम्म मञ्चन हुनेछ।