
फ्रेन्च स्टार केलिएन एम्बाप्पे र अर्जेन्टिनी स्टार लियोनल मेसीले नयाँ कीर्तिमान बनाएका छन्। शनिबार लिग वानमा नन्टेस विरुद्धको खेलमा पिएसजीले ४-२ को जित निकाल्दा एम्बाप्पे र मेसीले समान १-१ गोल गरेसँगै उनीहरूले आ-आफ्नो व्यक्तिगत कीर्तिमान बनाएका हुन्।
एम्बाप्पे पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउन सफल हुँदा मेसीले १ हजार गोलमा आफ्नो योगदान पूरा गरे। एम्बाप्पेले उरुग्वे स्टार एडिसन काभानीले बनाएको २०० गोलको कीर्तिमानलाई पछि पार्न सफल भएका हुन्।
खेलको १२ औँ मिनेटमा गोल गरेसँगै मेसीले नयाँ कीर्तिमान बनाए। उनी सिनियर फुटबल करिअरमा १००० गोलमा आफ्नो योगदान गर्ने खेलाडी बनेका छन्। मेसीले २००३ मा सिनियर करिअरमा डेब्यु गरेयता ७०१ गोल गर्दा २९९ गोलका लागि असिस्ट गरेका छन्। उनीभन्दा पछि रहेका क्रिस्टियानो रोनाल्डोले ९१२ गोलमा आफ्नो योगदान गरेका छन्।
शनिबार राति भएको खेलमा एम्बाप्पेले इन्जुरी समयमा गोल गरेसँगै उनले २४७ खेलमा २०१ गोलको कीर्तिमान बनाएका हुन्। उनी २०१७ मा मोनाकोबाट १५९.२ मिलियन पाउन्डमा पिएसजी आएका थिए। उनले ७ वर्षमा नयाँ कीर्तिमान बनाएका हुन्। उनले जारी सिजन ३० गोल र ८ असिस्ट गरिसकेका छन्।
२४ वर्षीय एम्बाप्पेले २ विश्वकप खेलिसकेका छन्। उनी २०१८ को विश्वकपमा च्याम्पियन बन्दै गोल्डेन बुट जित्न सफल हुँदा २०२२ मा सर्वाधिक गोलकर्ता बनेका थिए। साथै उनी २०२१ मा टिमलाई नेसनल लिग च्याम्पियन बनाउन पनि सफल भएका थिए।
त्यसअघि खेलमा लियोनल मेसीले सुरुवातमा नै पिएसजीलाई अग्रता दिलाएका थिए। १२ औँ मिनेटमा नै अग्रता बनाएको पिएसजीले जावएन हाडजमले आत्मघाती गोल गर्दा १७ मिनेटमा अग्रता दोब्बर बनायो। तर पहिलो हाफमा नै बराबरी गोल फर्काउने क्रममा लुडोभिक ब्लास र इग्नाइस गनागोले गोल गर्दै पहिलो हाफमा नन्टेसलाई २-२ को अवस्थामा ल्याए।
तर दोस्रो हाफमा पिएसजीले पुन: अग्रता बनाएको थियो। एम्बाप्पेको क्रसमा डानिलोले गोल गर्दै ६० औँ मिनेटमा टिमलाई ३-२ को अग्रता दिलाए। टिमका लागि चौथो गोल इन्जुरी समयको दोस्रो मिनेटमा एम्बाप्पेले गरेका थिए। उनले पेम्बेलेको पासलाई सदुपयोग गरे।
जितसँगै लिगमा पिएसजीले २६ खेलबाट ६३ अंक बनाउँदै शीर्ष स्थानमा अग्रता फराकिलो पारेको छ। उसले एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेलीलाई ११ अंकले पछि पारेको छ।