
पहिलो लेगमा पराजयका बाबजुत चेल्सीले दोस्रो लेगमा सानदार पुनरागमन गर्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। जर्मन क्लब बोरूसिया डर्टमुन्डमाथि दोस्रो लेगमा २-० को जित निकाल्दै समग्रमा २-१ को जित हासिल गर्न चेल्सी सफल भयो।
यसअघि डर्टमुन्डको घरेलु मैदानमा चेल्सी पहिलो लेगमा १-० गोल अन्तरले पराजित भएको थियो। तर मंगलबार राति चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले अन्तिम आठको यात्रा तय गर्याे। चेल्सीलाई जिताउन पूर्व सिटी स्टार रहिम स्टर्लिङ र काई हाभर्टजले समान १-१ गोल गरे।
खेलको ४३ औँ मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए। ५० औँ मिनेटमा काई हाभर्टज पेनाल्टी चुकाए पनि ५३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा चेल्सीलाई पेनाल्टी प्रदान गरेका थिए।
दुई गोलले पछि परेको डर्टमुन्डले घरेलु टोलीमाथि बल पोसेसन राखेर दवाव बढाए पनि गोल गर्न नसक्दा पहिलो लेगमा जितका बाबजुत अन्तिम १६ बाटै बाहिरियो। जितपछि प्रमियर लिगमा खराब यात्राका बाबजुत प्रशिक्षक ग्राहम पोर्टरले केही राहत महसुस गरेका छन्।