विश्व मृगौला दिवस: समस्यामा मृगौलाका बिरामी

विश्व मृगौला दिवस: समस्यामा मृगौलाका बिरामी
+
-

दाङ- राजपुर गाउँपालिका वडा नंं १ रसरी खोला घर भएका २४ वर्षीय बलसिंह बुढा मगरका दुईवटा मृगौला फेल छन्। उपचारको लागि धेरै ठाउँ धाए पनि निको नभएपछि डायलाइसिस गराउन थालेका छन्।

तर डायलाइसिस गराउन अस्पताल पुग्न चाहिने खर्च समेत छैन। जसले गर्दा उनकी श्रीमती रामसरी मागेर खर्च जुटाउने अवस्थामा पुगेकी छिन्। हप्तामा दुई पटक डायलाइसिस गराउँदै आएका बुढा मगरले अब हप्तामा तीन पटक डायलाइसिस गराउनुपर्ने भएको छ।

स्वास्थ्यमा समस्या आएपछि डायलाइसिस गराउने समय समेत बढेको छ। तर डायलाइसिससँगै खानुपर्ने औषधी, लगाउनुपर्ने सुई र चढाउनुपर्ने रगत जुटाउने पैसा नहुँदा समस्या परेको छ।

 

‘म काम गरेर घर चलाउँथेँ, परिवार पाल्थेँ। अहिले म आफैं बिरामी भएर थलिएँ। मेरा तीनवटी छोरी छन्। उनीहरूको खर्च कसरी धान्नु?’, पीडा सुनाउँदै उनले भने, ‘९ महिना भयो डायलाइसिस गर्न थालेको। अहिले डेरा लिएर उपचार गराउँदै छौँ। डेरा भाडा तिर्ने पैसा छैन, खाने खर्च छैन।’

बलसिंहले लमहीस्थित सामुदायिक डायलाइसिस सेन्टरमा उपचार गराउँदै आएका छन्। सरकारले डायलाइसिस निःशुल्क भने पनि अस्पताललाई पैसा नतिर्दा बिरामीलाई मानसिक पीडा थपिएको छ।

‘सरकारले पनि निःशुल्क नगर्ने हल्लाले तनाव थपेको छ। अब उपचार नपाई मरिन्छ कि भन्ने डर छ’, उनले भने, ‘हप्तामा पाँच हजार खर्च लाग्छ। तर त्यो कसरी पुर्‍याउने? मागेको पैसाले रिक्सा भाडा पुग्दैन।’

बुढा मगरको स्वास्थ्य ठिकै थियो। तर उच्च रक्तचापका कारण मृगौलामा असर गर्‍याे। उपचारबाट पनि निको नभएपछि नियमति डायलाइसिस गर्नुपरेको छ।

घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुर निवासी गोपीराज चौधरीकी २२ वर्षीया छोरी प्रतिमाको कलिलै उमेरमा मृगौला बिग्रियो। ह्रृष्टपुष्ट शरीर थियो, बिस्तारै दुब्लाउँदै गइन्। हात, खुट्टा सुन्निन थाल्यो। त्यसपछि उपचार गराउन अस्पताल पुग्दा मृगौला बिग्रिएको जानकारी आयो। अस्पताल पुग्दा आधाजति मृगाैला बिग्रिएको थियो। उपचारले रिकभर हुन सकेन। जसले गर्दा विगत पाँच वर्षदेखि नियमित डायलाइसिस गरिरहनु परेको छ।

‘उपचारको लागि धेरै अस्पताल धाइयो। लाखौँ रकम सकियो। निको भएन’, चौधरीले भने, ‘अहिले पनि उपचार गराउन आउन जान खर्च लाग्छ। नियमित खानुपर्ने औषधी किन्नसमेत गाह्रो भएको छ।’

प्रतिमा चाैधरी।

कम्तीमा एउटा बिरामीको हप्तामा पाँच हजार रुपैयाँ खर्च हुने गरेको छ। मुख्य समस्या यातायातको हो। सम्पन्न घर परिवारले गाडी नै रिजर्भ गरेर आउने जाने गर्छन्। तर गरिब विपन्न परिवारका बिरामीलाई डायलाइसिस केन्द्रसम्म आउनै समस्या छ।

‘मृगौला ठिक हुँदैन। डायलाइसिस गरेर बचाउनु परेको छ’, उनले भने, ‘मृगौलाको बिरामी ढुक्क हुने अवस्था छैन। सरकारले गर्ने सहयोग हामी कहाँ आइपुग्दैन।’

मीनबहादुर रानाको प्युठान सरुमारानी गाउँपालिका-१ मा घर पर्छ। उनकी ७५ वर्षीया आमा अमृतादेवी रानाको दुवै मृगौलाले काम गर्न छोडेको दुई वर्ष भयो। मुटुसम्बन्धी समस्या थियो। पछि मृगौलाको समस्या भयो। हप्तामा दुई दिन आइतबार र बुधबार डायलाइसिस गर्नुपर्छ। घरबाट अस्पताल आउन जान र औषधी गरेर हप्तामा पाँच हजार जति खर्च हुन्छ। यही खर्च जुटाउन हम्मेहम्मे परेको छ।

‘कुन बेला के हुन्छ थाहै हुँदैन, मृगौलाको ब्यथा नै यस्तो रहेछ’, उनले भने, ‘सास फेर्नै समस्या परेर बुटवल दगुराउनुपर्छ।’

अमृतादेवी राना। तस्बिर: दशरथ घिमिरे।

सरकारले डायलाइसिस खर्च रोकेको खण्डमा उपचार अगाडि बढाउन समस्या पर्ने बुझाइ उनको छ। ‘एक/दुई पटक जसरी तसरी गरिएला, पछि त सकिँदैन होला’, उनले भने, ‘उपचार गराउँदा भएको सम्पत्ति पनि सकिने, मान्छे पनि सकिने अवस्था आउन थाल्यो।’

तुलसीपुर उपमहानगरपालिका- १७ वनकट्टा निवासी हुमा सार्कीका श्रीमान दिपक सार्कीले मृगौला डायलाइसिस गराउँदै आएका छन्। घरको मुली मान्छे नै रोगले च्यापेर ढलेपछि परिवारको खर्च टार्न गाह्राे भएकाे छ। घरको आर्थिक अवस्था कमजोर छ।

सरकारले डायलाइसिस मात्रै नभएर बिरामीलाई अस्पताल आउन र अस्पतालमा लाग्ने अन्य खर्चको व्यवस्था गर्नसमेत सकेमा सहज हुने भनाइ उनको छ।

पछिल्लो समय मृगौलाका बिरामीको संख्या बढ्दै गएको छ। सामुदायिक डायलाइसिस सेन्टर लमहीमा ६५ जना बिरामीले नियमित डायलाइसिस गराउँदै आएका छन्।उच्च रक्तचाप र मधुमेहका कारण मृगौला खराब हुने बिरामीको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।

जिल्लाको तीन स्थानमा मृगौलाको डायलाइसिस हुँदै आएको छ। तर मृगौला रोगको पहिचान र उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। रोग पत्ता लागेपछि गरिने रोकथामको लागि डायलाइसिस सेवा तुलसीपुर प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र सामुदायिक डायलाइसिस सेन्टर लमहीमा उपलब्ध छ।

नयाँ बिरामी भर्ना लिन छाडियो

नेपाल सरकारले डायलाइसिस गरेवापत दिनुपर्ने भुक्तानी नदिएपछि लमहीको सामुदायिक डायलाइसिस सेन्टरमा नयाँ बिरामी भर्ना रोकिएको छ। फागुन १५ गतेबाट निःशुल्क सेवा रोक्ने निर्णय गरिएको भए पनि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीको पत्रले सेवा नरोक्ने अवस्थामा पुगेको थियो। तर नयाँ बिरामी भर्ना रोकिएको डायलाइसिस सेन्टर प्रशासनले जनाएको छ।

लमहीस्थित सामुदायिक डायलाइसिस सेन्टर। तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

सरकारले एकजना बिरामीको एक पटक डायलाइसिस गरे वापत दुई हजार पाँच सय अस्पताललाई उपलब्ध गराउने सम्झौता भएको थियो। तर त्यो सम्झौताअनुसार गत साउन महिनाबाट एक रुपैयाँ पनि प्राप्त भएको छैन। जसले गर्दा निःशुल्क सेवा दिन नसक्ने अवस्थामा पुगेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले जनाएको छ।

आज विश्व मृगौला दिवस, मृगौला सुरक्षामा ध्यान दिन आग्रह

विश्व मृगौला दिवसको अवसरमा मृगौला सुरक्षाको बारेमा सचेत गराइने भएको छ। आज विश्व मृगौला दिवसको अवसरमा सामुदायिक डायलाइसिस सेन्टर लमहीले सचेतना मूलक कार्यक्रमको आयोजना गर्ने भएको छ। मृगौलाका बिरामीको संख्या बढ्दै जाँदा सचेतनाको समेत अभाव रहेको गौतमबुद्ध सामुदायिक अस्पतालबाट सञ्चालित सामुदायिक डायलाइसिस सेन्टरमा कार्यरत डाक्टर अब्दुस सवुत खानले बताए।

डाक्टर अब्दुस सवुत खान। तस्बिर: दशरथ घिमिरे/देश सञ्चार

‘उच्च रक्तचाप र मधुमेहका कारण मृगौला बिरामीको संख्या बढ्दो छ। यसका अतिरिक्त वंशाणुगतले गर्दा साना बालबालिकाको पनि मृगौला फेल हुने अवस्था छ’, उनले भने, ‘यसबाट जोगिन नियमित स्वास्थ्य जाँच अपरिहार्य छ। अर्को कुरा हाम्रो खानपान र जीवनशैलीलाई परिवर्तन गर्नै पर्छ। विलासिताको जीवनले पनि मृगौला बिग्रिन थाल्यो।’

मृगौला जोगाउन सचेतनाको आवश्यकता रहेको उनको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष