‘नेपालमा स्टारले फिल्म चल्नेवेला भइसकेको छैन, बरू स्क्रिप्टलाई स्टार बनाउन सकिन्छ’

‘नेपालमा स्टारले फिल्म चल्नेवेला भइसकेको छैन, बरू स्क्रिप्टलाई स्टार बनाउन सकिन्छ’
+
-

काठमाडौँ – अभिनेता अनमोल केसी अभिनित ‘२.० छड्के’ बक्स अफिसमा असफल भएसँगै फिल्मवृत्तमा फेरि बहस जन्मिएको छ- स्टारले मात्रै फिल्म चल्दैन।

प्रदर्शनमा आएको छैटौँ दिनमै हलबाट उत्रिएको २.० छड्केले बक्स अफिसमा राम्रो व्यापार नगरेपछि अभिनेता अनमोल केसी यसमा आफू चुकेकोसमेत स्वीकार गर्छन्। उनले भनेका छन्, ‘ नवौँ फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा उल्टो चुक्न पुगेँ।’

अभिनय कमजोर गर्छन् भन्ने आरोप खेप्दै आएका अनमोलले दर्शकलाई नवौँ फिल्ममा पुग्दा निराश बनाए। लुक्सका कारण युवापुस्ता माझ लोकप्रिय अभिनेतामा स्थापित हुन सकेका थिए। तर ग्याङफाइटमा आधारित २.० छड्केजस्तो फिल्ममा गरेको अभिनयलाई दर्शकले रुचाइदिएनन्।

छड्केबाट आफ्नो कामको तारिफ बटुलेका निगम श्रेष्ठले निर्देशन गरेको फिल्म २.० छड्के असफल हुनुको कारण कमजोर स्क्रिप्ट र कास्टिङमा चुकेको बताउँछन् हल सञ्चालक तथा वितरक गोपाल कायस्थ।

‘लभ स्टोरी फिल्ममार्फत् सधैँ आफ्नो स्टाडम कायम राख्न सफल नायक अनमोललाई ग्याङ्स्टार लुक्समा दर्शकले रुचाएनन्’, उनले भने, ‘ग्याङ्फाइटमा आधारित फिल्ममा अनमोललाई कास्टिङ गर्नु नै गलत भयो।’

प्रायः चलचित्र वितरकले स्टार हेरेर अग्रिम पैसा लगानी गर्थे। २.० छड्केका लागि १ करोड ६० लाख लगानी गरेको वितरक गोपाल कायस्थ बताउँछन्। उनी भन्छन्, ‘स्टारले पनि फिल्म चल्दो रहेनछ भन्ने यसपालि थाहा भयो।’

चलचित्र निर्देशक मनोज पण्डितकाअनुसार स्क्रिप्ट नै कमजोर भएका कारण फिल्म चल्दैनन्। ‘स्टारले फिल्म चल्ने समय अझै आएको छैन, स्टारले फिल्म चल्ने भए राजेश हमालका फिल्म सबै चल्नुपर्थ्यो। अनुमोलको छड्के-२ चल्नुपर्थ्यो’, उनी भन्छन्, ‘नेपाली सिनेमाको स्टार भनेकै स्क्रिप्ट हो जहाँ मेकर लगानी गर्न पनि हिच्किचाउँछन्।’

‘हलिउडले बनाएको फिल्मलाई संसारले हेरेर राहत लिन सक्छ तर नेपाली फिल्म हेरेर लिन सक्दैन। किनभने हाम्रा स्क्रिप्टमै समस्या छन्’, उनले थपे।

दर्शक फलानो हिरोको फिल्म चल्छ भन्ने मानसिकताबाट मेकर वितरक कुदिरहेका छन् तर स्क्रिप्टमा समय र पैसा लगानी गरेर राम्रो फिल्म बनाउन सोच्दैनन्। ‘मनोरञ्जनबिनाको सिनेमाले दर्शकलाई राहत दिन सक्दैन’, निर्देशक पण्डित भन्छन्, ‘तनाव कम गर्न सिनेमा हेर्न जानेहरू उल्टो कुर्चीमा बस्न धैर्यता राख्न सक्दैनन्, किनभने नेपाली सिनेमा र दर्शकबीच कनेक्ट गर्न सक्ने कथामा गतिशीलता छैन।’

अभिनेता विपिन कार्कीकाअनुसार पनि स्क्रिप्ट नै स्टार हो। उनकाअनुसार स्क्रिप्ट नै बलियो हुनुपर्छ। ‘स्क्रिप्ट नै कमजोर भयो भने स्टारडमले मात्रै अभिनय गरेर पुग्दैन’, अभिनेता कार्की भन्छन्, ‘स्क्रिप्ट नै छेउटुप्पा मिलेको छैन भने एक्टरले जतिसुकै राम्रो काम गर्दा पनि त्योभन्दा माथि जाँदैछ। टिम बुझेर मात्र स्क्रिप्ट छनोट गर्नुपर्छ। मिलेको स्क्रिप्ट चाहिने रहेछ।’

फिल्म निर्माणपूर्व ‘छड्के २’ निर्माताले विपिनलाई पनि फिल्मको अफर गरेका थिए तर उनले अस्वीकार गरिदिए। उनले त्यतिबेला फिल्म किन खेलेनन् भन्ने कुरा त खुलाएनन्, उनलाई फिल्म प्रस्ताव गरिएको तर अस्वीकार गरेको निर्माताले बताइसकेका छन्।

उनले कलाकारले पनि दर्शक भएर स्क्रिप्ट पढ्नुपर्ने सुझाव दिए। ‘दर्शक भएर स्क्रिप्ट पढ्नुपर्छ। पढ्दा मन छोयो कि छोएन? मज्जा आयो कि आएन भन्ने कुरा बुझ्नुपर्छ,’ उनले भने।

कामको कुरा गर्दाको विपिन अभिनित ‘फूलबारी’ एक महिनाभन्दा बढी समयदेखि हलमा चलिरहेको छ भने ‘प्रसाद २’ चैत २४ गतेको रिलिज तयारीमा छ। चैत ४ गतेदेखि उनको शीर्ष भूमिका रहेको फिल्म ‘भष्मे डन’को छायांकन सुरु हुँदैछ भने वैशाखदेखि ‘चलचित्र’ छायांकन हुनेछ।

चलचित्र समीक्षक अनुप सुवेदी नेपालका कुनै पनि जनराका फिल्म नचल्नुको पछाडि स्क्रिप्ट नै कमजोर मान्छन्। उनकाअनुसार आफ्नो कथालाई इमान्दारपूवर्क भन्न नसक्नु हो।

‘हामीले कथालाई सही न्यारेट गर्न सकिरहेका छैनौँ। हाम्रो फिल्मका पात्र र चरित्र कमजोर छन्’, समीक्षक सुवेदीले भने।

अर्का फिल्म समीक्षक अनुभव अजितका अनुसार नेपाली सिनेमाबजार संकुचित छ। निश्चित जाति, समुदाय र वर्गलाई मात्रै हेरेर स्क्रिप्ट तयार पारिन्छ, जसका कारण सोचजस्तो व्यापार गर्न सक्दैन।

‘प्राविधिक हिसाबले पहिलेको तुलनामा केही फड्को मारे पनि स्क्रिप्टमा अझै कमजोर छ’, अनुभव भन्छन्, ‘सिनेमाको स्क्रिप्ट बलियो त चाहियो नै साथै त्यही अनुसारको मेकिङ र प्रचारप्रसार। हामी त केवल स्टार भनेर कुदिरहेका छौँ। तर नेपालमा स्टारका कारण फिल्म चल्ने माहोल छ जस्तो लाग्दैन।’

नेपालमा अझै फलानो त स्टार हो भनेर देखाउन सकिँदैन। बरु, नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनका साथै व्यावसायिक सफलता हासिल गर्नछ भने स्क्रिप्टलाई नै स्टार बनाउन कोसिस गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘नेपालमा स्टारले फिल्म चल्ने बेला भइसकेको छैन, बरु स्क्रिप्टलाई स्टार बनाउन सकिन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?