
काठमाडौं- माइती इन्डिया, लभ नेपाल, लभ एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्धार गरिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुबईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए।
उक्त मानव तस्कर गिरोहमा ३२ वर्षीय दीपक मगर, ३० वर्षीय मौसम, ३५ वर्षीय पाकिस्तानी नागरिक समीर, मीना डोल्मालगायतको संलग्नता रहेको पीडितले बताएकी छन्।
कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन्। उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करले उनलाई प्रलोभनमा पारी दुबई पुर्याएर बिक्री गरेको खुल्न आएको हो।
उनलाई मानव तस्कर गिरोहले माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुवई पुर्याएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेकोसमेत खुल्न आएको छ । दुवईमा बेचिएकी उनलाई पटक–पटक यौन शोषण गरिएको र मानसिक तनाव दिएका कारण उनले आफूले काम गर्न नसक्ने बताएपछि आफू बेचिएको थाहा पाएकी थिइन्। उनलाई नेपाली रुपौयाँ पाँच लाख चार हजारमा बेचिएको र उक्त पैसा नदिएसम्म नेपाल फर्कन नसक्ने भन्दै काम लगाउने मालिकले बताएको उनले भनिन्।
लगत्तै घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथन र जोन अबलेन लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्धारका लागि अनुरोध गरेका थिए। सोहीबमोजिम बालकृष्ण र पूजाको संयु्क्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान ब्यूरोको आवश्यक समन्वयमा उनको उद्धार गरिएको हो।
‘हामी आफैँ दुबई पुगेर उनको उद्धार गरेका हौं । यसमा दुबईस्थित नेपाली दूतावास, नेपाली जनसम्पर्क समिति युएई, एनआरएन युएईलगायतको महत्त्वपूर्ण सहयोग रह्यो । अहिले पीडितको अवस्था एकदम नाजुक छ । उनको स्वास्थ्य उपचार चलिरहेको छ,’ समाज सेवी बालकृष्ण पाण्डले भने ।
उद्धारकर्ताको निवेदनमा अहिले मानव बेचविखन तथा अनुसन्धान ब्यूरोले अनुसन्धान थालिसकेको छ ।
स्वीडेन नागरिक जोनाथन र जोन अबलेनले उनको शिक्षा कक्षा १ देखि नै सहयोग गर्दै आएका थिए । उनी बेचिएको थाहा पाएपछि जोनाथन आफैं पनि दुवई पुगेर उद्धारमा लागिपरेको समाजसेवी लभ नेपालमा अध्यक्ष पाण्डेले बताएका छन् ।