
पोखरा – बलियो नेपाल कप यू–१९ किक्रेट प्रतियोगिता हुने भएको छ। बलियो नेपाल पोषण अभियानको आयोजनामा बुधबारदेखि पोखरा रंगशालामा प्रतियोगिता हुँदैछ।
लिग कम नकआउटको आधारमा टि–२० फर्म्याटको प्रतिस्पर्धामा ६ समूहले प्रतिस्पर्धा गर्ने बलियो नेपाल पोषण अभियानको वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलले जानकारी दिए। उनका अनुसार इलाम, कर्णाली, स्टार, जनकपुर र पोखरा क्रिकेट एकेडेमीसँगै पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन खेलमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र कर्णाली क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्। चैत २७ गते फाइनल हुनेछ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उविजेताले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन्। इमर्जिङ प्लेयरले ५ हजार रुपैयाँ, बेस्ट बलर र बेस्ट ब्याट्समेनले ७/७ हजार रुपैयाँ र प्लेयर अफ दि सिरिजले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। हरेक खेलमा म्यान अफ दी म्याचले २ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन्।
ग्रास किक्रेटको विकास गर्नलाई प्रतियोगिता आयोजना गरेको छुम्बी लामाले बताए। ‘केही वर्षपछि टेस्ट नेशन खेल्छ भन्ने उद्देश्य छ। बलियो नेपालले खेलाडीहरु उत्पादन गर्दैछौँ’, उनले भने।
यो तेस्रो संस्करणको प्रतियोगिता हो। अघिल्लो वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागितामा पहिलो संस्करण भएको थियो। दोस्रो संस्करण यही वर्षको असारमा काठामाडौँमा भएको थियो। दोस्रो संस्करणमा पाँच प्रदेशका टिमले प्रतिस्पर्धा गरेका थिए।