
काठमाडौँ- कलाकार दीपकराज गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति व्यंग्यबाण गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।
गिरीले आफु फुर्सदिलो बनेको बताउँदै रवि लामिछाने विरुद्ध मुद्दा हाल्दिउँ कि क्या हो भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन्।
उनले लेखेका छन्, ‘अलिकति फुर्सद पनि भो, के गर्ने होला? एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रवि लामिछानेलाई’।
सामाजिक सञ्जालमा उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै उनको चर्को विरोधसमेत भइरहेको छ। गिरीका फ्यान कतिपयले भने उनको बचाउ गर्दै रवि लामिछाने एकजना मात्रै हुन्छन् र भन्दै कमेन्ट गरेका छन्।
लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको स्वीकार गरे पनि महान्यायाधिक्ता कार्यालयको उनीमाथि मुद्दा नचलाउने निर्णय विरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका छन्। सो रिटमा सर्वोच्चले बुधबार कारण देखाउन आदेश जारी गरेको छ।
केही समयअघि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरानका मेयर हर्कराज साम्पाङबीच चलेको घोचपेच र व्यंग्यबारे बोलेर पनि दीपकराज गिरी विवादमा तानिएका थिए।कलाकार गिरीले फेसबुकमा ‘लठ्ठी टेक्ने हो, आपत पर्दा बजाउने पनि हो। लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ?’ लेखेका थिए।