
पोखरा- पोखरामा सुरु भएको बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन्।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टरलाई १० रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३४ रन बनाउन सफल भयो । कर्णालीका विराटसिंह भण्डारीले सर्वाधिक ५९ रन बनाए ।
१३५ रनको विजयी लक्ष्य पछ्याएको पल्सरले १९.५ ओभरमा १ सय २४ रनमा अल आउट भयो । पल्सरका सन्दीप विष्टले ४४ बलमा ३ चौकासहित सर्वाधिक ३७ रन बनाउन सफल भए ।
दोस्रो खेलमा घरेलु मैदानमा पोखरा क्रिकेट एकेडेमीले जनकपुर क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गरेको छ । जितको लागि १०२ रनको लक्ष्य पछ्याएको पोखराले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पोखराका लागि सिब्रिन श्रेष्ठले २७ रन बनाए ।
टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा १०१ रनमा अल आउट भएको थियो । जनकपुरका लागि रोशन कुमार यादवले सर्वाधिक २५ रन बनाए ।
लिग कम नकआउटको आधारमा टि–२० फर्मयाटमा खेलाइएको प्रतियोगितामा ६ समूह सहभागी छन् । इलाम, कर्णाली, स्टार, जनकपुर र पोखरा क्रिकेट एकेडेमीसँगै पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर सहभागी छन् ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन । रेक खेलमा म्यान अफ दि म्याचले २५ सय रुपैयाँ पाउनेछन् । इमर्जिङ प्लेयरले ५ हजार रुपैयाँ, उत्कृष्ट बलर र ब्याटरले समान ७ हजार तथा प्लेयर अफ दि सिरीजले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विहीबार पहिलो खेलमा इलामसँग कर्णालीले प्रतिस्पर्धा गर्नेछ । स्टारले पोखरासँग आमनेसामने हुनेछ ।
बलियो नेपाल पोषण अभियानले आयोजना गरेको तेस्रो संस्करणको बलियो कप यू–१९ किक्रेट प्रतियोगिताको फाइनल चैत २७ गते हुनेछ ।