
पोखरा- हेली एभरेस्टको हेलिकोप्टर धौलागिरि आधार शिविरमा ल्यान्ड गर्ने बेलामा चिप्लिएर दुर्घटना भएको खुलेको छ।
आइतबार बिहान ११ बजेर ३ मिनेटमा इटालियन आधार शिविरबाट ट्रेकिङका सामान लिएर हेली एभरेस्टको ९ एन एएनबी कलसाइनको हेलिकोप्टर धौलागिरि आधार शिविरतर्फ उडेको थियो ।
हेलिकोप्टर सम्पर्कविहीन भएपछि उद्धारका लागि एयर डायनेष्टीको हेलिकप्टर पठाइएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार विमान पाइलट प्रिया अधिकारीले उडाएकी थिइन् ।
शनिबार नै पोखराबाट इटालियन आधार शिविरतर्फ उडेको थियो । आइतबार धौलागिरि आधार शिविरमा ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको गौतमले बताए ।
‘ल्यान्ड गर्ने बेलामा चिप्लियो भन्ने कुरा छ । त्यसको डिटेल पछि आउला’, उनले भने ।
उनले दुर्घटनाग्रस्त हेलिकोप्टरको फोटोसमेत प्राप्त नभएको बताए ।
पाइलट अधिकारीलको दाहिने खुट्टामा सामान्य चोट लागेको उनले जानकारी दिए । पाइलट अधिकारीको उद्धार गरेर पोखरा हुँदै काठमाडौं पठाइएको छ ।