
पोखरा- पोखरामा माघ दोस्रो साता भएको टाइगर कपले साढे ५ लाख रुपैयाँ बचत गरेको छ।
टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको तेस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट ५ लाख ५१ हजार ९४१ रुपैयाँ बचत गरेको हो।
प्रतियोगिताबाट ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार भलिबल खेल हेर्न आएका दर्शकले काटेको टिकटबाट मात्रै १६ लाख ७५ हजार रुपैयाँ ५०० रुपैयाँ आम्दानी भएको छ।
८५ लाख १५ हजार ११४ रुपैयाँ प्रतियोगिता सञ्चालनको दौरानमा खर्च भएको उनले बताए। ‘थोरै भए पनि बचत भएको रकम विशुद्ध सामाजिक र खेलकुद क्षेत्रमा सहयोग गर्नेछौँ’, शर्माले भने।
खेलाडी प्रवर्द्धन गर्न तत्पर रहेको उनको भनाइ छ।
गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले गण्डकी प्रदेशलाई खेलकुद राजधानीको सट्टा गन्तव्य बनाउनुपर्ने बताए। ‘राजनीतिक खिचातानीले हुन सकिरहेको छैन’, उनले भने।
खेलकुद मैदानसँगै पूर्वाधार निर्माणमा राज्यको चासो हुनुपर्ने उनको भनाइ छ।
माघ ८ देखि १४ गतेसम्म पोखरा रंगशालाको भलिबल मैदानमा प्रतियोगिता भएको थियो।
पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश र श्रीलंकाको एसटी जोसेफ वाज स्पोर्ट्स क्लब सहभागी थिए। उपाधि होडमा एपिएफलाई पराजित गर्दै गण्डकी प्रदेश च्याम्पियन बनेको थियो।
महिलातर्फ ४ टिमको सहभागिता थियो। विभागीय टिम सशस्त्र प्रहरी बलको एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र न्यु डायमण्ड स्पोर्ट्स क्लब सहभागी थिए। फाइनलमा आर्मीलाई हराउँदै उपाधि एपिएफले कब्जा गरेको थियो।