किन भत्काइँदैछ तालबाराही मन्दिर?

किन भत्काइँदैछ तालबाराही मन्दिर?
+
-

पोखरा – पोखरेली पर्यटनको पर्यायवाची फेवाताल। विशाल फेवातालबीच आश्चर्यलाग्दो थुम्कामा तालबाराही मन्दिर। पोखरा घुम्न आएका अधिकांश डुंगा शयर गर्दै तालबाराही मन्दिर पुग्छन्। प्यागोडाशैलीको त्यही तालबाराही मन्दिरलाई यतिबेला धमाधम भत्काइँदैछ।

तालबाराही पुगेका भक्तजनले अहिले दुई तले पुरानो मन्दिरको अवशेष मात्रै दर्शन गर्न पाउँछन्। त्यहाँको मुर्ति सानो मन्दिरमा सारेर दर्शनार्थीलाई पूजा अर्चना गर्ने व्यवस्था मिलाइएको छ।

मन्दिर पुग्ने धेरैको जिज्ञासा हुन सक्छ किन भत्काइयो मूल मन्दिर? भुकम्पको धक्काले चर्काएको मन्दिरलाई पुनःनिर्माण गर्न भत्काइएको हो।
भुकम्पले चर्काएको ७ वर्षपछि बल्ल पुनःनिर्माणको तारतम्य मिलेको छ। भुकम्पअगाबै पनि मन्दिरको दक्षिणतर्फ रहेको आँपको बोट सुक्दा त्यसको जराको असरले मन्दिर चर्किनुको साथै तीन इन्च ढल्किएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुवँर बताउँछन्।

‘विभिन्न चरणमा पुरातत्व विभाग, गुठी संस्थानका इन्जिनियरहरु ल्याएर देखायौँ। मिलाउने कुरा मिलाउने भन्ने भइरहेको थियो’, उनी भन्छन्, ‘माटो कम भा’को ठाउँ यो। जमिनै कम भा’को ठाउँमा जिर्ण भइसकेको अवस्थामा सानोतिनो भुकम्पको धक्काले पनि लथालिंगै पार्ने अवस्था भएकाले पुननिर्माण गर्नैपर्छ भनेर सुरु गर्‍यौँ।’

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुरातत्व विभाग र गुठी संस्थानसँग सहकार्य गरेर मन्दिरको जिर्णोदार सुरु गरेको हो। इन्जिनियर, पुरातत्वविद्को अनुगमन, भौगोलिक अवस्था अध्ययनपछि पुनःनिर्माण सुरु गरिएको कुवँरले बताए।

मन्दिरको पुनःनिर्माण सुरू गर्नुअघि चैत १७ गतेदेखि दुई दिनसम्म क्षमापूजा गरेर मन्दिर भत्काउन थालिएको छ। अबको १० महिनामा पुनःनिर्माण सक्ने लक्ष्य रहेको अध्यक्ष कुवँरले जानकारी दिए।

मन्दिरका पुराना पुरातात्विक महत्वसँग जोडिएका सामग्री प्रयोग गर्ने सर्तसहित पुनःनिर्माणमा एक करोड ४४ लाख रुपैयाँ खर्च हुने लागत अनुमान गरिएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष परशुराम पहारीले बताए। उनका अनुसार पुरातत्व विभागले २५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ। गुठी संस्थानले पनि बजेट दिने आश्वासन भने दिएको छ।

मन्दिर गुठी व्यवस्थापन समितिसँग पनि बजेट नहुँदा रकम अपुग भएको छ। मन्दिर दर्शन गर्न आउने दर्शनार्थीसँग दैनिक सहयोग उठाउन थालेको पहारीले बताए। ‘सहयोग उठाउन थालेपछि भक्तजनले झन्डै ७५ लाख रुपैयाँ मन्दिर पुनःनिर्माणमा दान गर्नुभएको छ’, उनले भने। तीनै तहका सरकारसँग बजेट माग्ने उनले बताए।

मन्दिर भत्काउने क्रममा निकालिएका काठपात पुरातत्व विभागबाट खटिएका कर्मचारीले ‘नम्बरिङ’सँगै मुचुल्का उठाएर सुरक्षित राखिएको छ। तिनै काठपातको प्रयोगले मन्दिर पुननिर्माण गर्न १ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको हो। तर, ती काठपात काम नलाग्ने गरेर कुहिएकाले लागत बढ्ने तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सचिव धुर्वराज बरालले बताए।

‘पुरातत्व विभागले स्टेमेट गरेर दिएको लागत बढ्ने पक्का छ। किन भन्दा हामीले जति सोचेका थियौं काठपात पुनः प्रयोग हुन्छन् भनेर, त्यस्तो नरहेछ’, उनले भने, ‘टुँडाल मात्रै हल्का प्रयोग गर्न मिल्ने देखियो। भत्काउदाखेरी भित्री काठ कुनै पनि प्रयोग गर्न नमिल्ने छन्।’

मन्दिरको पुननिर्माण थालेसँगै बृहत् गुरुयोजना बनाउन इञ्जिनियर डा. भरतराज पहरीको संयोजकत्वमा ७ सदस्यीय इञ्जिनियहरुको समिति नै बनाइएको छ। पटकपटक भत्काउने, बनाउनुभन्दा गुरुयोजनाअनुसार काम गर्ने बताइएको छ। गुरुयोजना बनाएर तालबाराही मन्दिरलाई अझ आकर्षक बनाउन झन्डै १५ करोड लागत लाग्ने अनुमान गरिएको छ।

आस्थाको धरोहरको रुपमा रहेको तालबारही मन्दिर विक्रम संवत १४४७ सालमा निर्माण भएको विभिन्न अभिलेखमा उल्लेख छ। भत्काउँदै गरेको प्यागोडा शैलीको मन्दिर भने २०१७ सालमा निर्माण गरिएको जानकारहरु बताउँछन्।

राजा महेन्द्र पोखरा आएको बेला जिर्णोदार गर्न पहल गरेपछि प्यागोडा शैलीमा दुई तले मन्दिर बनाइएको थियो। त्योभन्दा पहिले खरले छाएको सानो मन्दिर थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?