
पोखरा- पोखराको रत्नचोकमा रहेको साथी किसान कृषि सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता दिन अझै आनाकानी गरेको छ। बचतकर्ताको पैसा फिर्ता गर्न कबुल गरेको ३ महिने म्याद सकिँदासमेत सहकारीले आनाकानी गर्न छाडेको छैन।
सहकारी सुरक्षित ठानेर राखेको रकम दु:ख पर्दा झिक्न नपाएपछि बचतकर्ताले पुस अन्तिममा पोखरा महानगरपालिकाको सहकारी शाखालाई गुहारेका थिए। महानगरको सहकारी शाखाले सञ्चालक समिति र बचतकर्ताबीच चैत २८ गतेभित्र बचत रकम फिर्ता गर्ने सहमति गराएको थियो।
सहकारीले फेरि पनि पूरानै सञ्चालक समितिलाई देखाएर रकम फिर्ता गर्नबाट पन्छिन खोजिरहेको छ। बचत फिर्ता माग्दा सहकारी सञ्चालक समितिले बचतकर्तालाई जवाफ दिन्छ- घरघडेरी बेचेर तिर्न सक्दैनौँ। हामी प्रक्रियामै छौँ।
‘उहाँहरूले ३ महिनाको टाइम दिनुभाथ्यो। चैत २८ गते कटिसक्यो’, बचतकर्ता रस्मिता बरालले भनिन्, ‘अहिले कसैले पनि फोन उठाउनुहुन्न। रेस्पोन्स पनि गर्नहुन्न।’
पूरानो समितिलाई देखाएर पन्छिने गरेको उनको भनाइ छ। लेकसाइडमा व्यापार गर्ने उनले छोरीको जीवन बीमाको प्रिमियम रकम तिर्नलाई दैनिक बचत गरेकी थिइन्। अहिले आवश्यक परेको बेला आफ्नै बचत रकम पाउन मुस्किल परेको छ।
विरौटाको खाजा पसलको व्यापारबाट भोजबहादुर गुरुङले २ लाख २० हजार रुपैयाँ साथी किसान कृषि सहकारीमा जम्मा गरे। गुरुङले सहकारीमा कार्यरत बजार प्रतिनिधिलाई चिनेकै आधारमा बचत गर्न थालेको थिए।
६ महिनादेखि धाउँदा पनि फिर्ता नपाएको उनले गुनासो गरे। ‘भाका फेरिरहन्छन्। हामीलाई पूरानो समितिले फसाए, हिसाबै दिएनन् मात्रै भन्छन्। पैसा फिर्ता गर्ने छाँटै छैन’, गुरुङले भने।
आफ्नै पैसा फिर्ता नपाएपछि निकै समस्या परेको उनले सुनाए। ‘व्यापार पनि छैन यतिखेर। सामान ल्याएको ठाउँमा तिर्न सकेको छैन’, उनले भने। व्यक्तिभन्दा सुरक्षित ठानेको सहकारीले डुबाएको उनी बताउँछन्।
आइतबार सहकारीका सञ्चालक समिति र बचतकर्ताबीच छलफल हुँदा बैशाख १२ गतेसम्म रकम फिर्ता गर्ने नयाँ सहमति भएको छ।
बजारमा फसेको रकम नउठ्दा बचत फिर्ता गर्न ढिलाइ भएको सहकारीका उपाध्यक्ष चेतबहादुर हमालले बताए।
‘बजारबाट उठाउन कोसिस गरिरहेका छौँ। चेक उठेको छ, क्यास उठेको छैन। त्यसैले समस्या भएको छ’, उनले भने।
आर्थिक मन्दीको कारण देखाउदै उठ्नपर्ने पैसा नउठेको उनले बताए। ‘हप्तादिनभित्र जति उठ्छ त्यति रकम बचतकर्तालाई फिर्ता दिन्छौँ’, उनले भने।
स्वास्थ्यमन्त्री बन्नलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे २ करोड रुपैयाँ मागेको अडियो संवाद सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कासनमा परेका सांसद ढाकाकुमार श्रेष्ठ सहकारीको पूर्वअध्यक्ष हुन्।
ढाकाकुमारले आफू राजनीतिमा लागेको भन्दै सहकारीको अध्यक्ष पद कात्तिकदेखि छाडेका थिए। अहिले डा. शनि पाठक सहकारीको अध्यक्ष छन्। श्रेष्ठले पाठकलाई अधिवेशनको ३ महिनापछि पुस २९ गते मात्रै हिसाबकिताब बुझाएका थिए।
हिसाबकिताब बुझबुझारथ नहुन्जेलसम्म पूरानो कार्य समितले ९९ लाख रुपैयाँ बढी हिसाब नभएको आरोप लगाउँदै आएका थिए। सञ्चारमाध्यममा सार्वजनिक भएपछि श्रेष्ठले बुझबुझारथ गराएका हुन्।
सहकारीले बचतकर्ताको २० लाख रुपैयाँ बढी फिर्ता गर्न बाँकी छ। गत पुसदेखि सहकारीको सटरमा ताल्चा लागेको छ। गएको असारदेखि प्रबन्धक नै थिएनन्।
कुखुरा पालक किसान र मासु व्यवसायीसँग सहकार्य गर्ने उदेश्यले खुलेको सहकारीले किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरूबाट हुर्केका कुखुरा खरिद गरेर फ्रेस हाउसमा मासु सप्लाइ गर्ने गर्दथ्यो।
तर बचतकर्ताको रकम उठाएर बिचल्ली पारेको सहकारीले उदेश्य अनुसार काम गर्न नसक्दा शेयर सदस्यलाई पनि निराश बनाएको छ।
२०७६ सालमा पुरानो एक सहकारीलाई स्वामित्वमा लिएर नाम फेर्दै साथी किसान कृषि सहकारी संस्थाको नामबाट सञ्चालनमा आएको सहकारीका सञ्चालक समितिको लापरवाहीले छोटो समयमै संकटमा फसेको देखिन्छ।