
बुटवल- गोरखा-जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली बिहीबार बुटवल आउँदै छ।
गत चैत २९ गते नेपालको राष्ट्रिय झण्डासँगै नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ४८ जना नेपाली सेनाको टोलीले गोरखाबाट बुटवलस्थित जितगढीको लागि पैदलयात्रा सुरू गरेको थियो।
तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखादेखि बुटवल आउँदा प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै निस्किएको उक्त टोली मंगलबार पाल्पा आइपुगेको थियो।
बुधबार पाल्पाको प्रभासमा बास बस्ने र बिहीबार रूपन्देही र पाल्पाको सीमा क्षेत्र नुवाकोट गढीमा आइ गोरखाबाट ल्याइएका झण्डा रूपन्देहीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बुटवलस्थित नेपाली सेनाको मध्यमश्चिम पृतनाका पृतनापति यमप्रसाद ढकालले जानकारी दिए।
रुपन्देहीको टोलीले बिहीबार जितगढी उत्सवको अवसरमा झण्डालाई जितगढी पुर्याएपछि गोरखा-जितगढी पदयात्रा सम्पन्न हुनेछ।
पदयात्राको टोलीलाई बुटवल उपमहानगरपालिका र नेपाली सेनाको मध्यमश्चिम पृतनाले स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको छ।
क्याप्टेन राजकुमार श्रेष्ठको नेतृत्वमा गोरखाको रिपुमर्दन गण, तनहुँको रुरु भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङ्जाको समरजित गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण यात्रामा सहभागी छन्।
उक्त टोलीले दैनिक ४० किलोमिटर पैदलयात्रा गर्दै आएको र जितगढीसम्म आइपुग्दा ३७० किलोमिटर पैदलयात्रा पूरा हुने पृतनापति ढकालले जानकारी दिए।
युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग नेपाली सेनाले वि.स.१८७१ देखि ७२ सम्म युद्ध लडेको थियो।
कर्णेल उजिर सिंहको नेतृत्वमा लडेको नेपाली सेनाको टोलीले वि.सं.१८७२ वैशाख ७ गते अंग्रेज सेनालाई पराजित गरी सदाको लागि नेपालबाट फिर्ता पठाएको थियो।
अंग्रेज सेनालाई पराजित गरेको वैशाख ७ गतेको सोही दिनलाई नेपाली सेना र बुटवल उपमहानगरपालिकाले जितगढी उत्सवको रूपमा मनाउँदैछन्।