गुरुङ पोशाकले घान्द्रुकको ‘रिब्रान्डिङ’

गुरुङ पोशाकले घान्द्रुकको ‘रिब्रान्डिङ’
+
-

पोखरा – गुजुमुज्ज परेको ढुंगेनी बस्ती। हरेक घरको झ्यालको पर्दा खोल्दा आँखामा ठोक्किन्छ, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृंखला। गुरुङ संस्कार सँस्कृति। पर्यटकलाई घान्द्रुकमा लोभ्याउने विशेषता यिनै हुन्।

चर्चित पदमार्ग अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार घान्द्रुक आफैंमा ग्रामिण पर्यटनको ब्रान्ड हो। सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेपछि घान्द्रुकले विदेशी पर्यटकलाई आतिथ्यता सत्कार टक्र्याउन थालेको हो।
विदेशी पर्यटक क्याम्पिङ गर्न उक्लने घान्द्रुक अचेल पर्यटनमा निर्भर छ। क्याम्पिङ गर्न पदयात्रा गर्ने विदेशी पर्यटक बढेपछि घान्द्रुकमा होटल, होमस्टे प्रशस्तै खुलेका छन्।

मोटरबाटोसँगै घान्द्रुकमा आधुनिकता उक्लिएको छ। बुङ्बुङ्ती धुलो उडाँउदै सवारी गुड्न थालेपछि आन्तरिक पर्यटक पनि बढिरहेका छन्।
ग्रामिण पर्यटनमा स्थापित ब्रान्ड घान्द्रुकलाई सामाजिक सञ्जालले ‘रिब्रान्डिङ’ गर्दैछ। गुरुङ समुदायको पोशाकमा सजिएर कैद गरेको तस्बिर/भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न लालायित आन्तरिक पर्यटकको संख्या घान्द्रुकमा बढिरहेका छन्। विशेषतः सामाजिक सञ्जाल प्रयोगकर्ता तन्नेरी पुस्तालाई गुरुङ पोशाकले तानेको हो।

घान्द्रुकका अधिकांश होटल र होमस्टेका आँगनमा शिरमा शिरबन्दी, घाँटीमा मुगामाला, चोली, घलेक र लुंगीको सट्टा लेहेंगामा सजिएका महिलाहरु भेटिन्छन्। शिरमा टोपी, गलामा गलबन्दी, भांग्रा, स्टकोट र कछाडमा ठाटिएका पुरुष तस्बिर र भिडियो कैद गर्दै रमाइरहेका हुन्छन्।

आधुनिक पोशाकमा सजिएर घान्द्रुक उक्लिएका प्रायः आन्तरिक पर्यटकको चाहना हुन्छ, गुरुङ पोशाक लगाउने। परम्परागत शैलीले बनेका घरको पिँढीमा मुस्कुराइरहेका फूललाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्न पाएपछि पर्यटक दंग पर्छन्।

काठमाडौँबाट घान्द्रुक घुम्न पुगेकी रजनी ताम्राकारको पनि रहर थियो, ‘गुरुङ पोशाकमा सज्जिने।’ उनले सामाजिक सञ्जालमा पोस्ट देखिकी थिइन् गुरुङ पोशाकमा सजिएको। त्यसैले उनको पनि रहरको मिटर चढेको थियो।

‘यो लुगा लाउनलाई एकदमै एक्साइटेड थिएँ। पहिल्यै युट्युब, टिकटकमा हेरेको थिएँ। यहाँ गुरुङ ड्रेस पाइन्छ भनेर। एकदम एक्साइटेड थिएँ, यहाँ आएर यो ड्रेस लाउने भनेर। लगाएपछि यसको महत्व पनि थाहा भयो’, उनले अनुभूति साटिन्।

गुरुङ पोशाकले नेपालीपन झल्काएकाले लगाउन रहर बढेको उनको भनाइ थियो। घान्द्रुक आउनलाई नै मुख्यतः गुरुङ पोशाकले नै लोभ्याएको रजनीले बताइन्। उनले २ घण्टा पर्खिएर गुरुङ पोशाकमा सज्जिने मौका पाएको सुनाइन्।

चितवनकी कल्पना अधिकारीले पनि ३ घण्टाको प्रतिक्षा गरेर पालो पाइन्। ‘लगाउनैपर्छ भनेर ३ घण्टा पर्खेर लगाएँ’, उनले भनिन्। आफ्नो समुदायको संस्कार सँस्कृति बचाउनपर्छ भन्ने महसुससमेत गराएको उनको भनाइ छ।

पहिला संग्रहालय र एकाध होमस्टेमा मात्रै पाहुनालाई गुरुङ पोशाक लगाउने व्यवस्था थियो। पाहुनाको माग बढेपछि अधिकांश होटल र होमस्टेमा यो सुविधा थपियो।

आधा घण्टा गुरुङ पोशाक लगाएको २०० रुपैयाँ तिर्नुपर्ने होटल वर्ल्ड भिलेज इनका सञ्चालक कृष्ण गुरुङले बताए। भाडा तिरेरै पनि गुरुङ पोशाक पहिरन पर्यटकले घण्टौं प्रतिक्षा गरिरहेका हुन्छन्। गुरुङ पोशाकले घान्द्रुकमा एकातिर आम्दानी बढेको छ त अर्कोतर्फ सामाजिक सञ्जालले पाहुना तानेको छ। दिनमै सय जनाले भाडामा गुरुङ पोशाक लगाउने उनले बताए।

उनका अनुसार गत असोजदेखि गुरुङ पोशाकमा सजिने पाहुनाको संख्या बढेको हो। ‘गुरुङ ड्रेस लाउनै भनेर घान्द्रुक आउँछन् कति पाहुना त’, उनले सुनाए, ‘युट्युब टिकटकले गर्दा यसको डिमान्ड बढी भो।’ पर्यटकको भिड बढ्दा पोशाकले नपुग्ने उनले बताए।

अन्त पोशाक लगाएर फोटो खिच्न आउने बढेपछि गुरुङ कटेजका सञ्चालक किसम गुरुङले पनि व्यवस्था गरिदिए। उनको आँगनमा हरेक दिन बिहान गुरुङ पोशकमा सजिने पाहुना खचाखच हुन्छन्।

स्थानीय आमा समूह दार्जलिङ भ्रमणबाट फर्केर आएपछि पाहुनालाई गुरुङ पोशाक लगाउने दिने अवधारणा ल्याएको किसमले जानकारी दिए।

त्यही अवधारणाले पाहुना तान्न सफल भएको गुरुङ बताउँछन्। ‘के देखियो भने एक जनाले पोशाक लगाएको त २०० रुपैयाँ नै हो। तर, कति जना त गुरुङ ड्रेस मात्रै लगाउने भनेर आको देखियो पोखराबाट’, उनी भन्छन्, ‘त्यसले गर्दा प्लस त भयो नि। हेर्दा २०० रुपैयाँ हो। घान्द्रुकमा आउने फ्लो चाहीँ बढ्यो।’

पर्यटकलाई घान्द्रुक डाक्न गुरुङ पोशाक नयाँ ब्रान्डको रुपमा थपिए पनि उतिसारो मौलिक देखिँदैन। परम्परागतभन्दा बुटिकमा डिजाइन गरिएका पोशाक पहिरन सहज भएपछि पर्यटकले त्यही रुचाइरहेका छन्। पर्यटकसँगै घान्द्रुकवासीले आधुनिकभन्दा मौलिक पोशाकलाई प्राथमिकता दिन आवश्यक छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?