
मोरङ – विराटनगरस्थित कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विभिन्न पाँच प्रकारको परीक्षण सुरु भएको छ।
विराटनगर–१० स्थित प्रयोगशालाको उद्घाटन गर्दै प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले विभिन्न रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गराएर स्वास्थ्य सेवाको सदुपयोग गर्न आग्रह गरेकी छन्।
प्रदेश सरकारले गुणस्तरीय सेवा दिने क्रममा प्रदेशवासीलाई विभिन्न पाँच प्रकारको परीक्षण गरिने बताएकी मन्त्री लिम्बूले प्रदेशवासीको स्वास्थ्य उपचारलाई लिएर सहजता प्रदान गर्दै आएको बताइन्।
नयाँ परीक्षण शुरु गरिएसँगै सर्वसाधारणलाई हेपाटाइटिस बी भाइरल लोड पीसीआर परीक्षण, हेपाटाइटिस सी भाइरल लोड सी, माइक्रो बायोलोजी कल्चरलगायत परीक्षण हुने भएको हो।
प्रयोगशालाका निमित्त निर्देशक प्रणवकुमार यादवले प्रयोगशालामा महिलाको पाठेघरको क्यान्सर एचपीभी भाइरसको डीएनए पीसीआर परीक्षण, एचएलएबी २७ पीसीआर परीक्षण र माइक्रावेवायोलोजी कल्चर सेवाको परीक्षण सुरु भएको जानकारी दिए।
यसअघि पनि प्रयोगशालामा विभिन्न रोगसम्बन्धी परीक्षण गर्दै आएको उनले बताए। उनका अनुसार प्रयोगशालाले ०७९ को चैत्र महिनासम्म ४ करोड रुपैयाँ बराबरको निःशुल्क परीक्षण गरेको छ।